काठमाडौं– आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमान आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हिजो बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेला परेको हो।
विमानमा सवार कोही पनि जिवित भेटिएका छैनन्। नाइन एन एईटी कलसाइन रहेको जहाजमा तीन जना चालक दलका सदस्य र १९ यात्रु थिए। अहिलेसम्म १४ जनाको मात्र शव भेटिएको उद्धारकर्ताहरुले जनाएका छन्। विमानमा १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक थिए।
विमान दुर्घटना भएसँगै नेपाली आकाश कति असुरक्षित छ भन्ने बहस सुरु हुन्छ। हुन पनि नेपालको नागरिक उड्डयन क्षेत्रमा दुर्घना भइ नै रहन्छन्। सन् १९४९ मा पहिलो पटक जहाज अवतरण भएयता नेपालमा दर्जनौं ठूला दुर्घटना भइसकेका छन्।
कमजोर पूर्वाधार, प्रतिकूल मौसम, उडान सम्बन्धी अत्याधुनिक प्रविधिको अभाव, मानवीय त्रुटि लगायतका कारण हवाई दुर्घटना हुने गरेको जानकारहरु बताउँछन्। कतिपय दुर्घटनामा क्षमताभन्दा बढी यात्रु पनि कारक हुने गरेको छ।
विगत एक दशकको आँकडा हेर्दा घातक विमान दुर्घटनामध्ये धेरैजसो मानवीय त्रुटिका कारण भएको पाइन्छ। दुर्घटनापछि सरकारले गठन गर्ने छानबिन समितिका प्रतिवेदनले यस्तो तथ्य औंल्याएका हुन्। मानवीय त्रुटिलाई कम गर्न कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनमा प्रतिवेदनहरुले जोड दिँदै आएका छन्।
विमान दुर्घटना भएसँगै नेपाली आकाश कति असुरक्षित छ भन्ने बहस सुरु हुन्छ। हुन पनि नेपालको नागरिक उड्डयन क्षेत्रमा दुर्घना भइ नै रहन्छन्। सन् १९४९ मा पहिलो पटक जहाज अवतरण भएयता नेपालमा दर्जनौं ठूला दुर्घटना भइसकेका छन्।
धेरैजसो दुर्घटना जहाज नियन्त्रणमा हुँदाहुँदै पनि डाँडामा ठोक्किएर भएको देखिएको छ। यस्ता प्रकृतिका दुर्घटना एक तिहाइ छन्। अर्को मुख्य कारणका रूपमा विमान चालकले उडानका बखत सामना गर्ने प्राविधिक वा अन्य परिस्थितिजन्य अवस्थाले जहाजलाई नियन्त्रणमा राख्न नसक्नु भएको प्रतिवेदनहरुले देखाएका छन्।
बढ्दो दुर्घटनाकै कारण सन् २०१३ यता युरोपेली संघ (ईयू)ले नेपाललाई हवाई प्रतिबन्ध सूचीमा राखेको छ। त्यसअघिका वर्षमा नेपालमा धेरै दुर्घटना भइरहनु प्रतिबन्ध लाग्नुको एउटा मुख्य कारण हो।
पहाडी क्षेत्रमा मौसममा छिटोछिटो परिवर्तन देखिने भएकाले त्यहाँ तत्काल त्यसको जानकारी पाउने सूचना प्रणालीको आवश्यकता छानबिन प्रतिवेदनहरुले औंल्याउने गरेका छन्। गएको दशकमा भएका हेलिकप्टर बाहेकका १९ वटा विमान दुर्घटनामा १६ वटा छोटो धावनमार्ग हुने पहाडी विमानस्थलतर्फका हवाई मार्गमा भएको देखिन्छ।
यस्तो देखिएपछि त्यस्ता विमानस्थलमा मात्र नभएर आसपासका क्षेत्रमा जडित मौसम निगरानी क्यामेरामा विमान कम्पनीहरूलाई समेत पहुँच दिन थालिएकोनागरिक उड्डयन प्राधिकरणले बताएको छ। कैयौं पहाडी विमानस्थलतर्फ उड्ने क्रममा निश्चित बिन्दू पार गरेपछि फर्कने सुविधा नहुने भएकाले स्थानीय मौसमको तत्काल दिने काम जानकारी जीवनदायी हुने जानकारहरूको भनाइ छ।