बुटवल- बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभाव देखाई उद्योग व्यापार धराशायी हुने गरी बैंक ब्याजदर बढाएको र सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि दुवै घटाउन उद्योग व्यापार संघ बुटवलले माग गरेको छ।
बैंक ब्याजदर वृद्धिले उद्योग, व्यापारमा पार्ने असर र मुलुकको आर्थिक विकासमा पार्ने असरप्रति सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने संघले माग गरेको छ। संघका अध्यक्ष गोविन्दराज गैरे र महासचिव पदम जिसीले विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रको गतिविधि उद्योगमैत्री, लगानीमैत्री र आर्थिक संवृद्धिमैत्री हुन नसकेको अनुभूति भएको जनाएका छन्।
बैंकहरूले व्याज दर बढाउँदा उद्योग तथा व्यापारमा प्रत्यक्ष असर परेको र ऋण लगानी गर्दा ऋणी र बैंक बिचको सम्झौतालाई लत्त्याउँदै एकतर्फी रूपमा ब्याज बढेको पत्र पठाउने र दबाबस्वरुप व्याज बढाएर असुल्ने गरिएको विज्ञप्तिमा उल्लेख छ।
बैङ्कहरूले नेपाल राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तरको सीमा समेत नाघेर कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्याज दर वृद्धिको समस्या हल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र यातायात भाडा बढ्दा सर्वसाधारण नागरिकलाई घर व्यवहार चलाउन समेत कठिन परेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न संघले माग गरेको छ।
‘विषम आर्थिक अवस्थाका कारण उद्योगी व्यापारीहरू असार मसान्त भित्रको व्याज भुक्तानी गर्न सक्ने अवस्थामा नरहेका कारण उद्योगी व्यापारीहरूलाई कसरी सुविधा उपलब्ध गराउन सकिन्छ यसमा ध्यान दिन अनुरोध छ, बैंकले ब्याज बढाइरहेको बेला बैंकको ब्याजदर भुक्तानीमा सहज गराउने वातावरण सिर्जना गरी दैनिक उपभोग्य सामाग्री तथा पेट्रोलियम पदार्थ समेतमा भएको मूल्यवृद्धिलाई तत्काल घटाउन नेपाल सरकार समक्ष आग्रह गर्दछौ’, विज्ञप्तिमा भनिएको छ।