काठमाडौं- यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ (डिएएसजे) कर्णाली आर्टस् सेन्टर (केएसी) र संयुक्त राज्य अमेरिकास्थित दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (इएल)लाई प्रदान गरिने छ।
दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि यी दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो। दुवै संस्थालाई जेठ २५ मा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ। विजेताले प्रतिसंस्था २ लाख ५० हजार रकम प्राप्त गर्नेछन्।
छनोट समितिले सामाजिक न्यायको क्षेत्रमा क्रियाशील ध्रुवसत्य परियार र मानव बेचबिखनविरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
दर्नाल पुरस्कारले समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, द न्यू स्कूल, न्यूयोर्क तथा इन्डियन इन्स्टिच्युटअफ दलित स्टडिज, नयाँ दिल्लीसँगको सहकार्यमा ‘नेपालमा दलित : आत्मसम्मान र समताको राजनीति’ विषयमा अन्तर्राष्ट्रिय विमर्शको पनि आयोजना गर्ने भएको छ। उक्त विमर्श जेठ २४ गते गर्ने तय भएको छ।
दर्नाल पुरस्कार र सम्मान समारोह सरिता परियार ट्रस्ट फन्डले समता फाउन्डेसनसँगको सहकार्यमा सामाजिक न्यायका अगुवा सुभाष दर्नालको जीवन र सम्झनामा आयोजना गर्दै आएको छ। दलित जीवन ज्ञान, विवेक र प्रतिरोधजस्ता बहुआयामिक पक्षलाई उजागर गर्दै जातको इतिहासलाई केन्द्रमा राखी बहस गर्दै आएको छ।