सप्तरी- सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गरेका छन्।
सोमबार पदभार ग्रहणपछि उहाँले पहिलो निर्णय गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई पाइन्ट, शर्ट, जुत्ता र टाईसहितको पोसाक निःशुल्क प्रदान गर्ने बताए।
'पहिलो चरणमा प्राथमिक तहमा, दोस्रो चरणमा निम्न माध्यममा र तेस्रो चरणमा माध्यमिक तहका विद्यार्थीलाई पोसाक निःशुल्क प्रदान गरिनेछ,' उनले भने। यसका लागि आगामी वर्षको शिक्षा क्षेत्रअन्तर्गत पोसाकको लागि बजेट छुट्याइनेछ ।
नगरभरिका गर्भवतीका लागि भिडिओ एक्सरे सेवा निःशुल्क र नगर बाहिरकालाई ५० प्रतिशत शुल्क लिई सेवा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जानकारी दिए।
उनका अनुसार भिडिओ एक्सरे मेसिन खरिद भइसकेको छ, सो सेवा सुरु गर्नका लागि केही समय लाग्ने बताए। नगरपालिकाअन्तर्गत कार्यालयमा सीसी क्यामेरा र विद्युतीय हाजिरी प्रणाली जडान गरी अनलाइन सुपरीवेक्षण र अनुगमनको व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय भएको जनाएको छ।