बुटवल– प्रसंग हो, २०७७ साल जेठ १० गतेको। रुकुम पश्चिम चौरजहारीमा प्रेमिका लिन गएका जाजरकोट खलंगाका नवराज विक र उनका ५ जना साथीहरुको हत्या भयो। जात नमिलेकै निहुँमा नवराज विकले मात्रै ज्यान गुमाउनु परेन, साथ दिएका अन्य ५ जनाले पनि भेरी नदीमा मृत्युवरण गर्नुपर्यो। यस्तो आततायी घटनाको खबरले नेपालमा समतावादीहरुले देशभर आन्दोलन गरिरहेका थिए। एकातर्फ मुलुकमा कोरोना महामारीले बन्दाबन्दी थियो, अर्कोतर्फ कोरोनाको परवाह नगरी नवराजको हत्या प्रकरणको विरोधमा मानिसहरु सडक आन्दोलनमा थिए। घटना १० गतेको भए पनि ११ गतेबाट घटनाका पत्रहरु खुल्न थालेका हुुन्।
नवराज विकको हत्या जातप्रथाबाट सिर्जित इतिहासकै लज्जित घटना भएको तर्क जति बलियो हुँदै थियो, यो घटना जातीय पृष्ठभूमिबाट नभएको भनेर पनि तर्कहरु आउन थालेका थिए। त्यसैले यस घटनाको तथ्य के हो? सत्यतथ्य के हो? मलाई बुझ्ने तिव्र इच्छा थियो। बुटवलमा पत्रकारिता गर्ने भएकाले यहाँका मिडियाहरुमा यो विषय त्यति प्राथमिकतामा थिएन। तर, काठमाडौंका मूलधारका सञ्चारमाध्यमले हरेक कोणबाट विश्लेषण गरिरहेका थिए। घटनाको वास्तविकता बुझ्न चाहेको मलाई त्यस्तै एउटा गज्जबको संयोग मिल्यो।
कुरा २०७७ साल जेठ २२ गतेको हो। म संविधानसभा सदस्य पत्रकार विनोद पहाडी, दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाई, मानव अधिकार तथा शान्ति समाजका तत्कालिन वरिष्ठ उपसभापति हालका सभापति गोविन्द खनाल, पत्रकार माधव नेपाल र अधिवक्ता शिव गौडेलको टिमसँग नवराज विकको हत्या प्रकरणबारे स्थलगत अध्ययनका लागि रुकुम जाजरकोटतर्फ जाने मौका मिल्यो। हामी जेठ २२ गते बिहान ९ बजे बुटवलबाट रुकुम पश्चिमतर्फ लाग्यौं। पश्चिम रुकुमको सदरमुकाम मुसिकोट राति अबेर पुग्यौं। त्यसको भोलिपल्ट जेठ २३ गतेबाट स्थलगत अध्ययन थाल्यौं।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँ भेरी नदी किनारमा भएको घटनाको नागरिक तहबाट स्वतन्त्र रुपमा स्थलगत अध्ययन, अवलोकन र सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया समेत गरी घटनाको वास्तविकता सत्य तथ्यमा आधारित रहेर प्रतिवेदन सार्वजनिक गर्ने गरी अध्ययन टोली बुटवलबाट त्यहाँ पुगेको थियो।
जब हामी शुरुमै पश्चिम रुकुम प्रहरी कार्यालयमा तत्कालीन प्रहरी प्रमुख ठग बहादुर केसीलाई भेट्यौं। प्रहरीको जानकारीबाटै घटना कहालीलाग्दो र जात नमिलेकै कारण हत्याको अवस्था सिर्जना भएको बुझ्न सकिन्थ्यो। प्रहरीको मात्रै विश्वास हामीले गर्ने कुरा भएन।
त्यसपछि पिडक भनिएका नवराजकी प्रेमिका, उनको आमा र वडाअध्यक्ष डम्बर मल्लको कुरा सुन्यौं। उनीहरुले पनि प्रेम रहेको र घरमा केटी लिन आएको स्विकार गरे। मुसिकोटका विभिन्न दलित अधिकारकर्मीलाई भेटेपछि हामी घटनास्थल पुुग्यौं। जुन ठाउँ थियो रुकुम पश्चिम चौरजहारी स्थित सोती गाउँ। जेठ २३ गतेको रात हामीले चौरजहारीमा बितायौं। भोलीपल्ट २४ गते चौरजहारी प्रहरी, स्थानीय बासिन्दा, पीडितहरुसँगको भेटघाटपछि जाजरकोट तर्फ लाग्यौैं। मृतक नवराज विकको घर पुुग्दा स्थिति भावविह्वल थियो। पारीपट्टी चौरजहारी फाँट देखिथ्यो। तर, नवराजका आमा भने भेरी नदीमा छोराको लाश देखेपछि मुर्छित थिइन्।
अन्तरजातीय प्रेम गरेका जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकले त ज्यान गुमाए। साथीका लागि साथ दिन गएका ५ जना युवाहरुले पनि ज्यान गुमाए। साथीको खुशीका लागि हिँडेका नवराजका सारथी रानागाउँका सञ्जु विक, गणेश बुढा मगर, मटेलाका गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारीका टिकराम नेपालीले भेरीमा मृत अवस्थामा भेटिएका थिए। भेरीमा युवाहरुको सपना मात्रै बगेको थिएन परिवारको भरोसा पनिसँगै टुटेको थियो। ती सबै पीडितसँगको कुराकानी, स्थानीय प्रहरी र अन्य प्रत्यक्षदर्शीको कुराले भने घटना निकै पाशविक र जातीयताकै आधारमा भएको तथ्यहरुले देखायो। कतिपय सञ्चारमाध्यमले जातका कारणले यो घटना नभएको बताएपनि अवस्था त्यस्तो देखिँदैनथ्यो।
रुकुम घटनाले नेपालमा जातप्रथा कुन तहसम्म जकडिएर बसेको छ भन्ने कुरा बोलेको थियो। राजनीतिक हिसाबले जातप्रथा र विभेदका विरुद्ध लडेको रुकुम समेत लज्जित बन्यो। यस घटनापछि नेपालमा सामाजिक र सांस्कृतिक क्रान्ति अझै नभएको कुरा जगजाहेर छ। यो घटनाका सन्दर्भमा म सहितको टोलीले २०७७ जेठ २४ देखि २७ गतेसम्म स्थलगत अध्यन पश्चात नागरिक स्तरबाट प्रतिवेदन सार्वजनिक गर्यो। यसबेलासम्म स्वतन्त्र ढंगबाट घटनाको तथ्य र विश्लेषण सहितको प्रतिवेदन सार्वजनिक भएकै थिएन। मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा अधिकारकर्मी, पत्रकार र वकिलहरु सम्मिलित स्वतन्त्र समूहको प्रतिवेदन जेठ ३० गते बुुटवलमा सार्वजनिक भएको थियो।
नेपाली समाज यो घटनामा विभाजित मात्रै भएन। अपराधलाई समेत ढाकछोप गर्न ठूलो शक्ति लाग्यो। आज पनि नवराजका आमा र बुबाले उचित न्याय नपाएको गुनासो गरेकै छन्। संवैधानिक रुपमा जातीय भेदभावलाई फौजदारी अपराध माने पनि कानुनी उपचार भने निकै कमजोर छ। न्यायका लागि सडक संघर्ष गर्नुपर्ने कुरा कदापि न्यायोचित होइन। जातीयताकै कारण मृत्युवरण गरेका नवराज विक र उनका ५ जना साथी सामाजिक न्यायका निम्ति सहिद भएका छन्।
यस घटनाबाट पाठ सिक्दै मानवताको परिचय विश्वसामु चिनाउन सक्नुपर्छ। रुकुम र जाजरकोट अध्ययन सुन्दा जति क्रुर हो, स्थलगत अध्ययनले समाज रुपान्तरणका लागि जरुर अझै सामाजिक चेतना र जागरणको खाँचो देखाएको छ। तर, यसको अगुवाइ गर्छ कसले र कहिलेसम्म? यो प्रश्नको उत्तर नवराजहरुले खोजिरहेका छन्। घटना भएको २ वर्ष त भयो, पीडितले भने अझै न्यायको अनुभूति पाउन नसकेको गुनासो आइरहेको छ।