जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने निश्चित भएपछि प्रदेश सरकार र जनकपुर उपनगरपालिकाबीच विवाद शुरु भएको थियो । प्रदेश सरकार र स्थानीय तहबीच विवादको मुख्य कारण थियो मोदी अभिनन्दनको विषयमा ।
मोदीको अभिनन्दन प्रदेश सरकारले गर्नुपर्ने प्रदेशका मन्त्रीहरुको भनाइ थियो भने जनकपुर आउने भएकोले अभिनन्दन स्थानीयवासीकोतर्फबाट उपमहानगरपालिकाले गर्नुपर्ने स्थानीय तहको तर्क थियो । अन्ततः भारतीय प्रधानमन्त्रीको अभिनन्दन भने उपमहानगरपालिकाले नै गर्यो । तर, मोदीको स्वागतमा प्रदेश सरकारले हस्तक्षेप गरेको भन्दै नगर प्रमुख लालकिशोर साहले कतिपय सार्वजनिक कार्यक्रममा समेत सार्वजनिक अभिव्यक्ति दिए ।
अहिले पुनः प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाबीचको विवाद सतहमा आएको छ । प्रदेश सरकारका मन्त्री तथा सांसदहरुको पछिल्लो अभिव्यक्तिहरुले दुई तहबीच उग्र विवाद रहेको पुष्टि गर्छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले मंगलबार संघीय सरकार भन्दा क्रुर प्रदेश सरकार रहेको जिकिर गरेका थिए । प्रमुख साह विभिन्न सार्वजनिक कार्यक्रमहरुमा प्रदेश सरकारविरुद्ध चर्को आलोचना गर्दै आइरहेका छन् ।
बुधबार मधेशी पत्रकार समाजले आयोजना गर्ने कार्यक्रममा बोल्ने मौका पाए प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहले । मन्त्री साहले नगर प्रमुखको उक्त अभिव्यक्तिप्रति आक्रोश पोख्न कुनै कसर बाँकी राखेनन् ।
आफ्नो मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार भएको प्रमाणित गरे पदबाट राजीनामा दिन तयार रहेको भन्दै कार्यक्रममा सहभागी नगर प्रमुखतर्फ संकेत गर्दै भने,‘मैले मन्त्रालयको सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त बनाउन सक्दो प्रयास गरेको छु । केहि भ्रष्ट कर्मचारीका कारण मेरो मन्त्रालयको सबै बजेट खर्च हुन सकेको छैन् ।’ मन्त्रीको जिम्मेवारी पाएपछि आफूहरु जनताको सेवकको रुपमा काम गरिरहेको मन्त्री साहको दाबी थियो ।
मन्त्री साह बोल्नुपूर्व सम्बोधन गरेका नगर प्रमुखले प्रदेश सरकारले आफूहरुलाई सहयोग नगरेको आरोप लगाए । नगर प्रमुख साहले भने,‘जनकपुरमा हामी मासु, मदिरा र सुतीजन्य पदार्थ बिक्री वितरण निषेध गर्न प्रयत्नरत छौँ । तर, प्रदेश सरकारले यस विषयमा कुनै हल निकाल्न सकेको छैन् ।’ प्रदेशको मन्त्रालयमा हुने कुनै पनि भोजभतेरमा मदिराजन्य पदार्थको प्रयोग नहोस आफूहरुको चाहना रहेको नगर प्रमुख साहको भनाइ थियो ।
प्रदेश सरकारको बचाउ गर्दै प्रदेशसभा सांसद रामअशिष यादवले जनकपुरका नगर प्रमुखले संविधान अध्ययन नगरेको टिप्पणी गरे । उनले भने,‘हाम्रो मेयर साहेबले संविधानको राम्रो अध्ययन नगरे जस्तो लाग्यो । प्रदेश सरकार भन्दा स्थानीय तह बढी अधिकार सम्पन्न रहेको उनलाई जानकारी हुनु पर्ने हो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४