काठमाडौं– इटहरी घर भएकी एक युवतीले सामाजिक सञ्जालमार्फत ७ वर्षअघि आफूमाथि पनि बलात्कार भएको घटना सार्वजनिक गरेसँगै यतिबेला बलात्कार र हदम्यादसम्बन्धी कानुनी बहस झन् सतहमा आएको छ। युवतीले आफू कक्षा ९ पढ्दा प्रधानाध्यापकले आफूमाथि लगातार २ वर्षसम्म बलात्कार गरेको दावी गरेकी छन्।
युवतीले आरोप लगाएकी ती प्रधानाध्यापक अहिले पनि काठमाडौँको एक विद्यालयमा प्रधानाध्यापक रहेर काम गरिरहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले भने कर्मचारी सरुवाका कारण घटनाबारे अनुसन्धान गर्न समस्या भइरहेको बताएको छ। सुनसरीका प्रहरी प्रमुख तथा एसपी सन्देशसिंह थापाले यस घटनाबारे २०७४ सालमा जिप्रकामा मुद्दा दर्ता भएको तर आफू त्यसको दुई वर्षपछि मात्रै सरुवा भएर आएको बताएका छन्।
उनले भने, ‘म पनि घटना दर्ता भएको दुई वर्षपछि मात्रै सरुवा भएर आएको हुँ, मलाई पनि विस्तृत जानकारी छैन। तर अहिले सामान्य जानकारीलाई आधार मानेर भन्दा घटना ०७४ सालमै दर्ता भएको पाइएको छ। हदम्यादको कानुनले अदालत प्रवेशमा के कस्तो समस्या पारेको रहेछ, म भोलि थप जानकारी दिनेछु। फेरि आज बिदा पनि हो, भोलि अदालत खुलेपछि मुद्दाको प्रक्रिया के भइरहेको छ, म भनुलाँ।’