आइतबार, वैशाख १६, २०८१

एमालेलाई पत्याएन सहरले

हामीले सहरी क्षेत्रका मतदाताको भावना के छ भनेर सही ढंगले आँकलन गर्न सकेनौं। यसको समीक्षा गर्नुपर्छ। उम्मेदवारी चयनमा तल हरेक तहमा संस्थागत छलफल गरिनुपर्थ्यो त्यसमा पनि कमजोरी भयो।
 |  शुक्रबार, जेठ ६, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचनको मत परिणाम नेकपा एमालेको पक्षमा आएन। ०७४ सालको निर्वाचनमा २९४ स्थानीय तह जितेको एमाले यसपटक २ सयको हाराहारीमा समेटिने देखिएको छ। पछिल्लो नतिजा अनुसार एमालेले १८५ तह जितेको छ भने १८ तहमा अग्रता लिइरहेको छ। यसअघि २६६ तह जितेको कांग्रेसले यसपटक करिब ३३० तह भन्दा बढी जित्‍ने देखिएको छ। कांग्रेसले अहिलेसम्म २९८ तह जितिसकेको छ भने २४ तह जित्ने देखिएको छ। अर्थात यसपटकको निर्वाचनमा कांग्रेस दोस्रोबाट पहिलोमा उक्लिँदा एमाले पहिलोबाट दोस्रोमा झर्ने भएको छ।  

triton college

पहिलोबाट दोस्रो दल बन्‍नु एमालेका लागि आफैंमा घाटा हुँदै हो। त्योबाहेक सहरी क्षेत्रमा पकड गुमाउनु झन ठूलो धक्का लाग्‍नु हो। यसपटक एमाले सहरी क्षेत्रबाट करिब करिब बढारिएको छ। सहरी क्षेत्रमा अहिले लागेको धक्काले यही बर्ष हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा पनि ठूलो अर्थ राख्नेछ। किनकी जनघनत्व भएका सहरी क्षेत्रले धेरै हदसम्म आगामी दुई तहका आगामी निर्वाचनमा दलहरुको शक्ति सन्तुलनको निर्धारण गर्नेछ। ०७४ सालको स्थानीय निर्वाचनमा एमालेले देशभरका ६ महानगर मध्ये २ वटामा विजयको झन्डा गाडेको थियो। देशको राजधानी रहेको काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकामा एमाले विजयी भएको थियो। तर यसपटक महानगरमा एमाले निल हुने देखिएको छ। मतगणना जारी रहेका ६ वटै महानगरमा एमालेका उम्मेदवार प्रतिस्पर्धी भन्दा निकै पछाडी देखिएका छन्। यसअर्थमा एमालेले महानगरमा आफ्नो पकड गुमाउने देखिएको छ। 

देशभरका ११ उपमहानगरपालिकामा समेत एमालेले यसपटक धक्का व्यहोरेको छ।  ०७४ सालको निर्वाचनमा एमालेले धरान, इटहरी, जितपुर सिमरा, हेटौंडा, तुलसीपुर, घोराही र बुटवल उपमहानगर गरी सात उपमहानगरमा जित निकालेको थियो। भलै धरानका मेयर तारासुब्बाको निधन पछि भएको निर्वाचनमा एमालेले धरान गुमाएको थियो। 

यसपटक भने एमाले २ उपमहानगरमा मात्रै सिमित हुने देखिएको छ। यद्यपि एक उपमहानगरमा कांग्रेस एमालेका उम्मेदवारबीच कडा टक्कर चलिरहेको छ। एमालेले यसपटक घोराही उपमहानगर जोगाएको छ भने कलैया उपमहानगर थपेको छ। जितपुर सिमरा र हेटौंडा एमालेले गुमाइसकेको छ भने इटहरी र बुटवल उपमहानगर गुमाउने देखिएको छ। तुलसीपुरमा मतगणना जारी छ। यहाँ एमाले र कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ।

त्यसो त उपत्यकाका तीन जिल्लामा समेत एमालेले आफ्नो पकड गुमाएको छ। उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तह मध्ये एमालेले अघिल्लो पटक १२ स्थानीय तहमा जित निकालेको थियो। तर अघिल्लो पटक जितेका १२ मध्ये ८ पालिका गुमाउने देखिएको छ। यसपटक चार पालिका गुमाएर एक पालिका थप्दा उपत्यकामा एमालेले ५ पालिकामा सिमित हुने देखिएको छ।  

corrent noodles
Metro Mart

एमालेले सहरी क्षेत्रमा धक्का व्यहोर्नुको कारण के हो? एमालेले यसलाई कसरी विश्लेषण गरिरहेको छ त? सचिव गोकर्ण विष्ट भन्छन्- यो एमाले विरुद्ध बनाइएको गठबन्धनको उपज हो। पार्टीले सहरी मनोविज्ञान बुझ्न नसकेको परिणामकारुपमा समेत विष्टले यसलाई व्याख्या गरे। सहरी क्षेत्रका जनताको भावना बुझ्न नसक्दा धक्का व्यहोर्नुपरेको उनी बताउँछन्। 

'सहरी क्षेत्रको परिणाम हाम्रो पक्षामा नआउनुको पहिलो कारण त एमाले विरुद्धको गठबन्धन नै हो। अर्को कारण हामीले सहरी जनमतको मनोविज्ञानलाई बुझ्न सकेनौं। त्यसलाई क्यास गर्न सकेनौं,' विष्टले भने।  

उनले सहरी क्षेत्रका मतदातामा पार्टीहरुप्रति वितृष्णा बढेको देखिएकाले थप मेहनत आवश्यक देखिएको तर्क गरे। 'सहरी क्षेत्रमा पार्टीहरु प्रतिको वितृष्णा बढिरहको यो मत परिणामले देखाएको छ। अब दलहरुप्रति जनताको आकर्षण बढाउन थप महेनत गर्न आवश्यक छ,' उनले भने, 'हाम्रो कुरा गर्ने हो भने हामीले सहरी क्षेत्रका मतदाताको भावना के छ भनेर सही ढंगले  आँकलन गर्न सकेनौं। यसको समिक्षा गर्नुपर्छ। उम्मेदवारी चयनमा तल हरेक तहमा संस्थागत छलफल गरिनुपर्थ्यो त्यसमा पनि कमजोरी भयो।'

कहाँ कस्तो छ अवस्था ?

महानगरपालिको नेतृत्वबाट आउट 

०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका थिए। यसपटक भने एमालेले काठमाडौं महानगर गुमाउने सक्ने देखिएको छ। जारी मत परिणाम अनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रस्थानमा छन्। एमाले उम्मेदवार केशव स्थापति दोस्रो स्थानमा छन्। तर शाह स्थापित भन्दा भारी मतले अघि छन्।  

ललितपुर महानगरपालिकामा अघिल्लो पटक कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका थिए। जारी मतगणनामा पनि महर्जनले अग्रता कायम राखेका छन्। अघिल्लो पटक करिब साढे तीन सय मतले पराजित भएको एमाले अहिले ठूलो मतान्तरले पराजित हुने देखिएको छ।  

अघिल्लो निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर एमालेले जितेको थियो। मानबहादुर जिसी मेयरमा निर्वाचित भएका थिए। तर यसपटक एमालेले पोखरा महानगर गुमाउने देखिएको छ। जारी मतगणनामा एमाले उम्मेदवार कृष्ण थापा भन्दा नेकपा एकिकृत समाजवादीका धनराज आचार्य अघि देखिएका छन्। एमाले भित्रको किचलो र सत्ता गठबन्धनका दलहरुबीचको तालमेलले पोखरा एमालेको पन्जाबाट फुत्कने देखिएको छ।  

भरतपुर महानगरपालिका ०७४ सालमा माओवादी केन्द्रले जितेको थियो। यसपटक पनि भरतपुर एमालेले माओवादीबाट खोस्न नसक्ने देखिएको छ। निवर्तमान मेयर रेणु दाहालले निरन्तर अग्रता कायम गरेकी छन्। एमाले उम्मेदवार विजय सुवेदीले उनलाई पछ्याइरहेका छन्।  

वीरगञ्ज महानगरपालिकामा अघिल्लो पटक जनता समाजवादी पार्टीले जितेको थियो। अहिले पनि जसपाले नै जित्ने करिब पक्का भएको छ। जसपाबाट मेयर जितेका विजय सरागवीलाई निर्वाचनका मुखमा पार्टी प्रेवश गराएर एमालेले टिकट दिएको थियो। तर सरावगी जसपाका राजेशमान सिंह भन्दा भारी मतले पछाडी परेका छन्। 

विराटनगर महानगरपालिकामा अघिल्लो पटक कांग्रेसका भीम पराजुली निर्वाचित भएका थिए। अहिले पनि विराटनगरमा कांग्रेस नै विजयी हुने देखिएको छ। कांग्रेसका नागेश कोइरालाले अग्रता बढाउँदै लगेका छन्। एमालेका सागरकुमार थापाले कोइरालालाई पछ्याइरहेका छन्।  

उपमहानगरमा पनि एमाले किनारा

धरान उपमहानगरपालिकाको मेयरमा २०७४ सालमा एमालेका तारा सुब्बा निर्वाचित भएका थिए। तर सुब्बाको निधनभएपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले एमालेबाट धरानको नेतृत्व खोसेका थिए। अहिले पनि धरानमा एमालेले कमब्याक गर्ने सम्भावना छैन। जारी मतगणनामा कांग्रेसका किशोर राई र स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङबीच प्रतिस्पर्धा भइरहेको छ। एमालेकी मञ्जु भण्डारी तेस्रो स्थानमा छिन्।  

इटहरी उपमहानगरपालिकाको मेयरमा ०७४ सालमा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए। तर यसपटक एमालेले इटहरी गुमाउने देखिएको छ। जारी मतगणनामा कांग्रेसका हेमकर्ण पौडेलले अग्रता कायम गरेका छन्। एमालेका यामकुमार सुब्बाले पौडेलालाई पछ्याइरहेका छन्। दुईबीच करिब तीन हजार मतको मतान्तर छ। 

जनकपुर उपमहानगरपालिकामा ०७४ सालमा जसपाका लालकिशोर साह निर्वाचित भएका थिए। अहिले कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता कायम गरिरहेका छन्।  एमालेका शीवशंकर शाहले उनलाई पछ्याइरहेका छन्। 

कलैया उपमहानगरपालिका यसपटक एमालेले थप्ने देखिएको छ। एमालेका विनोदप्रास शाहले अग्रता कायम गरेका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसका राजेश यादवले जितेका थिए। 

जितपुर सिमरा उपमहानगरपालिका यसपटक एमालेले गुमाएको छ। अघिल्लो निर्वाचनमा यो उपमहानगरको मेयरमा एमालेका डा कृष्ण पौडेल विजयी भएका थिए। यसपटक एमालेको हातबाट नेकपा माओवादी केन्द्रका राजन पौडेलले उपमहानगरको नेतृत्व खोसेका छन्। 

हेटौंडा उपमहानगरपालिका यसपटक एमालेले गुमाएको छ। अघिल्लो निर्वाचनमा एमालेका हरिबहादुर महत मेयरमा विजयी भएका थिए। अहिले हेटौंडाको मेयरमा एकिकृत समाजवादीकी मीना कुमारी लामा निर्वाचित भएकी छन्। 

घोराही उपमहानगरपालिका एमालेले जोगाएको छ। घोराहीको मेयरमा दोस्रो कार्यकालका लागि एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन्। 

तुलसीपुर उपमहानगरपालिकामा अहिले मतगणना जारी छ। जारी मतगणना अनुसार एमालेका टिकाराम खड्का र कांग्रेसका गेहेन्द्र गिरीबीच कडा टक्कर चलिरहेको छ। एमालेका खड्काले अग्रता लिएका छन्। तर उनीहरुबीचको मतान्तर २ अंकको मात्रै छ। अघिल्लो निर्वाचनमा तुलसीपुरको मेयरमा एमालेका घनश्याम पाण्डे विजयी भएका थिए। 

बुटवल उपमहानगरपालिका यसपटक एमालेले गुमाउने देखिएको छ। अघिल्लो पटक बुटवलको मेयरमा एमालेका शिवप्रसाद चौधरी निर्वाचित भएका थिए। अहिले कांग्रेसका खेलराज पाण्डेय विजयी हुने देखिएको छ। एमालेका बाबुराम भट्टराईले पाण्डेयलाई पछ्याइरहेपनि उनीहरुबीच मतान्तरको ठूलो खाडल छ।  

नेपालञ्ज उपमहानगरपालिकामा अघिल्लो पटक राप्रपाका धवलशम्शेर जबरा निर्वाचित भएका थिए। यसपटक कांग्रेसका प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका छन्। एमालेका पशुपति दयाल मिश्र दोस्रो बनेका छन्।   

धनगढी उपमहानगरपालिकामा अघिल्लो निर्वाचनमा कांग्रेसका नृपबहादुर वड निर्वाचित भएका थिए। तर अहिले उनै वडलाई हराउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित हुने देखिएको छ। एमालेका उम्मेदवार रणबहादुर चन्द तेस्रो स्थानमा छन्।  

काठमाडौं उपत्यकाका तीन जिल्लाको अवस्था 

काठमाडौंका दुई नगरमा सीमित

काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये एमालेले २ नगरपालिका जितेको छ। बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकामा एमाले विजयी भएको छ। अघिल्लो पटक ६ नगरपालिका जितेको एमालेले यसपटक ४ नगरपालिका गुमाएको छ।

अघिल्लो निर्वाचनमा एमालेले जितेको कागेश्वरी मनोहरा नगरपालिका यसपटक गुमाएको छ। ०७४ सालमा यो नगरपालिकाको मेयरमा एमालेका कृष्णहरी थापा विजयी भएका थिए। अहिले उनी नेकपा एकिकृत समाजवादीबाट उठेर पराजित भए। अहिले यो नगरपालिकामा कांग्रेसका उपेन्द्र कार्की विजयी भए।  

यसपटक एमालेले किर्तिपुर नगरपालिका समेत गुमाएको छ। ३० बर्षपछि कांग्रेसले जित निकालेको किर्तिपुरको मेयर राजकुमार नकर्मी बनेका छन्। अघिल्लो पटक एमालेका रमेश महर्जन विजयी भएका थिए। 

एमालेले टोखा नगरपालिका भने जोगाउन सफल भएको छ।  टोखाको मेयरमा प्रकाश अधिकारी विजयी भएका छन्। उनी दोस्रो पटक टोखाको मेयर बनेका हुन्।  

यसपटक एमालेले तारकेश्वर नगरपालिका गुमाएको छ। अघिल्लो निर्वाचनमा तारेकेश्वरको मेयरमा एमालेका रामेश्वर बोहरा निर्वाचित भएकोमा यसपटक कांग्रेसका कृष्णहरी महर्जन विजयी भएका छन्। 

एमालेले बुढानिलकण्ठ नगरपालिका जोगाएको छ। बुढानिलकण्ठको मेयरमा मिठाराम अधिकारी विजयी भएका छन्। एमालेले यसपटक शंङ्खरापुर समेत गुमाएको छ। यो नगरपालिकाको मेयरमा अहिले राप्रपाका रमेश नापित विजयी भएका छन्। अघिल्लो निर्वाचनमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका थिए।

गोकर्णेश्वर नगरपालिकामा यसपटक पनि कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा कांग्रेसका दिपककुमार रिसाल विजयी भएका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसकै सन्तोष चालिसे निर्वाचित भएका थिए।

दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। चन्द्रागिरी नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम गिरी दोस्रो पटक निर्वाचित भएका छन्।

यो नगरपालिकामा अहिले मतगणना जारी छ। मतगणना अनुसार कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता कायम गरिरहेका छन्। अघिल्लो निर्वाचनमा पनि बस्नेत नै मेयरमा निर्वाचित भएका थिए। 

भक्तपुरमा दुई नगरपालिका गुमायो 

चाँगुनारायण नगरपालिका यसपटक एमालेले गुमाएको छ। अघिल्लो निर्वाचनमा चाँगुनारायणको मेयरमा एमालेका सोम मिश्र विजयी भएकोमा अहिले कांग्रेसका जीवन खत्री विजयी भएका छन्।  

मध्यपुर थिमी नगरपालिका पनि कांग्रेर गुमाएको छ। यो नगरपालिकाको मेयरमा अघिल्लो निर्वाचनमा एमालेका मदनसुन्दर श्रेष्ठ विजयी भएका थिए। अहिले उनै श्रेष्ठलाई पराजित गरेर कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन्।  

एमालेले सूर्य विनायक नगरपालिका भने जोगाएको छ। नगरपालिकाको मेयरमा  दोस्रो कार्यकालका लागि वासुदेव थापा मेयरमा निर्वाचित भएका छन्। भक्तपुर नगरपालिकाको मेयरमा नेमोकिपाका सुनिल प्रजापती दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। 

ललितपुरमा पनि नाजुक 

अघिल्लो पटक पनि जितेको एमालेले महालक्ष्मी नगरपालिका जोगाउने सक्ने देखिएको छ। अघिल्लो पटक नगरपालिकाको मेयरमा रामेश्वर श्रेष्ठ विजयी भएका थिए। अहिले हरिगोविन्द श्रेष्ठले अग्रता कायम गरिरहेका छन्।  

गोदावरी नगरपालिकाको मेयरमा कांग्रेसका गजेन्द्र महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। एमालेले यसपटक महांकाल गाउँपालिका गुमाएको छ। अघिल्लो निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहाल निर्वाचित भएकोमा यसपट कांग्रेसका गणेश केसी निर्वाचित भएका छन्। 

कन्ज्योसोम गाउँपालिका भने एमालेले यसपटक थपेको छ। अघिल्लो निर्वाचनमा माओवादीका गोपिलाल स्याङतान विजयी भएकोमा यसपटक एमालेका कृष्णमान लामा निर्वाचित भएका छन्। बागमती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बीरबहादुर लोप्चन दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।


प्रकाशित: May 20, 2022| 20:46 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...