सुर्खेत- जाजरकोटमा गत २० गते गएको पहिरोबाट विस्थापित भएका पीडितहरु वृद्धाश्राममा आश्रय लिन बाध्य भएका छन् । पहिरोले घर बगाएपछि गोपाल सुनार र तिर्थ बोहोराको परिवार हाल खलंगास्थित बृद्धाश्राममा बसेका हुन् ।
उनीसँगै पहिरोको उच्च जोखिममा रहेका कमिरो नेपाली, आश्विर नेपाली लगायतका ६ घरपरिवार वृद्धाश्राममा बस्दै आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । त्यस्तै पहिरोको सामान्य जोखिममा रहेका प्रेमबहादुर शाही, दिपेन्द्र पुन र मोहन केसीको परिवार भने आफन्तको घरमा शरण लिन पुगेका छन् ।
मृतकका आफन्तलाई राहत
जाजरकोटमा यही २० गते आएको बाढीले ज्यान गुमाएका आफन्तहरुलाई सरकारले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत प्रति मृतक एक÷एक लाखका दरले आठ लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी बस्नेतले दिएको जानकारी अनुसार तीन छोरी र श्रीमती गुमाएका लालबहादुर लुहारलाई चार लाख र अन्यलाई एक÷एक लाख गरी जम्मा आठ लाख रकम राहत उपलब्ध गराइएको हो । त्यस्तै बाढीले घर बगाएका गोपाल सुनार र तिर्खराज बोहोरालाई दश/दश हजार राहत रकम उपलब्ध गराइएको छ ।
बाढीबाट मृत्यु भएका ८ जनाका परिवारलाई कर्णाली प्रदेश सरकारले समेत गत २१ गते प्रतिपरिवार २५ हजार नगद, खाद्यान्न र आवश्यक लत्ताकपडा उपलब्ध गराई सकेको छ । पहिरोबाट भेरी नगरपालिका वडा नं ६ का लालबहादुरकी श्रीमति शितली लुहार, छोरीहरु रन्जना लुहार, मनिषा र भगवती लुहार, कुशे गाउँपालिका वडा नं ५ जाजरकोटका दशरथ परियार, कुशे गाउँपालिका वडा नं ६ नरेन्द्र परियार र नविन परियारले ज्यान गुमाएका थिए ।
भेटिएनन् गोविन्द
सोही पहिरोमा परी बेपत्ता भएका कुशे गाउँपालिका–५ का ८ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् । पहिरो गएको तीन दिनवितिसक्दा पनि गोविन्दलाई भेटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । उनको खोजीमा मात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३ सय ५० बढी सुरक्षाकर्मी घटनास्थलमा खटाइएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४