काठमाडौं- सनराइज बैंकले देशभरका ८४ वटा निजी अस्पतालहरुसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजनाअन्र्तगत विशेष सेवा दिने उद्देश्यका साथ बैंकले अस्पतालहरुसंग सम्झौता गरेको हो ।
जसअनुसार बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् । तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्षसम्मको लागि भिसा कार्ड निःशुल्क प्रदान गरेको छ ।
यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ ।
उल्लेखित छुटबाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकबाट १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुबिधा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । यी सबै बीमा सुबिधाहरु बैंकका ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४