काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा वादलले सोमबार भक्तपुरमा भएको प्रहरी 'इन्काउन्टर' फेक नभएको दाबी गरेका छन् ।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले आत्मारक्षाका लागि प्रहरीले गोली चलाएको र फेक इन्काउन्टर हल्ला मात्रै भएको दाबी गरेको हुन् ।
अपहरणकारीसंगको जम्काभेटमा प्रहरीले उनीहरुलाई समात्न खोज्दै उल्टै गोली हान्दै भागेपछि प्रहरीले त्यसको प्रतिकार गरेको उनको जिकीर छ । यद्यपी इन्काउन्टरका विषयमा थप छानबिन गरिने उनले बताए । एक हदसम्मको छानबिन भएको भन्दै गृहमन्त्री थापाले बाँकी केहि विषयमा पनि छानबिन हुने जानकारी दिए ।
गत सोमबार बालक अपहरण गरि हत्या गरेको अभियोग लागेका दुई युवालाई प्रहरीले इन्काउन्टर गरेको थियो । इन्काउन्टरमा सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीयको अजय तामाङको मृत्यु भएको थियो । प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएको छ ।
यस्तै गृहमन्त्री थापाले आपराधिक गतिविधिमा संलग्न भएकाले खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरेको प्रष्टिकरण दिएका छन् । गैर कानुनी क्रियाकलाप गर्ने छुट कसैलाई छैन्, त्यस्तो काम गर्ने जो कोहीलाई कारबाही गरिन्छ उनले भने । प्रकाण्डलाई चन्दा आतंक र राज्यविरुद्ध लागेकाले गिरफ्तार गरिएको उनको भनाई थियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४