शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार आरोपमा पक्राउ परेका पाण्डेमाथि कसरी लाग्यो मानव बेचबिखनको कसुर?

बलात्कार आरोपमा पक्राउ परेका पाण्डेमाथि कसरी लाग्यो मानव बेचबिखनको कसुर?

धेरैलाई जिज्ञासा हुनसक्छ, आरोप जबर्जस्ती करणीको छ, कसरी मानव बेचबिखन तथा ओसारपसार आकर्षित हुन्छ? एसएसपी गिरीका अनुसार पीडितको जाहेरीले सोही ऐन आकर्षित हुने आधार देखिएको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

सौन्दर्य प्रतियोगिताको आवरणमा १६ वर्षिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन–०६४ अन्तर्गत अनुसन्धान हुने भएको छ।

National life

नेपालको कानुनमा जबर्जस्ती करणी पीडितले जाहेरी दिनुपर्ने हदम्याद १ वर्षसम्म मात्रै भएको र यो घटना ८ वर्ष पुरानो भएकाले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको ऐन आकर्षित गरिएको हो। यो ऐनमा भने हदम्यादको व्यवस्था छैन। 

महान्यायाधिवक्ताको कार्यालय र कानुन व्यवसायीसँगको परामर्शपछि पीडितले यो ऐन अन्तर्गतको कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि शनिबार पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुर अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको माग गर्दै पाण्डेलाई आज अदालत लगेको थियो। जिल्ला अदालत काठमाडौंमा पाण्डेविरुद्ध पीडित स्वयम् उपस्थित भएर घटनाबारे बयान दिएकी थिइन्।

उनको बयान प्रमाणित भएपछि अदालतले प्रहरीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए। 

गत बुधबार साँझ पीडित युवतीले २० वटा टिकटक भिडियोमार्फत आफूले ८ वर्षअघि भोगेको यौन शोषणको डरलाग्दो अनुभव सार्वजनिक गरेकी थिइन्। आफू ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल २०१४’ को ‘फस्ट रनर–अप’ हुँदा प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालकले आफूमाथि जबर्जस्ती करणी गरेपछि यसबीचमा दुईपटक आत्महत्या प्रयास गरेकोसम्म उनले खुलेर सुनाइन्।

Shivam cement

गहभरि आँशु झार्दै उनले भनेकी थिइन्, ‘कुनै पनि कार्यक्रम भइसकेपछि त्यसको सक्सेस पार्टी गरिन्छ। म तयार भएँ। भेन्यू थियो एभरेस्ट होटल। म गएँ। कोही मान्छेहरु आएको थिएन। म पर्खिरहेँ। त्यो व्यक्ति (सञ्चालक)ले मलाई ‘तिमी चाँडै आयौ, पार्टी ६/७ बजेबाट सुरु हुन्छ’ भन्दै थम्थमायो। त्यसपछि वेलकम ड्रिंक भन्दै लेमोनेड विथ आइस खान अफर गर्‍यो। मैले पिएँ। त्यसको १०/१५ मिनेटपछि मलाई रिंग्यायो। त्यसपछि मैले त्यो यौन दूराचारीलाई ‘म घर जान चाहन्छु सन्चो भएन’ भनेँ। तर, उसले मलाई ‘तिमी विजेता भएर यस्तो गर्ने’ भन्दै एकदमै गाली गर्‍यो। मलाई सही लाग्यो। त्यसपछि उसले ‘आज पार्टीमा ड्रिंक भएकाले केटीहरुलाई यस्तै गाह्रो होला भनेर बेग्लै कोठा लिएर राखेको छु, तिमी त्यहीँ गएर आराम गर। सबैजना आएपछि तिमीलाई कसैलाई उठाउन पठाउँछु’ भन्यो। 

‘त्यसपछि म कोठामा गएँ। मलाई याद भएसम्म त्यसले मसँग शारीरिक सम्बन्ध राखिरहेको थियो। तर मेरो होस घरिघरि मात्रै आइरहेको थियो। म उसले मसँग सम्बन्ध राखिरहेको थाहा पाइरहेको थिएँ, मलाई एकदम दुखिरहेको थियो। जब साढे चार/पाँच बज्यो, त्यतिबेला मेरो होस खुल्यो। त्यतिबेला त्यो व्यक्ति मेरो छेउमा नाङ्गै सुतिरहेको देखें। ओछ्यानमा रगत थियो। म आत्तिएँ, ठूल्ठूलो आवाजमा रुन थालेँ। तर, त्यो मान्छेले ‘मैले तिम्रो ब्यागमा २० हजार हालिदिएको छु, तिमी यो पैसा राख। तिमीलाई पैसा चाहिएको थियो, त्यसैले तिमीले मलाई शारीरिक सम्बन्ध राख्न भन्यौ’ भनेर मलाई म्यानिपुलेट गर्‍यो। म ढोकाको अगाडि उभिरहेको थिएँ, ढोका बन्द थियो। म घरि त्यो व्यक्तिलाई हेरिरहेको थिएँ, घरि पैसालाई त घरी ऐनामा हेरिरहेको थिएँ। मसँग के भयो भन्ने कुरामाथि मलाई विश्वास लागिरहेको थिएन। किनभने म पढेलेखेको केटी थिएँ, त्यसैले म पनि बलात्कृत हुन सक्छु भन्ने कुरामा मलाई रत्तिभर विश्वास लागिरहेको थिएन।’

यतिमात्रै होइन, पाण्डेले ‘आफूसँग तिम्रो नाङ्गो फोटो/भिडियो छ, कसैलाई भन्यौ भने सार्वजनिक गर्दिन्छु’ भन्दै ब्ल्याकमेल गरेर ६ महिना लगातार करणी गरेको आरोप पनि पीडितले त्यतिबेला टिकटकमार्फत लगाएकी थिइन्। आफूमात्रै नभएर आफ्नो साथीलाई समेत पाण्डेले सुत्न लगाएको उनको दाबी छ।  

आफूमाथि भएको यौन शोषणको विस्तृत कथासहित उनले २० वटा भिडियो क्लिप टिकटकमा सार्वजनिक गरेपछि यो विषयले सामाजिक सञ्जालदेखि संसदसम्म प्रवेश पायो। पीडित सहभागी भएको सौन्दर्य प्रतियोगिताको त्यतिबेला कोरियोग्राफर थिइन्, पूर्व मिस नेपाल माल्भिका सुब्बा। पीडित युवतीका अनुसार सुब्बालाई उनी ‘आइडल’ मान्थिन्, त्यसैले यो घटनाको केही समयपछि उनीसँग सहयोग मागेकी थिइन्। तर, गैरजिम्मेवार जवाफ दिँदै माल्भिका त्यतिबेला तर्किएको प्रसंग पनि पीडितले टिकटकमार्फत सुनाएपछि महिलावादी छवि बनाएकी माल्भिकाको व्यापक आलोचना भयो। त्यसपछि उनले फेसबुकमा लामो पोस्ट गर्दै त्यतिबेला सहयोग गर्न नसकेकोमा माफी नै मागेकी छिन्। 

यता गगन थापाले संसदमा यो विषय उठाएपछि सभामुखले सरकारसँग तत्काल अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न निर्देशन नै दिए। त्यसपछि गृह मन्त्रालयले यो घटनाको छानबिनका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरको संयोजकत्वमा पाँच सदस्यीय समिति नै बनायो। त्यसपछि अपराध अनुसन्धान कार्यलयको प्रहरी टोली शनिबार उनलाई स्वयम्भूबाट पक्राउ गरेको थियो।

८ वर्षअघिको केसमा जबर्जस्ती करणी ऐन अन्तर्गत कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ/सकिँदैन, यो बीचमा प्रहरी निरन्तर कानुनी परामर्शमा थियो। एसएसपी कुँवर लगायत प्रहरी अधिकृतको टिम निरन्तर महान्यायाधिवक्ताकोे कार्यालयसँग यस विषयमा छलफल पनि गरेको थियो। तर, मानव बेचबिखन ऐनलाई टेकेर जाँदा बलियो हुने आधार देखिएपछि प्रहरीले पीडितलाई सोही अनुसार जोहरी दिन सुझायो। 

कसरी मानव बेचबिखन आकर्षित ? 

धेरैलाई जिज्ञासा हुनसक्छ, आरोप जबर्जस्ती करणीको छ, कसरी मानव बेचबिखन तथा ओसारपसार आकर्षित हुन्छ? एसएसपी गिरीका अनुसार पीडितको जाहेरीले सोही ऐन आकर्षित हुने आधार देखिएको छ। ‘के के आधार भेटियो, अहिले अनुसन्धानको चरणमै रहेकाले विस्तृत नभनौं,’ उनले भने।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पीडितको जोहरी हेर्दा पाण्डेले औषधी खुवाएर, लठ्याएर, होटलको कोठामा लगेर बन्धक बनाएर करणी गरेका छन्, जसमा यो ऐन पनि आकर्षित हुन्छ। त्यतिमात्रै होइन, पीडितको जाहेरी अनुसार पाण्डेले ‘ब्ल्याकमेलिङ’ गर्दै उनको साथीसँग समेत शारीरिक सम्पर्क गर्न लगाएका थिए।


नेपालको कानुन अनुसार यी दुई घटना मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ०६४ अन्तर्गत पनि पर्छन्। किनभने यो एनमा स्पष्ट उल्लेख छ, ‘वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाजी गरी, प्रपञ्च मिलाई, जर्बजस्ती गरी, करकरापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितीको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, क्रास, धाक, धम्की दिई वा करकरापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई, लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने।’

यो ऐन अन्तर्गतदण्ड, सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा ‘कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्राअनुसार दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। 

यो ऐन अन्तर्गत मुद्दा चलेपछि प्रमाणको भार पीडितभन्दा पनि प्रतिवादीमै हुन्छ। अदालतमा आफूले कसुर गरेको छैन भन्ने कुराको प्रमाण आरोपी स्वयम्ले पुर्‍याउनुपर्ने हुन्छ। 

अर्की नाबालिगको पनि जाहेरी

पाण्डे पक्राउ परेपछि अर्की नाबालिग पीडित पनि प्रहरीको सम्पर्कमा पुगेकी छिन्। पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार गरेको आरोपसहित उनले प्रहरीमा घटना विवरणसहित किटानी जाहेरी दर्ता गराएकी छिन्। एसएसपी गिरीका अनुसार उनको जाहेरी भने बालबालिकाविरुद्ध कसुर अन्तर्गत अघि बढाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आज दुवै जाहेरीका आधारमा अनुसन्धान गर्न म्याद थपका लागि अदालत पुगेको थियो। तर अदालतले मानव बेचबिखन ऐन अन्तर्गत नै अनुसन्धान गर्न अनुमति दिएको हो। ‘म्याद थप एउटा मुद्दा अन्तर्गत पाएका हौ। तर, पाण्डेको शोषणमा परेका जति पीडित आए पनि हामी सबैमाथि अनुसन्धान गरेर प्रतिवेदन तयार पार्नेछौं,’ एसएसपी गिरीले भने।  

प्रकाशित: May 23, 2022| 16:43 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।