काठमाडौं- अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार विजेता मुस्कान खातुन र भूमिका श्रेष्ठसँग भेट गरेकी छन्।
शुक्रबार साँझ काठमाडौं ओर्लिएकी उपमन्त्रीले जियाले शुक्रबार नै दूतावास बोलाएर भेट गरेकी हुन्। दूतावासमा अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार विजेतालाई सम्मान गर्न आयोजित समारोहमा उनीहरुसँग भेट गरेकी हुन्।
उपमन्त्री जियाले लागतार दुई नेपाली महिलाले अन्तर्राष्ट्रिय साहसिक महिला अवार्ड प्राप्त गर्नेलाई भेट्न पाउनु अपवादमा हुने उपलब्धी भएको भन्दै मुस्कान र भूमिकाले देखाएको साहसको प्रशंसा गरेकी छन्।
मुस्कान र भूमिकालाई अमेरिकी विदेश मन्त्रालयले सन् २०२१ र २०२२ मा प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिएको थियो।
उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि सहभागी थिइन्। भारतको तीन दिने भारत भ्रमण सकेर जिया शुक्रबार साँझ काठमाडौं आइपुगेकी हुन्।
करिब १० वर्षपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यसअघि सन् २०१२ मा उपमन्त्री वेन्डी शेरमान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए।
उपमन्त्री जियाले काठमाडौं ओर्लिएलगत्तै ट्विटर गर्दै सुन्दर नेपालमा आउन पाउँदा उत्साहित भएको बताएकी छन्। राजदूत बेरीसँगको फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, 'यूएसआईडीका एसिया उपसहायक प्रशासक अन्जली कौरसँग सुन्दर नेपालमा आउन पाउँदा खुसी छु। यहाँ अमेरिका-नेपालको बलियो सम्बन्ध र सबैका लागि लोकतन्त्र र मानवअधिकारका विषयमा छलफल गर्नेछौं।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जियालाई परराष्ट्र मन्त्रालयका अधिकारी र काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका हुन्। उनले शनिबार र आइतबार काठमाडौंमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी छन्। दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष चलिराखेको सन्दर्भमा भ्रमणको आदानप्रदान भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
भारतमा रहँदा दुई दिन उनले तिब्बती धर्म गुरु रहेको धर्मशालामा बिताएकी थिइन्। धर्मशाला पुगेर निर्वासनमा रहेको तिब्बती सरकारका प्रतिनिधि र दलाई लामासँग गरेको भेटप्रति चीनले आक्रोश व्यक्त गरेको छ।