जनकपुरधाम- दक्षिण एसियाकै दुई मुलुक जोड्ने पहिलो जनकपुर–जयनगर रेलको सफल परीक्षण गरिएको छ । ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको जयनगर–जनकपुर रेल सेवाको बुधबार भारतीय पक्षले सफल परीक्षण गरेको हो ।
भारतीय पक्षले नेपाल भू-खण्डको जयनगर रेलवे स्टेसनबाट खजुरी सम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेलवेका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिएका छन् ।
जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेसन सम्म पुगेको थियो । उक्त रेल खण्डमा आवश्यक भएको स्थानमा ब्लास्ट ओछाउने कार्यसमेत भएको ओझाले बताए ।
‘इन्जिनसहित ५३ वटा बोगी लिएर आएको मालबाहक गाडीको परीक्षण गरिएको छ,’ नेपाल समयसँग कुराकानी गर्दै ओझाले भने,‘पहिलो पटक इन्जिनसहित आएको मालबाहक रेलको परीक्षण सफल भएको छ ।’
भारतीय पक्षबाट गरिएको सफल परीक्षण पछि रेल सञ्चालनमा अब ज्यादै द्धिविधा नहुने उनको विश्वास छ । भारतीय पक्षले गरेको रेल परीक्षण हेर्न त्यस क्षेत्रका स्थानीयवासीहरुको ठुलो संख्यामा भिड जुटेको थियो । दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेलवे स्टेसनमासमेत नयाँ बनेको ब्रोडगेजमा परीक्षण हेर्नेको भिड जम्मा भएको थियो ।
भारत सरकारको सात सय करोडको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ । कुर्थासम्मको रेल खण्डमा पुलपुलेसा, रेलवे स्टेसन, हल्ट लगायतका निर्माण कार्य करिब करिब सम्पन्न भइसकेको छ । सिभिलतर्फका अन्य केहि बाँकी सम्पन्न भए लगत्तै अक्टोबरको अन्त्य वा डिसेम्बरको पहिलो साताबाट रेल सेवा सञ्चालन हुने साइट इन्जिनियर ओझाले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४