काठमाडौं– अर्को महिनादेखि लागू हुने थाइल्याण्डको नयाँ नीतिअनुसार सरकारले देशभरका जनतालाई दश लाख गाँजाका बोट वितरण गर्ने भएको छ। लघु–व्यापार तथा व्यक्तिगत प्रयोगका लागि थाइ सरकारले गाँजा खेती खुला गर्न लागेको हो।
थाइल्यान्डका स्वास्थ्यमन्त्री अनुतिन चार्नविराकुलले गाँजालाई घरायसी बिरुवा जसरी नै रोप्न सक्ने बनाउने आफ्नो सोच रहेको केही दिन अघिमात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। पश्चिमी राष्ट्रहरु गाँजासम्बन्धी नीतिका लागि विस्तारै उदार हुँदै जाँदा थाइल्यान्डको यस्तो कदमले एसियाली मुलुकहरुमा थाइल्यान्ड गाँजा उद्योगको हब बन्ने लगभग निश्चित नै छ।
यस नयाँ नीति अनुसार गाँजाको दुर्व्यसन र रमाइलोका लागि प्रयोग भने गैरकानुनी नै ठहरिनेछ। पर्यटकका साथमा गाँजा फेला परेमा तिनलाई १५ वर्षसम्म जेल सजाय हुन सक्नेछ।
त्यसो त कुनै समय नेपाललाई गाँजाको स्वर्ग भनेर चिनिन्थ्यो। विश्वभर ‘हिप्पी प्याराडाइज भनेर चिनिएको नेपालमा कसरी यसको प्रयोग अवैध भयो?
सन् १९६० को दशकपछि विश्वभरका युवामा नयाँ ठाउँको खोजीमा हिँड्ने लहर चलेको थियो। शान्त तथा मनोरम स्थानहरुको खोजी गर्ने क्रममा नेपाल आइपुगेका पर्यटकहरुका लागि काठमाडौँ अति उत्तम स्थान हुन पुग्यो। किनभने यहाँ गाँजा, चरेसजस्ता वस्तुको बिक्रीवितरण तथा सेवन खुला थियो।
नेपालमा सगरमाथाजस्ता अग्ला हिमाल त थिए–छन् नै, उत्कृष्ट गाँजा पनि पाइन्थ्यो। गाँजा–भाङमा लट्ठ भएर नेपालको सुन्दरतामा मग्न हुनु पर्यटकका लागि स्वर्गीय आनन्द थियो।
सन् १९६५ तिर ‘सिल्क रोड’ हुँदै दशौँ हजार पश्चिमाहरु नेपाल भित्रिए। सिल्क रोड एक प्राचीन व्यापारिक मार्ग थियो, जसले पश्चिमी विश्वलाई एसियासँग जोडेको थियो। त्यस मार्गलाई हिप्पी ट्रेल पनि भन्न थालियो।
युद्धपछिको राजनीतिक तथा मानसिक तनावबाट मुक्ति खोज्ने क्रममा टर्कीको इस्तानबुल हुँदै काठमाडौँ छिर्ने यात्रीहरु (हिप्पी) को गन्तव्यस्थल काठमाडौँ दरबार स्क्वायर छेउको झोँछे बनेको थियो। झोँछेलाई तिनै हिप्पीहरुले नामाकरण गरी ‘फ्रिक स्ट्रीट’ भन्न थाले।
छोटो समयमै झोँछे (फ्रिक स्ट्रीट) काठमाडौँभित्रको सानो क्षेत्रका रुपमा मात्र सीमित नभई लगभग विश्वभर नै चिनिने ब्रान्ड बन्न पुग्यो। किनभने फ्रिक स्ट्रीटमा रहेका ससाना पसलहरुमा गाँजा बिक्री हुन्थ्यो। दरबार परिसरमा खुला रुपमा गाँजा सेवन गर्न पाइन्थ्यो।
बिस्तारै रङ्गीविरङ्गी कपडा र मुहार भएका हिप्पीहरुले झकिझकाउ बन्न थाल्यो काठमाडौँ। खासै पहिचान नभएको नेपाल अब विश्वसामु चिनिने सम्भाव्यताको निर्माण फ्रिक स्ट्रीटले गरिदियो। हिप्पी एरा (युग) भनेर चिनिने सन् १९६५ देखि सन् १९७३ सम्मको अवधिमा नेपालमा अनेक प्रकारका विदेशी भित्रिए। विश्व प्रसिद्ध लेखक, कलाकार, दर्शनशास्त्रीको गन्तव्य बन्यो नेपाल। त्यसरी नै हिप्पीहरुले नेपाली कला, संगीत तथा साहित्यिक विकासमा पनि ठूलो योगदान पुर्याए।
अधिकांश वस्तु तथा क्रियाकलापमा प्रतिबन्ध लगाउने राजा महेन्द्रले हिप्पीको आवागमन तथा गाँजा, चरेस आदिको बिक्रीवितरणमा चाहिँ किन रोक लगाएनन् त? यो प्रश्न अझै अनुत्तरित नै छ।
यसरी बाहिरबाट आउने पर्यटकको लाम दिनानुदिन बढ्न थालेपछि नेपाल आर्थिक तथा सामाजिक रुपमा पनि फस्टाइरहेको थियो। तर यो सबै धेरै समय चलिरहन पाएन। तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनलाई पश्चिमका युवाहरु आफ्नो समाजदेखि टाढा पूर्व आएर लागू औषधमा लठ्ठ भएको मन परिरहेको थिएन। उनले यो रोक्नका लागि पहल सुरु गरे।
निक्सनको विचारमा गाँजा, चरेस र समलिङ्गी एउटा मजबुत समाजका दुस्मन थिए। राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने मौलाउँदै गरेको साम्यवाद रोक्ने उनको यो असफल प्रयास मात्र थियो। सन् १९७२ मा निक्सनले गाँजा इत्यादिको बिक्रीवितरण तथा सेवनमा छुट दिने कुनै पनि राष्ट्रलाई अमेरिकाले सैन्य, आर्थिक वा अन्य प्रकारका सहयोग नगर्ने घोषणा गरे।
अनि भयो हिप्पी युगको अन्त्य
अमेरिकी दबाबका कारण नेपाल हिप्पी युगको अन्त्यतिर आइसकेको थियो। विस्तारै प्रहरीले गाँजाका बोट मास्न थाले। सरकारको यो कदम देखेर नेपाली जनता वा हिप्पी कोही खुसी थिएनन्। दुवै पक्ष रुष्ट थिए सरकारसँग।
हिप्पीहरुलाई देश प्रवेशबाट रोक लगाउन नेपाल सरकारले अनेक कदम चाल्न थाल्यो। लामो दारी, कपाल, कपडा भएका व्यक्तिहरुलाई प्रवेशाज्ञा (भिषा) दिन रोक लगाइयो। तर यो सबै प्रयासका बाबजुद केही सालसम्म नेपालमा हिप्पीहरुको क्रियाकलापले निरन्तरता पाइरह्यो। लामो कपाल हुनेलाई प्रवेशाज्ञा दिइन्न थियो, तर उनीहरु कपाल खौरेर नेपाल छिर्थे, यहीँ आएपछि कपाल पाल्थे।
हिप्पी राजधानीलाई सरकारको घोषणाले अन्त्य गरिदिएपछि यहाँ रहेका हिप्पी तथा नेपाली दुवैमा अलि चिन्ता बढेको देखिन्छ। उपरखुट्टी लगाएर जर्मन र फ्रेन्च हिप्पीहरुका बीचमा बसेका एक ५६ वर्षिय स्वामीजीका अनुसार सरकारले यस कुरामा प्रतिबन्ध लगाएर रोकिने कुरा होइन। उनी भन्छन्, ‘उनीहरुले कसरी गाँजा खेतीमा प्रतिबन्ध लगाउन सक्छन्? किसानहरु गाँजा र धान बराबर खेती गर्छन्। किसानको बाँच्ने आधार नै गाँजा हो। भित्तामा ‘यहाँ चिलिम फुक्न मनाही छ’ लेखिएको छ। तर त्यहाँ उपस्थित समूहमा चिलिम पालैपालो घुमिरहेको थियो। पश्चिमाहरु यहाँ आध्यात्मिक तथा दार्शनिक ज्ञानको शीतल छहारी खोज्दै आउँथे।’
गाँजा प्रतिबन्धपछिको राजनीतिक परिवर्तन
सरकारले गाँजामा प्रतिबन्ध जारी गरेपछि किसानहरु पनि साह्रै आक्रोशित बनेका थिए। उनीहरुको प्रमुख आयश्रोत नै गाँजा खेती थियो। सरकारको यस्तो निर्णयपछि दशौँ हजार किसान भोकमरीको धारमा पुगे। कतिलाई हतकडी लगाइयो। उनीहरुका बारीमा आगो दन्काइयो। देशको आर्थिक वृद्धिदर घट्न थाल्यो।
यस्तो संकटको धारमा राजनीतिक अवसर देखेर किसान तथा मजदुरको पक्षमा बोल्ने भन्दै तत्कालिन समयमा उदीयमान साम्यवादीहरु चर्किए। कम्युनिष्ट पार्टीले स्थानीय गुनासोको फाइदा उठाउँदै हिंसात्मक ढंगले सरकार ढाले मात्र उनीहरुका समस्या सुल्झिने भनी जनतालाई मनायो।
निक्सनको ड्रग्स र कम्युनिष्टसँगको लडाइँले उनीमाथि नै ‘ब्याकफायर’ गर्यो। परिवर्तनको नयाँ आशा भनिएको रुकुम–रोल्पाबाट सुरु भएको माओवादी जनयुद्ध छोटो समयमै देशव्यापी बन्यो। राष्ट्रव्यापी फौज बनेको माओवादीले देशभर आन्दोलन गर्दै सबै कुरा लगभग ठप्प बनाएको थियो। राजतन्त्रविरुद्धको सशस्त्र युद्ध सन् २००६ मा एक दशकपछि अन्त्यतिर आइपुग्दा देश ८० प्रति शत माओवादीको हातमा थियो।
२४० वर्ष लामो इतिहास बोकेको शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै देशको राजनीतिमा माओवादी माथि उक्लेको हो। गणतन्त्र आएपछि पनि शक्तिको लुछाचुँडीका कारण थुप्रै उतारचढावका चरण पार गर्नुपर्यो। यी सबैको साक्षी बनेको झोँछेको काखमा रहेको फ्रिक स्ट्रीट अलि एक्लो देखिन्छ। परिवर्तनको लहर देशको नीतिनियम अनि राजनीतिमा मात्र नभई फ्रिक स्ट्रीटमा पनि प्रस्टै देख्न सकिन्छ।
फ्रीक स्ट्रिटको गल्लीमा हिँड्दा उबेलाको सुगन्धले अहिलेको पुस्तालाई त ‘हाइ’ नबनाउला तर त्यस समयका जो कोहीलाई पनि अवश्य यादको नशा चढ्छ। ‘हिप्पी एरा’का केहि पसलहरु यहाँ अझै पनि छन्। फरक के छ भने पहिले ह्यासिस हट चकलेट पाइन्थ्यो, अहिले हटमात्र चकलेट पाइन्छ, पहिले गाँजा मिल्क कफी पाइन्थ्यो, अहिले मिल्क कफीमात्र पाइन्छ, पहिले हिप्पीहरुले भरिन्थे, अहिले ‘हिप्सटर’हरुले।