काठमाडौं– आज (आइतबार) बिहानदेखि हराइरहेको तारा एयरको ट्वीनअटर विमान साँझसम्म पनि भेटिएको छैन। पोखराबाट जोमसोमका लागि उडेको विमान गन्तव्यमा नपुग्दै सम्पर्कविहीन भएको हो।
आठ घण्टासम्म हवाई र स्थलमार्गबाट लगातार खोजी गर्दा पनि जहाज भेटिएको छैन। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दुर्घटनाको आशंका गरिएको क्षेत्रका स्थानीयले जहाज खोजिरहेका छन्।
आज उज्यालो हुन्जेल खोजिने र त्यसपछि पनि नभेटिए भोलि बिहानदेखि पुनः खोजी कार्य सुरु गरिने उनले जानकारी दिए। सम्पर्कविहीन जहाज खोज्न दिउँसोदेखि फिस्टेल एयर र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ भने करिब एक सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रजिअ शर्माका अनुसार धौलागिरी हिमालको रेन्जमा खोजी कार्यलाई केन्द्रित गरिएको छ।
हराइरहेको जहाज खोजीका लागि नेपाली सेनाले हवाई र स्थलमार्गबाट टोली खटाएको छ। साँझ ६ बजेसम्म जहाजको लोकेसन पत्ता नलागेको सेनाले जनाएको छ। यसअघि मानापाथी हिमालको फेदमा जहाज रहेको भन्ने स्थानीयले जानकारी दिएपछि सेनाको टोली त्यतातिर लाागेको थियो। सैनिक टोली अहिलेसम्म त्यहाँ पुगेको छैन।
यसैबीच, काठमाडौंस्थित भारतीय दूतावासले जहाजमा आफ्ना चार नागरिक रहेको भन्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको बताएको छ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो। ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो। जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किष्मी थापा थिइन्। जहाजमा १९ जना यात्रु थिए। जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले हिमपात भएपछि विमान खोजी कार्य स्थगित भएको बताएका छन्। ‘सम्भावित क्षेत्रमा हिउँ परिरहेको छ, प्रतिकूल मौसमका कारण खोजी कार्यमा परिचालन गरिएको हेलिकप्टर जोमसोम र पोखरामा फिर्ता बोलाइएको छ। अब आज खोजी कार्यलाई निरन्तरता राख्न सम्भव नभएपछि भोलि बिहानैदेखि खोजी कार्य अगाडि बढाइनेछ।’