काठमाडौं- देशका विभिन्न स्थानमाभएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। झापा शिवसताक्षी नगरपालिका-१ स्थित सडकमा को१ख ७१८७ नम्बरको बसले प्रदेश १-०२-०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका-८ घर भएका २३ वर्षीय टिचोहाङ राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी, रामधुनी नगरपालिका-१ झुम्का बजारमा प्रदेश १-०२-०३ त १९७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ७० वर्षीया जैती देबी चौधरीको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिका-९ नागढुङ्गाको ओरालोमा ग१९प ५२१ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-३३ तल्लो पुडिटार बस्ने ४० वर्षीय किशोर कुमार थापाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।
सर्लाही, हरिवन नगरपालिका-१० सुकेपोखरीस्थित सडकमा ना६ख ३२६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिलाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तु, बुद्धभूमी नगरपालिका-२ पानीधारास्थित सडकमा ना५ख ७७५ नम्बरको बसको ठक्करबाट साईकलयात्री कपिलवस्तु नगरपालिका-९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारुको बुधबार बिहान मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएको उनको सामुदायिक अस्पताल हुँदै जिल्ला अस्पताल तौलीहवामा थप उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।