धनगढी- कञ्चनपुरमा कांग्रेसको विजयी भोजमा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका-५ 'ग' गाउँमा मंगलबार विजयी भोजमा जाँदै गरेको से२त २१९१ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ।
उनीहरूलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको बताइएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको र अन्य ८ जनाको उपचार भइरहेको छ।
उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ। ट्र्याक्टर चालक पुनर्वास-५ कै ३० वर्षीय लक्ष्मण पूजारा पनि उपचारमै रहेको प्रहरीले बताएको छ।
यस्तै, मंगलबार पुनर्वासका नवनिर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा घाइतेहरूको अवस्था बुझ्न अस्पताल आएका थिए। उनले घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन अस्पताललाई अनुरोध गरेका छन्।