पर्सा- मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। आइतबार प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-८ स्थित एक रेष्टुरेन्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगञ्ज महानगरपालिका-१६ फूलबारी टोल डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका-१६ स्थित कार्की होटेलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन्।
प्रहरीका अनुसार सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज लगेका थिए। वीरगञ्जको बसपार्कस्थित एक होटेलमा लगी ती युवतीलाई उनले पटक-पटक करणी गरेका थिए।
त्यसपछि जेठ ९ गते वीरगन्ज महानगरपालिका-१६ स्थित कार्की होटेलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाई उनी फरार भएका थिए। जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएकी थिइन्। त्यसपछि योगीले पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ। उनीहरूमाथि प्रहरीले जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान थालेको छ।