काठमाडौं– यही बुधबार साँझ एक १६ वर्षीया किशोरीले १० वटा टिकटक भिडियोमार्फत आफूले ८ वर्षअघि भोगेको यौन शोषणको डरलाग्दो अनुभव सार्वजनिक गरिन्। आफू ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४’ को ‘फर्स्ट रनर–अप’ हुँदा प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालकले आफूमाथि जबर्जस्ती करणी गरेपछि त्यसबीचमा दुईपटक आत्महत्या प्रयास गरेकोसम्म उनले खुलेर सुनाइन्।
गहभरि आँशु पार्दै उनले भनेकी छन्, ‘कुनै पनि कार्यक्रम भइसकेपछि त्यसको सक्सेस पार्टी गरिन्छ। म पनि तयार भएँ। भेन्यू थियो एभरेष्ट होटल। म गएँ। कोही मान्छेहरु आएको थिएन। म पर्खिरहेँ। त्यो व्यक्ति (सञ्चालक)ले मलाई ‘तिमी चाँडै आयौ, पार्टी ६–७ बजेबाट सुरु हुन्छ’ भन्दै थम्थमायो। त्यसपछि वेलकम ड्रिंक भन्दै लेमोनेड विथ आइस खान अफर गर्यो। मैले पिएँ। त्यसको १०–१५ मिनेटपछि मलाई रिंग्यायो। त्यसपछि मैले त्यो यौन दूराचारीलाई ‘म घर जान चाहन्छु। सन्चो भएन’ भनेँ। तर, उसले मलाई ‘तिमी विजेता भएर यस्तो गर्ने’ भन्दै एकदमै गाली गर्यो। मलाई सही लाग्यो। त्यसपछि उसले ‘आज पार्टीमा ड्रिंक भएकाले केटीहरुलाई यस्तै गाह्रो होला भनेर बेग्लै कोठा लिएर राखेको छु, तिमी त्यहीँ गएर आराम गर। सबैजना आएपछि तिमीलाई कसैलाई उठाउन पठाउँछु’ भन्यो।
‘त्यसपछि म कोठामा गएँ। मलाई याद भएसम्म त्यसले मसँग शारीरिक सम्बन्ध राखिरहेको थियो। तर मेरो होस घरिघरि मात्रै आइरहेको थियो। म उसले मसँग सम्बन्ध राखिरहेको थाहा पाइरहेको थियो। मलाई एकदम दुखिरहेको थियो। जब साढे चार–पाँच बज्यो, त्यतिबेला मेरो होस खुल्यो। त्यतिबेला त्यो व्यक्ति मेरो छेउमा नाङ्गै सुतिरहेको देखें। ओछ्यानमा रगत थियो। म आत्तिएँ, ठूल्ठूलो आवाजमा रुन थालेँ। तर, त्यो मान्छेले ‘मैले तिम्रो ब्यागमा २० हजार हालिदिएको छु, तिमी यो पैसा राख। तिमीलाई पैसा चाहिएको थियो, त्यसैले तिमीले मलाई शारीरिक सम्बन्ध राख्न भन्यौ’ भनेर मलाई म्यानिपुलेट गर्यो। म ढोकाको अगाडि उभिरहेको थिएँ, ढोका बन्द थियो। म घरि त्यो व्यक्तिलाई हेरिरहेको थिएँ, घरि पैसालाई त घरी ऐनामा हेरिरहेको थिएँ। मसँग के भयो भन्ने कुरामाथि मलाई विश्वास लागिरहेको थिएन। किनभने म पढेलेखेको केटी थिएँ, त्यसैले म पनि बलात्कृत हुन सक्छु भन्ने कुरामा मलाई रत्तिभर विश्वास लागिरहेको थिएन।’
यतिमात्रै होइन किशोरीका अनुसार उनले ‘आफूसँग तिम्रो नाङ्गो फोटो–भिडियो छ, कसैलाई भन्यौ भने सार्वजनिक गर्दिन्छु’ भन्दै निरन्तर ६ ब्ल्याकमेल गर्दै लगातार करणी गरेको आरोप पनि लगाएकी छिन्। आफूमात्रै नभएर आफ्नो साथीलाई समेत सुत्न लगाएको उनको दाबी छ।
आफूले भोगेको यौनशोषणको विस्तृत कथासहित उनले २० वटा भिडियो क्लिप टिकटकमा सार्वजनिक गरेपछि यतिबेला यो विषय सामाजिक सञ्जालदेखि संसदसम्म जोडले उठिरहेको छ। तर, अहिलेसम्म घटनाका आरोपी खुलेआम हिँडिरहेका छन्।
अनि, सर्वत्र प्रश्न उठिरहेको छ– ‘बालेन शाहको चुनावी हारजितलाई लिएर खसीको बाजी राख्ने युवकलाई तत्काल समात्ने प्रहरी बलात्कारजस्तो जघन्य अपराधको घटना बाहिर आउँदा पनि किन चुप लागेर बसिरहेको छ?’
हामीले पनि यही जिज्ञासा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्तराज कुँवरसँग राख्दा उनले आफूहरु चुप लागेर नबसेको बताए। ‘हामी मौन छैनौं, यो प्रकरणलाई पूरै गम्भिरताका साथ लिइरहेका छौं,’ नेपाल समयसँग उनले भने, ‘हिजोदेखि नै पीडितसँग सम्पर्क गर्न खोजेका थियौं। बल्ल केही बेरअघि उहाँको घरमै सम्पर्क भयो। महिला अधिकृतसहितको हाम्रो टोलीले उहाँलाई काउन्सेलिङ गरेको छ।’ कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा प्रहरी टोली पीडितको घरमा पुगेको हो।
कुँवरका अनुुसार घटनाका आरोपी मनोज पाण्डे पनि प्रहरीको निगरानीमै छन्। उनी कतै ‘भाग्ने चान्स’ छैन। तर, हाम्रो कानुनमा जबर्जस्ती करणीको मुद्दामा उजुरी तथा जाहेरीको हदम्याद १ वर्षमात्रै भएकाले कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई बाधा पुगिरहेको छ। ‘कानुनी व्यवस्था र सम्भावनाका विषयमा हामीले महान्यायाधिवक्ताको कार्यालयमै गएर परामर्श पनि लियौं तर हदम्याद बाधक नै पाइयो,’ उनले भने, ‘यद्यपि हामी यो केसलाई त्यत्तिकै छाड्ने पक्षमा छैनौं। त्यसैले पीडितसँग सम्पर्कमा पुग्यौं। आरोपीलाई निगरानीमै राखेका छौं। के गर्न सकिन्छ, कानुनी सम्भावनाहरुको खोजी गरिरहेका छौं।’
प्रहरीले आरोपीलाई पक्राउ नै गरेपनि ८ वर्षअघिको केसमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट म्याद थप गराउन नै असहज हुने प्रहरीको भनाइ छ।
महान्यायाधिक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पनि जबर्जस्ती करणीको मुद्दामा १ वर्षे हदम्यादका कारण ८ वर्षअघिको मुद्दामा तत्काल कानुनी प्रक्रिया अघि बढाउन असहज हुने स्वीकारे। ‘यद्यपि यो घटना नजरमा नै छ,’ उनले भने, ‘घटनासँग सम्बन्धित व्यक्ति वा उसका नजिकका मान्छे कसै न कसैलाई उजुरी या निवेदन दिनैपर्छ। सामाजिक सञ्जालबाट बाहिरिएको घटना भएकाले यत्तिकै प्रचलित कानुनअनुसार केही गर्न मिल्दैन। उजुरी या जाहेरी आएपछिमात्रै कानुनी प्रक्रिया अघि बढाउन मिल्छ।’