जेठ १५ गतेको बिहान। मुस्ताङको थासाङ लेकलाई कुहिरोले छपक्कै छोपेको थियो। र, अग्ला पहाडका ढाडधुरीसँग लुकामारी गर्ने हुस्सुले थप चिसो थपेको थियो।
भुइँ कुहिरो र धौलागिरी हिमालको काखमा चल्ने सिरेटोलाई पर्वाह नगरी १५ गते बिहान नौ बजेतिर सानुसुरे क्षेत्रको ‘कथेँ खर्क’मा एउटा बडेमानको आवाज आयो– धड्याङ्ग।
डरलाग्दो आवाजको प्रतिध्वनिले सायद धौलागिरी हिमाल आसपासका चराहरू मात्रै उडेनन्। मुस्ताङको थासाङ वडा नम्बर २ को सानुसरे खर्क आसपासमा यार्सा खोज्न पुगेका मजस्तै अन्यको पनि सातो गएको थियो। ‘अघि यतैबाट एउटा जहाज गएको थियो’ खर्कमा एकजनाले भन्यो। ‘कतै जहाज त ठोकिएन’, अर्कोले शंका गर्यो।
कुहिरोलाई चिरेर आएको आवाजले मनलाई तरंगित बनाएपनि हामीले जहाजलाई सम्झिनरहन सकेनौं। कुहिरोले चारैतिरको पहाड छोपेको थियो त्यसैले हामी सबैले सुनेको आवाजलाई विर्सिंदै यार्सा खोज्न लाग्यौं। चिसो भुइँलाई कोट्याउँदै यार्सा संकलन गदागर्दै दिउँसो भयो।
अपरान्ह थासाङ गाउपालिकामा पर्ने खन्ती (कोबाङ) गाउँबाट मेरो मोबाइलमा फोन आयो। कल रिसिभ गरें, ‘तारा एयरको जहाज हराएको हल्ला छ। तिमीहरू बसेको खर्क आसपास गएको खबर छ। थाहा पाए खबर पाउँ है।’
बिहान पहाडबाट ‘घुम्म’ आएको आवाज र जहाजलाई बिर्सिएर यार्सा खोजिरहेको मन आत्तियो। यार्साको चहलपहल सेलाएर जहाजको चर्चा हुन थाल्यो। आसपासका पहाडमा खोज्यौं तर पहाडलाई दिनभरि कुहिरोले छोपिदिनाले भेउ पाउनै गाह्रो भो। र पनि, साँझसम्म हामीले जहाजलाई खोज्ने कोसिस गर्यौं। तर भेटेनौं।
कुहिरोलाई छेक्न टाँगेको टेन्टमुनी रातभरि यस्तै–यस्तै शंका माथि कुराकानी चल्यो।
सोमबार बिहान ५ बजे। तातो चियाको चुस्की लिएर श्यामलाल नेपाली, सञ्जय रजाइली र म सहित तीनजनाको समूहमा हराएको जहाज खोज्न ‘कथेँ खर्क’बाट निस्कियौं।
कुहिरोलाई चिरेर आएको आवाजले मनलाई तरंगित बनाएपनि हामीले जहाजलाई सम्झिनरहन सकेनौं। कुहिरोले चारैतिरको पहाड छोपेको थियो त्यसैले हामी सबैले सुनेको आवाजलाई विर्सिंदै यार्सा खोज्न लाग्यौं।
धौलागिरी हिमालको जरामा पर्ने ढाडधुरीको खोँचलाई छिचोल्न साह्रो गाह्रो हुन्छ। अझ बिहानैदेखि सिमसिम पानी परेकोले गोरटो पनि साह्रै चिप्लो थियो। लौरीको सहरामा स–साना बुट्यानलाई पन्छ्याउँदै जहाज खोज्ने क्रम जारी राख्यौं।
लगभग एक घण्टा हिँडेपछि हामी बसेको खर्कको पारीपट्टीको डाँडा पुग्यौं। श्यामलाल र सञ्जयले डाँडाको माथि हेर्न उक्लिए। मैले डाँडाको तल्लो खोँचतिर हेर्न थालें।
अचानक नाकमा ह्वास्सै डिजेल गनायो। डिजेल गनाएको दिशातिर मेरो ध्यान तानियो। मनमा जहाज यतै ठोकिनुपर्छ भन्ने लाग्यो। एक्लै अगाडि बढ्न नसकेर हतपत साथीहरूतिर कुदे। केही मिटर टाढा रहेका साथीहरूलाई सिठी लगाएँ। मेरो सिठीको आवाज सुनेर केटाहरू रोकिए। दुवैलाई बोलाएँ। अनि तीनैजना मिलेर डिजेल गनाएको दिशातिर गयौं।
केही मिटर हिँडेपछि सेता प्लाष्टिकका गत्ताजस्ता लाग्ने टुक्राहरू छरिएको देखें। झसंग भएँ। दुवैजना साथीहरू आत्तिएर मेरो छेउमा आए। एक्कासी हामी तिनैजनाको नजरमा लास पर्यो। हेर्नै गाह्रो हुने त्यो दृष्य देखेर मन झस्कियो। लासहरू छरिएको थियो। र नग्न, अर्धनग्न अवस्थामा छरिएका लासहरू देखेर हामी तिनैजना अलमलियौं। नजिक जानै सकेनौं।
कोही जिवित छन् कि भनेर आवाज लगायौं। तर, पहाडमा ठोकिएर हाम्रै आवाज आयो। बाँकी कसैको आवाज आएन। कसैको सास चलेको छ कि भनेर आफ्नै सासलाई रोकेर लासलाई ध्यानले हेर्यौं। तर, जहाजका टुक्राटुक्रीझैं मानिसका टुक्राटुक्री शान्त थियो। आँखामा परेको आधा दर्जन लासले हामीलाई निक्कै भावुक बनायो।

हतपत खन्ती गाउँमा बिहान फोन गर्ने मेरा भिनाजु यमप्रसाद बुढाथोकीलाई फोन गरें। उनलाई सबै बेलिबिस्तार लगाएर फोन राखें। केही छिनमा सानुसुरे गाउँपालिकाको प्रहरी कार्यालयबाट असई र सईको फोन क्रमशः आयो। मैले घटनाको बारेमा सबै बताइदिएँ। उहाँहरूले फोटो र भिडियो खिचेर पठाइदिन अनुरोध गरे। मैले केही थान फोटो र भिडियो मोबाइलबाटै खिँचेर भाइबरमा पठाइदिएँ।
सोमबार बिहान आठ बजे। सानुसुरे खर्कमा फैलिएको हुस्सु र बादल बिस्तारै फाट्दै थियो। यस्तैमा चिसो स्याँठसहित हेलिकप्टरको आवाज प्रतिध्वनित भयो। हाम्रो मन अलिकति समालियो। घटना स्थलभन्दा केही माथिको फराकिलो डाँडामा हेलिकप्टर रोकिएसँगै एकजना इन्स्पेक्टर, शसस्त्र प्रहरीका प्रमुख र एकजना स्थानीय गाउँले देखिए। उनहरूले टाढैबाट घटनालाई नियाले।
हामी बसेको खर्कको छेउछाउ अथवा हाम्रै टेन्टमाथि खसेको भए हाम्रो हालत पनि यस्तै हुन्थ्यो भन्दै साथीहरूले मरणको दृष्य कल्पिए। लास उठाउँदा उठाउँदै एक प्रहरी प्रमुखबाट थाहा पाएँ– आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन भएको रहेछ।
सोमबार बिहान आठ बजे। सानुसुरे खर्कमा फैलिएको हुस्सु र बादल बिस्तारै फाट्दै थियो। यस्तैमा चिसो स्याँठसहित हेलिकप्टरको आवाज प्रतिध्वनित भयो।
उद्धारका लागि पुगेका अर्का शसस्त्र प्रहरी प्रमुखबाट थाहा पाएँ– तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिमपटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्क भएको रहेछ।
लास उठाउँदा उठाउँदै थाहा पाएँ– जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका रहेछन्। जहाजमा चालक दलका दुईजना अन्य सदस्य र १९ यात्रु रहेछन्। जहाजमा २ जना जर्मन, ४ जना भारतीय र १३ नेपाली यात्रु रहेछन्।
कहिल्यै नदेखेको घटनाको पहिलो साक्षी हुन साह्रै गाह्रो हुँदोरहेछ। पहिला त पत्याउँनै सकिदोरहेनछ। तर पनि सत्य आँखा अगाडि नै थियो। मान्छेको गुण मान्छेलाई दुःख पर्दा अनायसै देखिँदोरहेछ। अझ मृत क्याप्टनलाई देखेर साह्रै मन भिजेको थियो।
सबैलाई सकुशल गन्तव्यमा पुर्याउने सोचले उडाइरहेको जहाज एक्कासी कुनै अन्जान पहाडको खोँचमा सकिनुको पीडा कल्पिँदा पनि मुटु काँपेको थियो। ती क्याप्टेन र त्यो जहाजलाई विश्वास गरेर चढेका यात्रुहरूको लास देखेर धेरै प्रश्नहरु आए गए। तर, मन बुझाउन सकिएन।
साँझसम्म यी सबै लास काठमाडौं पुर्याइन्छ भनेको सुनेर मन अमिलो भयो। सोचें मृतकका परिवारको पिडा। यो घटना सुनेपछि यी लासलाई पर्खिने आफन्तहरू कति रोए होलान्। अझ लास देखेर कति भक्कानिने होलान्।
यात्रा सबै सहज हुँदोरहेनछ। हाम्रो यात्रा पनि यार्सा संकलनको लागि बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ बाट बैशाख ११ गतेतिर आएका थियौं। सोचेजस्तो यार्सा त भेटिएन। तर, नसोचेका पात्रहरू भेटिए, जसलाई हामीले चिन्ने र चिनाउने अवसर पाएनौं। मानवीय नाताले होला, अपरिचित भए पनि हामी यार्सा खोज्ने सबैका आँखा गिला थिए।
(आइतबार दुर्घटनाग्रस्त जहाज फेला पारेका विशाल घर्ती मगरसँग नेपाल समयका लागि राज सरगमले गरेको कुराकानीमा आधारित)