आइतबार बिहान साढे १० बजेतिर हुनुपर्छ, सोसल मिडियामा खबर देखेँ, ‘पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन।’ मन त्यसै पनि आत्तिने नै भयो। केही बेरपछि विमानमा सवार यात्रुहरुको लिस्ट नै बाहिर आयो। हेर्दै जाँदा नाम देखेँ, वसन्त लामा।
कतै हाम्रै पाइलट दाइ त होइन! कतै दाइले उडाएको प्लेन नै हराएको त होइन! मनमा अनेक प्रश्नहरु खेल्न थाले। ‘भेरिफाइ’ गर्दै जाँदा हो रहेछ। तर, उनी पाइलटका रुपमा होइन, यात्रुका रुपमा त्यहाँ चढेका रहेछन्।
आइतबार बिहानै तीन–चारवटा फ्लाइट गरेपछि उहाँले जहाज हस्तान्तरण गर्नुभएछ। त्यसपछि एक हप्ताका लागि विदा मनाउन लोमान्थाङ हिँड्नुभएको रहेछ। मेरो एकजना अर्को भाइलाई पनि ‘जाऊ, टिकट काट्छु’ भन्नुभएको रहेछ। तर घरायसी केही कारणले ऊ गएनछ।
वसन्त दाइको खबर सुनेपछि मन भक्कानिएको छ। झल्झली उहाँसँगका पलहरु सम्झनामा आइरहेका छन्। दाइ भए पनि मेरो त साथीजस्तै हुनुहुन्थ्यो। बूढानीलकण्ठमा उहाँ र मेरो घर पनि नजिकै छ। त्यसैले उहाँ काठमाडौं हुँदा हामी धेरैजसो सँगै बस्ने, खाने, डुल्ने गर्थ्यौं। वर्कआउट सँगै गर्थ्यौं। ह्याङआउट सँगै गर्थ्यौं। हाइकिङ सँगै जान्थ्यौं। एकदमै ‘कुल एन्ड अमेजिङ पर्सन’ हुनुहुन्थ्यो उहाँ। काठमाडौं भएका बेला सधँै बिहानबिहान हामी ‘जगिङ’ गर्थ्यौं। धेरै पटक हामीले लेट नाइटसम्म ह्याङआउट गरेका छौं। आँखामा राख्दा पनि नबिझाउने ‘माइ डियर मान्छे’ थियो। अहिले सम्झन्छु, यस्तै मान्छेहरु किन होला अकालमै यसरी हामीसँग टाढिन्छन्!
दुःखको कुरा, घरमा यहाँ उहाँको वृद्ध आमामात्रै हुनुहुन्छ। श्रीमती र बच्चा लन्डनमै छन्। ३–४ महिना पहिलेमात्रै भेट्न गएको मलाई याद छ।
तीन दिन अघिमात्रै हात्तीगौंडामा हाम्रो भेट भएको थियो। हामीले सँगै कफी पिएका थियौं। सधैँझै रमाइलो गफ गरेका थियौं।
आइतबार बिहानै तीन–चारवटा फ्लाइट गरेपछि उहाँले जहाज हस्तान्तरण गर्नुभएछ। त्यसपछि एक हप्ताका लागि विदा मनाउन लोमान्थाङ हिँड्नुभएको रहेछ। मेरो एकजना अर्को भाइलाई पनि ‘जाऊ, टिकट काट्छु’ भन्नुभएको रहेछ। तर घरायसी केही कारणले ऊ गएनछ।
वसन्त दाइको बढीजसो फ्लाइट नेपालगन्ज साइडतिर हुन्थ्यो। तर, उहाँले उडाएको प्लेनमा म अहिलेसम्म चढेको थिइनँ। एकपटक रारा जाने प्लान पनि भएको थियो। तर, अन्तिम समयमा आएर क्यान्सिल भयो। त्यसपछि अस्तिमात्रैको भेटमा पनि ‘रारा जानुपर्छ है’ भन्नुहुन्थ्यो। म पनि जाने पक्षमै थिएँ। मौसम राम्रो भएपछि जाने सल्लाह भएको थियो। तर उहाँको उडानमा रारा पुग्ने त्यो योजना अब अधुरै रहने भयो।
म प्रायः भेटमा जहिले उहाँलाई भनिरहन्थेँ, ‘दाइ, तपाईंहरुलाई रिस्क हुन्न यस्तो माउन्टेन फ्लाइट गर्न?’ तर उहाँ सहजै हाँसेर जवाफ दिनुहुन्थ्यो, ‘हुन्न’। उहाँ सिनियर र अनुभवी पाइलट हुनुहुन्थ्यो। त्यसैले केही नहोला भन्ने नै लाग्थ्यो।
०७४ साल मंसिरतिर हुनुपर्छ, त्यतिबेला पनि उहाँले उडाएको विमान दुर्घटना भएको थियो। हुम्लाको सिमकोटबाट सुर्खेत उडेको ट्विनअटर जहाज दुर्घटना हुँदा त्यतिबेला उहाँको चोट लागेको थियो। उहाँसँगै सहपाइलट पनि त्यतिबेला घाइते भएका थिए।
त्यतिबेला पनि मैले उहाँलाई सोधेको थिएँ, ‘के भयो यस्तो, किन यस्तो रिस्क लिनुहुन्छ?’ उहाँले ‘यो माइनर कुरा हो’ भन्दै मेरो जिज्ञासा टारिदिनुभएको थियो। मैले पनि ‘थ्याङ्क गड, केही भएन’ भनेर चित्त बुझाएको थिएँ।
उहाँ बाहिर हुँदा पनि हामी इन्स्टाग्राममार्फत गफ गरिरहन्थ्यौं। पछि पछि त उहाँले ‘म अब चाँडै रिटायरमेन्ट लिन्छु, प्लेन उडाउँदिन पनि’ भन्नुहुन्थ्यो। घरको एउटै छोरा हुनुहुन्थ्यो। सम्पत्ति पुग्दो थियो। माउन्टेन फ्लाइट गर्ने पाइलट, ‘एडभेन्चर’ त रुचाउनु स्वभाविक नै हो। कार पनि भर्खरै नयाँ बिएमडब्लु किनेको मलाई याद छ। बाइक पनि डुकाटी चढ्नुहुन्थ्यो। मान्छे साह्रै सौखिन र ‘स्टाइलिइस’ पनि हुनुहन्थ्यो।
मैले अघि पनि भनेँ नि, ‘आँखामा राखेपनि नबिझाउने हुनुहुन्थ्यो। तर, जीवन एउटा कर्कलाको पातमा रहेको पानीजस्तै त रहेछ, जतिखेर पनि ढल्न सक्ने! वसन्त दाइ, आइ विल अल्वेज मिस यू। हामीले सँगै साटेका खुशीहरु, रमाएका पलहरु म चाहेर पनि कसरी बिर्सन सक्छु। सक्दै सक्दिनँ।
(नेपाल समयकर्मी अनिल यादवसँगको कुराकानीमा आधारित)