जनकपुरधाम-संघीय संरचना अनुसार स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुँदा जनता खुशी थिए। मतदाताले उल्लासपूर्वक निर्वाचनमा सहभागिता जनाए। मतदाताहरुको उच्चतम सहभागिताले नै लामो विवाद र खिचातान पछि भएको तीन तहको निर्वाचनलाई सफल भयो ।
तर, निर्वाचनमा उत्साहपूर्वक भाग लिएका तिनै मतदाताहरु अहिले नेताहरुबाट रुष्ट बन्न पुगेका छन् । सिंहदरबार आफ्नै गाउँठाउँमा पुग्ने, सडक, ढलजस्ता विकास निर्माण अगाडी बढ्ने नेताहरुले दिएको आवश्वासन पुरा हुन नसकेपछि उनीहरु रुष्ट बन्न पुगेका हुन् ।
सडक निर्माण हुने, कच्ची सडक हेर्नै नपाइने विकस कार्य तीव्र रुपले अगाडी बढ्ने चुनाव ताका नेताहरुले गरेको प्रतिवद्धता धनुषा निर्वाच क्षेत्र नम्बर ४ पथरा टोलका परमेश्वर यादव अहिले झलझली सम्झिन छन् ।
‘मत माग्न आउँदा नेताहरुले ठुल्ठुला सपना र आश्वासन बाँडे’ परमेश्वर भन्छन्,‘तर, हामी पहिलेको भन्दा खराब बाटोबाट हिँड्नु परेको छ ।’ आफ्नै क्षेत्रबाट जितेर गएका नेता अहिले मन्त्री पनि बनेका छन् उनले भने,‘हाम्रै निर्वाचन क्षेत्रबाट जितेर गएका नेता मन्त्री बनेको सुनेको छु । तर, सडकको अवस्था हिँड्ने योग्य छैन् ।’
मुख्य बाटोका साथै ग्रामीण भेगका सडक जीर्ण भएपछि स्वास्थ्योपचार गराउन समेत त्यस भेगका स्थानीयलाई समस्या भोग्नु परेको छ । ‘हिलाम्य सडकमा गाडी गडाउन समस्या छ । अचानक बिरामी परे वा सुत्केरीको लागि सदरमुकाम जनकपुर पुग्नु पर्ने बाध्यता छ । तर, सडकको दुरावस्थाले बिरामीको ज्यान जोखिममा हुन्छ,’ सिर्सियाका राजकिशोर यादव बताउँछन् ।
जनकपुर-धनुषाधाम सडक खण्डको अवस्था जर्जर बन्दै गएको छ । जीर्ण अवस्थामा रहेको सडकमा जोखिम मोलेर यात्रा गर्नु परिरहेको बस चालकहरु बताउँछन् । ‘जनकपुर-धनुषाधाम सडक खण्डको ठेरामा सडकको बीचमै ठुलो भ्वाङ्ग परेको छ, गाडी दुर्घटना हुने जोखिम बढेको छ,’ बस चालक शंकर साहले बताए ।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको समेत निर्वाचन क्षेत्र रहेको त्यस भेगमा नेताहरुले चुनाव ताका दिएका आश्वासनहरु पुरा नगर्दा स्थानीय आक्रोशित देखिन्छन् । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रघुवीर महासेठ त्यस क्षेत्रबाट निर्वाचित भएका हुन् । महासेठ वर्तमान सरकारक भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् । साथै सोहि क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका संघीय समाजवादी फोरमका उम्मेदवार ज्ञानेन्द्रकुमार यादव प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् ।