काठमाडौं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिएका हुन्। सोमबार संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा दुर्घनाग्रस्त जहाजका बारेमा सांसदहरुलाई जानकारी दिँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गर्दा भित्तामा ठोक्किएको प्रारम्भिक अध्ययनले देखाएको बताए।
घटनाको बारेमा जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाए। घटनास्थल जोमसोम विमानस्थलबाट ८ नर्टिकल माइल दूरीमा पर्छ।
उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो। विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ।
पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो। पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो।
–रासस