तस्बिर प्रधानमन्त्रीको सचिवालय
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीका माग सम्बोधन गर्न नयाँ प्रस्ताव राखेका छन् । प्रधानमन्त्रीले केसीका माग सम्बोधन गर्न एक समिति गठन गरी स्वास्थ्य क्षेत्रका वृहत समस्या समाधानका लागि सरकारले पहल गर्ने प्रस्ताव राखेका हुन् । केसी पक्षले प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा डा केसीले आफूसँगको सम्झौतामा आफ्ना माग १५ दिन भित्रमा पूरा गर्ने सहमति भएपनि सहमति कार्यान्वयनका लागि सरकारले प्रभावकारी कदम नचालेको आरोप लगाएका थिए ।
डा केसीको गुनासालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा लैजानुपर्ने विषय सहमति अनुसार नै लगेको र मन्त्रिपरिषद्मा आउनुपर्ने विषयमा शिक्षा मन्त्रालयसँग आवश्यक छलफल गरी अघि बढ्ने बताएको भेटमा सहभागी केसी पक्षका अधिवक्ता ओम प्रकाश अर्यालले नेपाल समयलाई जानकारी दिए ।
‘भेटमा सकारात्मक छलफल भयो । हामीले भएका सम्झौता कार्यान्वयन प्रक्रियामा अघि नबढेको विषय प्रधानमन्त्रीसँग राख्यौ,’ अर्यालले भने, ‘प्रधानमन्त्रीले पनि संसदमा लैजाने विधेयकको कुरा सहमति अनुसार ने लगेको तथा अन्य समस्याको समाधानका लागि पहल गर्ने र एउटा समिति गठन गरेर प्रक्रिया अघि बढाउने विषयमा पनि कुराकानी भएको छ ।’
केसीले देशका सबै जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा आफूलाई जानकारी भएको भन्दै सबै जिल्लाको स्वास्थ्य समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्ने बताएका थिए । जवाफमा प्रधानमन्त्रीले पनि प्रत्येक जिल्ला र स्थानीय तहको अवस्था आफूलाई पनि जानकारी भएकाले स्वास्थ्य सेवालाई सर्बसुलब बनाउन सरकार लागि परेको बताएका थिए ।
भेटमा डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्यालसहितको टोली सहभागी थियो भने बालुवाटरमा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार कुन्दन अर्याललगायतको सहभागिता थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४