जनकपुरधाम- सत्ताधारी संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का सचिवले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । प्रदेश सचिव शेषनारायण यादवले आफूले सञ्चालन गरेको गैरसरकारी संस्था 'प्रडाप्स' मार्फत गरिबी निवारण कोषको करोडौं हिनामिना गरेको आरोप लागेको हो।
यादव अध्यक्ष रहेको 'प्रडाप्स' नामक गैरसरकारी संस्थाले धनुषाको लक्ष्मिनिया गाउँपालिकाका लागि आएको कराडौं रकम भ्रष्टाचार गरेको त्यहाँका स्थानीय बासिन्दाले आरोप लगाएका हुन्।
उनीहरूले शनिबार पत्रकार सम्मेलन गर्दै लक्ष्मिनिया-३ अगिलेसबामा गरिबी निवारण कोषमार्फत आएको १३ करोडभन्दा बढी रकम 'प्रडाप्स' संस्थाले हिनामिना गरेको दाबी गरे।
कोषको रकम चलाउन वडामा महिलाहर"को फर्जी समूह गठन गरी 'प्रडाप्स' संस्थाले रकम हिनामिना गरेको पत्रकार सम्मेलनमा दिव्यशक्ति समूहकी अध्यक्ष ममतादेवी यादवले आरोप लगाइन्। कोषको कार्यक्रम सञ्चालन गर्न 'प्रडाप्स' संस्थाले गाउँपालिकामा १३ वटा समूह गठन गरी आफूहरूलाई थाहै नदिई भ्रष्टाचार गरेको उनको भनाइ छ।
ममताले भनिन्, 'संस्थामा आवद्ध व्यक्तिहरू गाउँमा आई समूह गठन गर्न महिलाहरूलाई विभिन्न वडामा जम्मा हुन भन्यो। तर, उनीहरूले हामीलाई जानकारी नै नदिई फर्जी हस्ताक्षर र औंठाछाप लगाएर १३ वटा समूह गठन गरे। प्रत्येक समूहका लागि एक करोड ५० लाख रुपैयाँको दरले आएको रकम हिनामिना भएको छ।'
त्यसैगरी दिव्यदृष्टि समूहकी अध्यक्ष सुजिता देवीले व्यवसाय गर्न समूहबाट लिएको ऋण चुक्ता गरी सके पनि ऋण चुक्ताको कुनै प्रमाण नदिई 'प्रडाप्स' संस्थामा आबद्ध मनोज यादवले आफूहरूसँग कपाली तमसुक बनाउन लगाएको आरोप लगाइन्।
यसका साथै समूहमा आबद्ध महिलाहरूलाई प्रतिव्यक्ति सय रुपैयाँका दरले जम्मा गर्न लगाएको रकमको समेत कुनै हरहिसाब संस्थाले नदिएको सुजिताको भनाइ छ। गरिबी निवारण कोषको कार्यक्रम गाउँमा सञ्चालन भएपछि आफूहरूले पछिल्लो पाँच वर्षदेखि जम्मा गर्दै आएको सम्पूर्ण रकम संस्थाले हिनामिना गरेको उनको आरोप छ।
समूह गठनसम्बन्धी फर्जी माइन्युट तयार पारिएको जानकारी पाएपछि आफूहरूले जबर्जस्ती खोसेको उनीहरूको भनाइ छ। 'प्रडाप्स' संस्थाका मनोज यादवले माइन्युट माग्दा दिन नमानेपछि उनले धाकधम्की दिने गरेको पीडित महिलाहरूको दाबी छ।
'प्रडाप्स' संस्थाले हरहिसाब दिन नमानेपछि त्यहाँका स्थानीय बासिन्दा जिल्ला प्रशासन, जिल्ला अदालत हुँदै अख्तियारसम्म पुगेका छन्। संस्थाले फर्जी गरी ठगी तथा भ्रष्टाचार गरेको भन्दै उनीहरूले प्रशासनिक निकायसम्म पुगेको सामुदायिक मेलमिलापकर्ता समूहका स्थानीय अध्यक्ष कामेश्वर यादवले बताए। पीडितहरूलाई न्याय दिलाउन पहल गरेपछि आफूलाई पनि विभिन्न खाले धाकधम्की आउने गरेको उनको भनाइ छ। फोरमका प्रदेश सचिव तथा संस्थाका अध्यक्ष शेषनारायण यादवले आफूलाई बदनाम गर्न विपक्षीले षडयन्त्र गरेको दाबी गरे। आफ्नो संस्थामार्फत गरिबी निवारण कोषको कार्यक्रम सञ्चालनमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गर्दै यादवले प्रमाणित गर्न चुनौती दिएका छन्।
कार्यक्रम सञ्चालनका लागि भएको खर्च विवरण लेखा परीक्षण गरी अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बर्दिवास कार्यालयमा समेत बुझाइसकेको उनको भनाइ छ। वर्षौंदेखि विकास हुन नसकेको क्षेत्रमा आफूहरूले विकासका काम थालेपछि विपक्षीहरूले षडयन्त्र शुरु गरेको यादवले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४