काठमाडौं- ८ वर्षअघिको बलात्कार काण्डको अनुसन्धान गरिरहेको प्रहरीले फोटोपत्रकार श्रीधर पौडेलसँग बयान लिएको छ। पौडेलले बुधबार महानगरीय प्रहरी परिसर टेकुमा पुगेर बयान दिएका हुन्।
सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीले आयोजकसमेत रहेका मनोज पाण्डेले आफूलाई बेहोस बनाएर बलात्कार घटना सार्वजनिक गरेपछि सो घटनामा जोडिएका पौडेलसँग प्रहरीले बयान लिएको हो। प्रहरीका अनुसार पत्रकार पौडेलको बयान पीडितको पक्षमा छ।
प्रतियोगितमा पीडितलगायतको फोटो पौडेलले खिचेका थिए। प्रहरीका अनुसार पौडेलले व्यवसायिक हिसाबले मात्र आफूले आयोजकसँग पारिश्रमिक लिएर इभेन्टको फोटो खिचेको बताएका हुन्। तर पीडितलाई 'ब्याकमेल' गर्नका लागि सहयोग पुग्ने गरी आफूले कुनै पनि फोटो नखिचेको उनको भनाइ थियो।
पीडक पाण्डेले आफूसँग फोटोसमेत रहेको भन्दै युवतीलाई ब्ल्याकमेल गरी ६ महिनासम्म यौन शोषण गरेको आरोप लगाएकी छन्।आरोपितको कन्सल्टेन्सीमा भएको लफडाबारे उनले प्रहरीलाई बताएका थिए। आफूले पीडितलाई कानूनी उपचारमा जान सल्लाह दिएकोसमेत पत्रकार पौडेलको भनाइ छ। पौडेलले पाण्डेले आयोजना गरेको इभेन्टमा फोटो खिचेको र अनलाइनखबरको स्टुडियोमा फोटोसेसन गरेकोबाहेक घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रहरीलाई बयान दिएका छन्।
यसअघि उनले आफ्नो फोटो दुरुपयोग गरेर घटनामा आफूलाई आरोपित गरिएको भन्दै साइबर ब्यूरोमा उजुरीसमेत दिएका थिए।