काठमाडौं- दिनभरको गर्मीले साँझको शितल हावालाई बाटो छाड्दै गर्दा सिमाना पार गरेर भारतबाट नेपालतर्फ लाग्ने भिडको लर्कोमा स्पष्ट परिवर्तन देखिन थाल्छ। नेपाल छिर्नेको भिडमा अघिल्लतिर देखिन्छन्, नेपाली- जसमध्ये अधिकांश महिला छन्।
दैनिक उपभोग्य सामग्री पारीपट्टी सस्तो पाइने भएकाले उनीहरु भारतमा नै खरिद गर्न रुचाउँछन्। रंगिन सारीको पहिरनमा सजिएका दुई महिला मिलेर ठूलो भारी घिस्याउँदैछन्। रिक्साको पछाडि बसेका पुरुषको हातमा पंखा छ- जो वेगले आफैँ घुमिरहेको छ। यस लहरमा नेपाल छिर्नेका हात विरलै खाली देखिन्छन्।
घाम अस्ताउँदै जाँदा अँध्यारोले छोप्दै जान्छ अनि अर्को भीडको श्रृंखला नेपाल प्रवेश गर्छ। यसपटक भित्रिनेमा भने रित्ता हात लिएका भारतीय पुरुष छन्।
पाइन्ट भित्र सर्ट हालेका, बिहान पालिस गरिएका जुत्ता लगाएका सरकारी जागिरेलाई सिमानामा उनीहरुका गाडिले उतार्दिन्छन्। दिनभर प्रयोग गरेका औजार झोलामा हालेर साइकलका ‘ह्यान्डल’मा झोला झुन्ड्याएका पुरुषहरु ‘पाइडल’ मार्दै आउँछन्।
९ बजेपछि प्रहरीले छेउछाउका भट्टी बन्द गराउनुभन्दा अघि दुई-चार घुँट्की रक्सी पिउन छिरेका हुन्- यस भीडमा देखिनेहरु। राजनीतिक तनावका श्रृंखलाहरु बाहेक नेपाल-भारत सिमानाको खुला नीति दुवै देशका जनताका लागि फराकिला आर्थिक विकल्पहरुको आनन्दको उदाहरण बनेको छ। यहाँको लोकप्रिय सवारीसाधन मोटरसाइकलको उदाहरण हेरौँ- भारतमा पार्टपूर्जा सस्ता छन्, नेपालमा इन्धन।
यस खुलापनको स्थानीय मद्यपानकर्ताहरुले झनै मज्जाले आनन्द उठाइरहेका छन्। नेपालसँग ६ सय किलोमिटरभन्दा बढी सिमा जोडिएको भारतीय राज्य बिहारमा सन् २०१६ देखि मादक पदार्थको बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। त्यसपछि सिमानाका नेपाली बस्तीहरुमा स-साना भट्टी पसल तथा रेस्टुरेन्टहरुको उद्योग राम्रैसँग फस्टाएको छ।
मद्यपानले निम्त्याउने आर्थिक समस्या, घरेलु हिंसा, इत्यादिको न्यूनिकरणका लागि लगाइएको यस्तो प्रतिबन्धलाई बिहारका महिलाहरुले साथ दिएका छन्। मदिरासँग पक्राउ परे सजाय ठूलै छ। पहिलो पटक मदिरा व्यापार (सेवन) गरेको फेला पर्नेले दशौँ हजार रुपैँया तिर्नुपर्ने हुन्छ। अथवा एक महिना जेल सजाय भोग्नुपर्ने हुन्छ। फेरि-फेरि पक्राउ पर्नेहरुले एक वर्षसम्म जेल सजाय भोग्नुपर्ने नीति रहेको छ।
राज्यमन्त्री नितिश कुमारको सरकारका अनुसार यस्तो प्रतिबन्ध पश्चात बिहारभित्र हिंसा तथा अपराधका घटनामा कमी आएको छ। यद्यपि, सीमा पार गर्ने सहजताले भने उक्त कानुनको प्रभावकारितालाई अवश्य कम गरेको छ।
प्रतिबन्धले चुनौती पनि थपेको छ। अदालत मद्यपान सम्बन्धित मुद्दाले भरिएका छन्। राज्यले वर्षेनि मदिराबाट उठ्ने लाखौँ कर गुमाइरहेको छ। तर मदिराको उपभोग जारी छ, दोब्बर अनि तेब्बर मूल्यमा।
नेपालको भट्टीको एउटा कुनामा सस्ता रक्सीका दुई बोतल लिएर बसेका एक भारतीय किसानका अनुसार महिलाकै मतले मुख्यमन्त्रीले निर्वाचन जितिरहेका छन्। किनभने मदिरामा प्रतिबन्ध लगाएदेखि महिला उनीदेखि निकै खुसी तथा आभारी छन्।
भारतका अलि हुने-खानेहरु जनकपुरसम्म आउँछन्। जहाँ ‘भट्टी’को साटो एसी जडित बारहरु छन्। जहाँ लोकल रक्सीको साटो ‘इम्पोर्टेड ड्रिंक्स’ पाइन्छ। जहाँ मनमोहक दृश्यहरुले आँखा तान्छन्। अनि कहिले-काहीँ जहाँ अप्रिय दृश्यहरु पनि देखिन्छन्।
तर, तीनै किसान गुप्ताजीका अनुसार राज्यको त्यस्तो नीतिले मदिराको मूल्य बढ्यो। कानुन उल्लंघन गरेको हुनाले गुप्ताजीले आफ्नो पूरा नाम भने बताउन चाहेनन्।
त्यसपछि उनले तेस्रो बोतल पनि किने अनि आफ्नो गम्छामा पोको पारे। पोकोलाई साइकलको पछाडि च्यापेर ‘म मातेको छैन’ भनी चिच्याउँदै सीमा पारीको बिहारतर्फ साइकललाई गति दिए। नेपाल-भारतको खुला सिमाना फराकिलो छ। त्यस्तै छ सिमा नजिकको ‘मदिरा-दृश्य’को विविधता।
भारतका अलि हुने-खानेहरु जनकपुरसम्म आउँछन्। जहाँ ‘भट्टी’को साटो एसी जडित बारहरु छन्। जहाँ लोकल रक्सीको साटो ‘इम्पोर्टेड ड्रिंक्स’ पाइन्छ। जहाँ मनमोहक दृश्यहरुले आँखा तान्छन्। अनि कहिले-काहीँ जहाँ अप्रिय दृश्यहरु पनि देखिन्छन्।
जनकपुरको एउटा बारमा मदिराले मात्दै गरेका पुरुषहरु वेटरलाई अनाव-सनाव भन्दै बोलाउन थाल्छन्। अनि-अलि परतिरको अर्को होटलमा बिहारमा लगाइएको प्रतिबन्धको धङधङी अझै देखिन्छ- दुई पुरुष बियरका बोतल टेबल मुनि लुकाएर रित्याउँछन्।
नेपाली विश्वविद्यालयका लेक्चर उमेश यादवका अनुसार मातेका मान्छेले खडा गर्ने सानातिना दुईचार ओटा समस्या बाहेक खुला सीमाले ठूलो आर्थिक आयाम बोकेको छ।
'मातेपछि अवश्य समस्या सिर्जना हुन्छ,' उनी भन्छन्, 'तर प्रहरीले सुल्झाइहाल्छ।' सिमानाको मरुवाही क्षेत्रमा धेरै जसो पिउने कार्यक्रम आँपका बोट मुनी हुने गर्छन्। र यहाँ हुने वनभोजहरुमा खानाका भाँडामा भन्दा ध्यान बोतलका सीसीमा हुने गर्छ।
स-साना समूहमा भएका पुरुषहरु प्लास्टिकका बोतलबाट घुँट्क्याउदै मजाक गर्न व्यस्त देखिन्छन्। छेउमा आ-आफ्ना साइकल अड्याएका हुन्छन्। अरु रुखमुनि बसेर हात थापिरहेका हुन्छन्- आफ्नो भागको बोतलको प्रतिक्षामा। कोही साथीहरुको साथमा पिइरहेका हुन्छन्, कोही अस्ताउँदो घामलाई हेर्दै आफ्नै सोचका साथमा।
नेपाली सीमा नाकाका कमान्डर, भन्छन्, 'हामी यस्ता दुई-चार बोतल ओसारपसार गर्नेलाई समात्दा-समात्दा थाकिसकेका छौँ, तर उनीहरु प्रयास गर्नबाट थाक्दैनन्।'
बगैंचाबाट डेढ किलोमिटर परको एउटा भट्टीका मालिकले सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जोडेका थिए। तर, आफूलाई खिचिरहेको डरले ग्राहक आउन बन्द भएपछि उनले सीसी क्यामेरा हटाउनु परेको थियो।
'हामी पहिले शिक्षासम्बन्धी सामग्री बेच्थ्यौं, अहिले मदिरा बेच्छौं,' कुन्दन मेहता भन्छन्। कुन्दन ५ वर्षअघिसम्म बिहारमा स्टेसनरी पसल चलाउँथे। त्यसपछि उनले नेपालमा होटल नवरंग खोले। मुस्कुराउँदै उनी भन्छन्, 'आजभोली म ‘पढाई धेरै भयो केटाहो, अब पिउन थाल’ भन्ने गरेको छु।'
भित्र, बाँसको खम्बामा अड्याइएको टेलिभिजनमा क्रिकेटको प्रत्यक्ष प्रसारण भइरहेको छ। भित्ताभरी बलिउडका सुन्दर अभिनेत्रीहरुका पोष्टर देखिन्छन्, अनि साथै हिन्दु गुरु र घोडाहरुका तस्बिर पनि।
एक ग्राहक रवी कुमारलाई ‘गोल्डेन ओक’ चाहिएको रहेछ। गोल्डेन ओक स्थानीय सस्तो मदिरा हो। भारततिर औँल्याउदै कुमार भन्छन्, 'पारी रक्सी पाइँदैन।'
उनी पिउनका लागि हप्तामा दुई पटक नेपाल धाउँछन्, त्योभन्दा बढी पिउन अर्थले साथ नदिने उनको भनाई छ।
बुढी औँला ठड्याएर मदिरालाई संकेत गर्दै- 'पिउनलाई' हातकै संकेतले 'पैसा चाहिन्छ' भन्छन्।
सिमानाबाट एक घण्टा टाढाको बैंकका कर्मचारी २२ वर्षीय अंकितको हप्ता निकै कष्टकर बनेको रहेछ। हप्ताभरी उनलाई सयौंबाट ऋण उठाउनु पर्ने जिम्मेवारी सुम्पिइएको रहेछ। बस चढेर कामदेखि सिधै उनी यहाँको तारेको माछा खान आएका हुन्। अलिकति मदिरा बोकेर फर्किनु पर्ने भएकाले उनले पनि आफ्नो पूरा नाम खुलाउन चाहेनन्।
'मदिराले कामको तनावबाट अलिअलि राहत दिन्छ,' उनले भने। अंकितले बिल तिर्दै दुई बोतल मदिरा पनि खरिद गर्छन्। काउन्टरमा सुन्तले रंगको सारी लगाएकी नेपाली महिला कुरिरहेकी हुन्छिन्- अलिकति पैसा कमाउने आशमा। उनको दैनिकी नेपालबाट अंकितजस्तै पुरुषका लागि भारतसम्म बोकेर मदिरा पुर्याइदिनमा बित्छ।
'ल हिँडौ, बस छुट्ला,' अंकितले ती महिलालाई भन्छन्। 'रोजी-रोटी' भन्दै ती महिला मुसुक्क हाँस्छिन्। सारीमा बेरेर कम्मरमा बोतल अड्याएकी उनी बाटो तताउँछिन्।
बिर्ख शाही, नेपाली सीमा नाकाका कमान्डर, भन्छन्, 'हामी यस्ता दुई-चार बोतल ओसारपसार गर्नेलाई समात्दा-समात्दा थाकिसकेका छौँ, तर उनीहरु प्रयास गर्नबाट थाक्दैनन्।' बिर्खको सैनिक टोलीले थोरै मात्रामा बोक्नेलाई केही नगर्ने उनले बताए। उनीहरुको ध्यान ठूलै मात्रामा मदिरा ओसारपसार गर्नेमा मात्र रहेको छ।
(न्युोयोर्क टाइम्सका लागि मुजिब मसहल र भद्र शर्माले गरेको समाचारको नेपाल समयमका लागि विनायक कार्कीले गरेको नेपाली भावानुवाद।)