काठमाडौं- तारा एयरको ट्विनअटर विमान दुर्घटनास्थलमा पुगेको नेपाली सेना र स्थानीयको टोलीले उद्धार कार्य सुरु गरेको छ। दुर्घटनामा परी मृत्यु भएकाहरूको उद्धारका लागि तनी जना नेपाली सेना र चार जना स्थानीयको टोलीले उद्धार कार्य सुरु गरेको हो।
फिस्टेलको हेलिकोप्टरले दुई पटकमा सात जनालाई मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित १४ हजार ५ सय फिट उचाइको घटनास्थलमा उनीहरूलाई उतारेपछि उद्धार तथा शव संकलन थालिएको छ। उद्धारमा जुटेकाले घाइतेहरूको खोजी गरे पनि कसैलाई नभेटिएको बताएका छन्।
विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
पोखराबाट जोमसोमका लागि उडेको २२ जना सवार जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो। उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार भेटिएको हो।
स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटाएपछि नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेको थियो। अहिले शवको पहिचान, सामान सङ्कलनको काम भइरहेको छ।
दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-११ का एकै परिवारका ७ जना परेका छन्। ४२ वर्षीय राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए। उनी मुक्तिनाथ दर्शनका लागि विमानमार्फत् पोखराबाट जोमसोम जाँदै थिए।
विमानमा गोरखाका अर्को एक परिवारका चार जना सवार रहेको पाइएको छ। गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ५ तीनमानेका एकै परिवारका चार जना भएको वडाध्यक्ष यमबहादुर रानामगरले जानकारी दिए।
‘विमान दुर्घटना भएको समाचार आएको छ। विमानमा रहेकामध्ये ४ जना यसै गाउँपालिकाका एकै परिवारका सदस्य हुन्,' वडाध्यक्ष रानामगरले नेपाल समयसँग भने, 'शनिबार मात्रै उनीहरू मुस्ताङ जाने भनेर पोखरा गएका रहेछन्।’
वडाध्यक्ष रानामगरका अनुसार बुबा गणेशनारायण श्रेष्ठ, आमा रश्मि श्रेष्ठका साथै दुई छोरी रोजिना र रविना बेपत्ता विमानमा सवार थिए। उनीहरूले पोखरा हुँदै मुस्ताङ जाने खबर आफन्तलाई जानकारी गराएका थिए। ‘५ जनाको परिवार थियो। दुई छोरीहरु रविना र रोजिना वैशाख ३० गते मात्रै अमेरिकाबाट आएका थिए,' रानामगरले भने, 'अर्का छोरा पनि अमेरिकामा नै छन्।'
भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा आफू वडाध्यक्षमा निर्वाचित भएपछि गणेशले फोन गरेर बधाई दिएको समेत रानामगरले स्मरण गरे। 'छोरीहरुलाई घुमाउन लैजानु छ भनेर उनी हिजो मात्रै पोखरा गएका थिए,' रानामगरले भने। जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए।
दुर्घटनामा परेको विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरू
चालक दल
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिस्टी थापा
यात्रुहरु
१. बान्देकर वैसवी
२. ईन्द्रबहादुर गोले
३. पुरुषोत्तम गोले
४. राजनकुमार गोले
५. मेइक ग्रीटग्राफ
६. वसन्त लामा
७. गणेश नारायण श्रेष्ठ
८. रवीना श्रेष्ठ
९. रश्मी श्रेष्ठ
१०. रोजिना श्रेष्ठ
११. प्रकाश सुनुवार
१२. मकरबहादुर तामाङ
१३. राममाया तामाङ
१४. सुकुमाया तामाङ
१५. तुलसादेवी तामाङ
१६. अशोककुमार त्रिपाठी
१७. धनुश त्रिपाठी
१८. ऋतिका त्रिपाठी
१९. वी विलनर