सिन्जियाङ- नीला-पहेँला कारागरका ‘ड्रेस’मा ‘सजिन बाध्य’ १० कैदी ‘बेसमेन्ट’को एक ‘सेल’मा छन्। उनीहरूका आँखा भित्तामा रहेको टेलिभिजनमा छन्, जसमा सिन्जियाङकै स्थानीय सरकारी अधिकारीको भाषण प्रसारण भइरहेको छ।
अगाडिपट्टी नीलो पहिरनका प्रहरी ‘गार्ड’हरू। उनीहरूमध्ये एक जनाको हातमा ‘बेसबल ब्याट’ जत्रै छडी छ। केही अधिकारी ‘डिटेन्सन सेन्टर’ (हिरासत केन्द्र)का उज्याला बरण्डामा डुलिरहन्छन्, फलामे बारहरूभित्र चिहाउन खोज्दै, चिडीयाखानाका आगन्तुकहरूजस्तै। फरक, यस फलामे बारभित्रका बासिन्दाहरूलाई देखिँदैन।
तेस्रो तस्बिर- कुनै सोधपुछ कक्षको हो। चिनियाँ प्रहरीले ‘बाघी कुर्सी’ भन्ने कुर्सीमा एक युवकका हात-खुट्टा बाँधेका छन्। उनको अगाडि कम्युटर, माइक्रोफोन र क्यामेरा भएको डेस्कमा प्रहरी अधिकारी छन्। भित्तामा हँसिया-हथौडा अंकित झण्डा छ। छेउमै छन्- हेल्मेटसहित तैनाथ सैनिक।
यी हुन् सिन्जियाङ प्रहरीका दस्ताबेजबाट ‘लिक’ भएका हजारौं तस्बिर तथा कागजातमध्ये केही। यी सिन्जियाङका दुई साना क्षेत्र कोनासहर र तेकेसबाट बाहिरिएका तस्बिर हुन्। जहाँ मुसलमानहरूको बसोबास छ, अनि जसका अल्पसंख्यक बासिन्दाहरूलाई राज्यले दमनकारी शिविरमा जबरजस्ती राखेको छ।
बाहिरिएका सामग्रीमा तीनै शिविरमा खिचिएका अनधिकृत रूपमा प्राप्त तस्बिर छन्। तस्बिरहरूबाट प्रस्टै थाहा हुन्छ- शिविरमा सैनिक परिचालन अनि शिविरको मूल उद्देश्य।
तीनै तस्बिर तथा कागजातका साथै २ हजार ८०० बढी बन्दीका ‘मगसट’ पनि प्राप्त भएका छन्। मगसट भनेको विभिन्न कोणहरूबाट विशेषतः प्रहरीले खिच्ने तस्बिर हो। ती मगसटमा पुरुष, महिला, किशोर-किशोरी सबै छन्। उनीहरूलाई के भइरहेको छ भन्ने कुराको सायदै ज्ञान होला।
अनिछन् सिन्जियाङ बासिन्दाका सम्पूर्ण व्यक्तिगत विवरण पनि। यी कागजात बाहेक बाहिरिएका दस्तावेजमा सिन्जियाङका अल्पसंख्यकलाई ‘दण्ड’ दिने चिनियाँ उच्चाधिकारीका अभिव्यक्ति पनि सम्मिलित छन्।
'कन्फिडेन्सियल' लेखिएका अरु पनि कागजात छन्। यस्तै फोटोग्राफ र डकुमेन्टहरुले चिनियाँ सरकारको 'शैक्षिक शिविर' मात्र हो भन्ने दाबीलाई छर्लङ्गै खण्डन गर्छन्। सन् २०१७-०१८ ताकाका ती बाहिरिएका दस्ताबेजले चीनको नजरबन्दबारे नीति कार्यान्वयनलाई जनतासमक्ष ल्याएको छ।
सिन्जियाङ प्रहरीका कन्फिडेन्सियल फाइल १४ समाचार एजेन्सीलाई एड्रियन जेन्जले बाँडेका थिए।
वासिङटनस्थित थिंक-ट्यांक 'भिक्टिम्स अफ कम्युनिजम मेमोरियल फाउन्डेसन’का वरिष्ठ जेन्जले सार्वजनिक स्तरमा प्राप्त जानकारी र लिक भएका जानकारी दाँज्ने काम गर्छन्। अनि तथ्य र मिथ्यालाई ध्यानपूर्वक छुट्याउँछन्।
काशगार प्रान्तका लगभग २३ हजार (त्यहाँका वयस्कको १२ प्रतिशत) मानिस कुनै न कुनै प्रकारका बन्दी बनाइएका छन् भनेर उनैले पत्ता लगाएका थिए। यो ‘जर्नल अफ् द युरोपियन एसोसिएन फर चाइनिज स्टडिज’मा प्रकाशित भएको थियो।
'प्राप्त तस्बिर साँच्चै उल्लेखनीय छन्,' जेन्जले भने, 'यी सामाग्रीले चिनी सरकारका मिथ्या दाबालाई गलत सावित गर्न ठूलो भूमिका निभाउन सक्छन्।'
लामो समयदेखि रोकिएको संयुक्त राष्ट्रसंघका मानव अधिकारका लागि उच्च अधिकारी मिसेल ब्यासेलेको सिन्जियाङ भ्रमणका माझ यी गोप्य दस्तावेज बाहिरिएका हुन्।

लिक भएका कागजातमा सिन्जियाङका क्याम्पहरू राष्ट्रपति सिजिन पिङका अन्तर्गत सन् २०१७ मा सुरु भएको बताइएको छ।
सरकारद्वारा ‘शैक्षिक तथा सिप विकासस' शिविर बताइए पनि यसरी सार्वजनिक भएका सामग्री तथा विभिन्न अध्ययनले भने निष्कर्षलाई अन्तै मोडेको छ।
संयुक्त राष्ट्रसंघ तथा अमेरिकाका अधिकारीका अनुसार १० लाखभन्दा बढी उइगर तथा अन्य टर्किश अल्पसंख्यकलाई २०१८ ताका बन्दी बनाइएको थियो। तर, २०१७ देखियता कति जनालाई बन्दी बनाइएको छ भन्ने यकिन हुन सकेको छैन।
चिनियाँ सरकारले भने यस्ता मानव अधिकार उल्लंघन भएका आरोपलाई 'मनगढन्ते झुट तथा गलत सूचना' भन्दै आएको छ। सरकारका अनुसार यी शिविर पूर्णरुपमा सिप विकासका लागि हुन्। उइगर समुदायका सदस्यका अनुसार ‘आतंकवादी’ कदम भनिएको यस्तो कार्यक्रमलाई चिनियाँ सरकारले भने- ‘गरिबी निवारण’को योजना बताएको छ।
वासिङ्टन डिसीमा रहेको चिनियाँ राजदूतावासका प्रवक्ता लिउ पेङ्यूले पनि सरकारले आरोप लगाइएजस्ता कार्य नगरेको बताएका छन्। 'त्यस क्षेत्रमा स्थिरता र शान्ति छ। जनताले आर्थिक विकास तथा सम्वृद्धि पाएका छन्। स्थानीयहरू सुखी, खुसी तथा सुरक्षित जीवन जिइरहेका छन्।'
'यी तथ्यले सिन्जियाङको नीति कतिको प्रभावकारी छ भनेर चिच्याइरहेका छन्,' उनले थपे। संवाददाताहरूले ‘सिन्जियाङका प्रहरी फाइल' बारे लिउले केही जवाफ दिएनन्।
'तस्बिरमा भएका बन्दीलाई यातना दिने काम भइरहेको छ,' माइकल क्लार्कले भने। क्लार्क सिड्नीको अस्ट्रेलिया-चाइन रिलेसन्स ईन्टिच्युटका प्राध्यापक हुन्। जेन्जको रिपोर्ट अध्ययनकर्ता उनै हुन्।
यूएसए टूडेसँगको संवादमा क्लार्कले शिविर जेलजस्तो भएको कुरा अलिअलि पहिले पनि आएको तर यो हदसम्म बन्दी बनाइएको पहिले नखुलेको बताए।
साक्षीका आधारमा त्यहाँ बलात्कारजस्ता यौनजन्य हिंसा पनि भइरहन्छन्। यिनै खुलासा पश्चात अमेरिका तथा युरोपेली राष्ट्रहरू सिन्जियाङमा भइरहेको अमानवीय क्रियाकलापमा साथ दिने कर्मचारी तथा संघसंस्थाहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन्।
पश्चिमी राष्ट्रहरूले उइगरमाथि भइरहेको दमनलाई 'नरसंहार' को संज्ञा दिएका छन्।
'चीनको सार्वभौमसत्ता तथा राष्ट्रिय हितलाई गम्भीर रूपमा हानी पुर्याएको तथा झुटा सूचना प्रवाह गरेको' आरोपमा चिनियाँ सरकारले जेन्ज लगायतलाई प्रतिबन्ध लगाएको छ।
लिक भएका कागजात चिनियाँ सरकारको सामूहिक बन्दी कार्यक्रम तीव्र गतिमा अघि बढिरहँदा सिर्जित तथा संकलित हुन्। तीमध्ये स्थानीय बासिन्दाका ५ हजार ७४ मस्कट तस्बिर छन्। सन् २०१८ को जनवरीदेखि जुलाईबीच चिनियाँ अधिकारीले उक्त तस्बिर लिएका हुन्। तस्बिरसँगै समय पनि उल्लेख भएको जेन्जका रिपोर्टका आधारमा ‘बायोमेट्रिक्स’ संकलन गर्न तस्बिर खिचिएका थिए।
करिब २ हजार ९०० जनालाई भने तस्बिर खिचिनु अघि नै बन्दी बनाइएको थियो। जसमा १५ देखि ७३ वर्षसम्मका व्यक्तिहरू थिए। जेन्जको रिपोर्टका आधारमा कुल बन्दीमध्ये १५ जना नाबालक थिए।
कुनै तस्बिरमा महिला सुरक्षाकर्मीले खिचेका महिलाका तस्बिर छन् भने कुनैमा दाह्री-जुंगा भएका पुरुष छन्। कुनैमा लजाएका मानिस छन् - कुनैमा दुःखी भएका अनुहारहरू।
अगाडिका टेलिभिजन हेरिरहेका बन्दीहरू यसै ‘ब्याच’का कैदी हुन्। 'प्रशिक्षण क्याम्प'का केही तस्बिर मनै चिस्याउने खालका छन्। एक तस्बिरमा युद्धको तयारीमा रहेका जस्ता देखिने सुरक्षा गार्डहरूले भुईंमा लडेका बन्दीमाथि राइफल तेर्स्याएका छन्।
अर्कोमा आन्दोलनका क्रममा प्रयोग गरिने- हेल्मेट, भाइजर, ढाल, छडीसहितका कम्तिमा आधा दर्जन सैनिकले घुँडा टेकेका दुई बन्दीलाई अँठ्याएका छन्।
अरु तस्बिरमा पुरुष तथा महिला बन्दीले केही गाएजस्तो देखिन्छ, अनि वरिपरि गार्ड बसेर उनीहरूलाई हेरिरहेका छन्।
दुर्लभ भाषण
लिक भएका कागजातमध्ये दुईवटा डकुमेन्ट छन्। जुन २०१८ का ती डकुमेन्टमा क्षेत्रीय कार्यकतामाझ झाओ केझीले दिएको भाषण छ। केझी रक्षा मन्त्रालय प्रमुख हुन्। अर्को भाषण चरन क्वाङ्ग्वोको छ - जसलाई सिन्जियाङ र तिब्बतको ‘सुरक्षा दरार निर्माता’ पनि भनिन्छ।
'अति गोप्य' लेखिएका ती कागजमा झाओ र चेनले बताए अनुसार सरकारको ‘अतिवाद’ हटाएर सिन्जियाङमा ‘दिगो शान्ति’ ल्याउने ५-वर्षे योजना उल्लेख गरिएको छ।
स्थिरता, सुदृढता, आधारभूत सामान्यता गर्दै पाँचै वर्षका योजनालाई विभिन्न शीर्षक दिइएको छ। तर, समस्याजनक कुरा भनेको उनीहरूको भाषणमा बताइएको गोली हान्ने अनुमति हो। शिविरमा कसैले विद्रोह गरेको अथवा शिविर छोडेर भाग्न खोजेको खण्डमा सैनिकले उनीहरूमाथि गोली चलाउन पाउँछन्।
'यी पृथकतावादी शक्तिहरू र दोहोरो मापदण्डका मानिसलाई टुक्रा-टुक्रा पार्नुपर्छ। उनीहरूलाई हाम्रो शक्तिबारे ज्ञान छैन,' चेनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने।
चीनलाई सन् २०२० मा अमेरिकी सरकारले 'मानव अधिकार उल्लंघन' गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो।
यसै वर्षको सुरुवातमा पाँच वर्षे योजना समाप्त भएको हो। चिनियाँ विदेशमन्त्री वाङ यीका अनुसार सिन्जियाङमा 'शान्ति तथा स्थिरता' ल्याउने लक्ष्य पनि सफल भएको छ। अनि आतंकपूर्ण भय पुरानो कुरा रहेको पनि उनले थपेका छन्।
(आईसीआईजेमा प्रकाशित सामग्रीको नेपाल अनुवाद गरिएको हो।)