काठमाडौं : बुधबार पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विभिन्न व्यक्तिहरुबाट सात करोड जबरजस्ती चन्दा उठाएको खुलासा भएको छ।
प्रहरी अनुसन्धानबाट यस्तो देखिएको छ। सात करोड चन्दा उठाएको उजुरीउपर प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो। विस्तृत अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीले अदालतसमक्ष पेस गरेको छ। अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रहरीले उनलाई काठमाडौंको चाल्नाखेलबाट मंगलबार राति पक्राउ गरेको थियो। जबरजस्ती चन्दा असुलीमा विस्तृत अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ एसएसपी विश्वराज पोखरेलले बताए। उनीमाथि जबरजस्ती चन्दा असुलेको र अन्य हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोग छ।
उनी माथि विभिन्न व्यक्तिहरुबाट ७ करोड भन्दा बढि रकम चन्दाका रुपमा उठाएको र २ करोड उनको व्यक्तिगत खातामा देखिएको छ। विप्लवसँगै उनका चालक र स्वकीय सचिव पनि समातिएका छन्। जबरजस्ती चन्दा असुलीमा संलग्न विप्लव माओवादीका अन्य नेताहरु पनि निगरानीमा रहेको स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४