शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौनहिंसामा जोडिएपछि माल्भिकाले लेखिन्- म आफैंलाई माफ गर्न सक्दिनँ

यौनहिंसामा जोडिएपछि माल्भिकाले लेखिन्- म आफैंलाई माफ गर्न सक्दिनँ

मौनता, मुर्खता वा अनभिज्ञताले गलतलाई कसरी बढावा दिँदो रहेछ भनेर मैले अप्ठ्यारो विधिबाट सिकेँ। र यस पटक मैले मौन हुनको साटो पीडितका पक्षमा आवाज उठाउने निर्णय लिएकी छु।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

काठमाडौं- बुधबार साँझबाट सामाजिक सञ्‍जालमा एक युवतीको भिडियो भाइरल छ। २० वटा जति भिडियो क्लिप सार्वजनिक गर्दै ती युवतीले सन् २०१४ मा भएको ‘मिस ग्लोबल नामक सौन्दर्य प्रतियोगितामा सहभागी हुने क्रममा आफूमाथि बलात्कार भएको आरोप लगाइरहेकी छन्। 

National life

धम्की दिएर आफूलाई लगातार ६ महिनासम्म बलात्कार गरेको पीडित युवतीले भिडियोमा बताएकी छिन्। ती युवतीले आफूलाई उक्त घटनाले हालसम्म पीडित बनाएको र विगत केही समययता डिप्रेसनको औषधि प्रयोग गर्दै आएको पनि बताएकी छन्। 

आफूलाई बलात्कार गर्ने पात्रको नाम नखुलाए पनि युवतीले पूर्व मिस नेपाल माल्भिका सुब्बाको नाम लिएकी छन्। पीडित युवतीले सुब्बासँग सहयोगको अपेक्षा राखेर पीडकबारेमा जानकारी दिएको तर सुब्बाले बेवास्ता गरेको उनले भिडियोमा बताएकी छन्। 

महिला हकहितका लागि लामो समयदेखि बोल्दै आएकी सुब्बाले पीडित युवतीका विषयमा वास्ता नगरको आरोप लागेपछि सामाजिक सञ्जालमा ‘फेमिनिस्ट’ छवि बनाएकी उनको आलोचना भइरहेको छ। सुब्बाले पीडित युवतीलाई सहयोग गर्न नसकेकोमा क्षमायाचना गर्दै अंग्रेजी भाषामा लामो पोस्ट गरेकी छन्। सुब्बाले त्यो बेला आफैँ डिप्रेसनमा परेको बताउँदै अबदेखि लैंगिक समानता र महिला अधिकारसँग सम्बन्धित कुनै पनि कार्यक्रममा भाग नलिने घोषणा गरेकी छन्। 

उनले सामाजिक सञ्‍जालमा लेखेको अंग्रेजी स्टाटसको नेपाली भावनुवादः

Shivam cement

नमस्ते। सामाजिक सञ्‍जालमार्फत आफू यौनजन्य अपराधको सिकार बनेको कुरा सार्वजनिक गर्नुभएकी पीडितसँग सार्वजनिक माफी माग्‍न चाहन्छु। म मेरो पाटोको कथा पनि सुनाउन चाहन्छु। म आफू ‘विचरी’ देखिन चाहन्‍नँ, किनभने म पीडित होइन। पीडितले पाउनु पर्ने न्याय र त्यसमा मेरो भूमिकालाई मनन गर्न जाँदैछु। आशा छ केही समय दिएर पढिदिनु हुनेछ।

पीडितलाई

मेरा गतिविधिले तपाईंलाई झन् पीडित बनाएको भन्‍नुभएको हुनाले म यो कुरा राख्‍न गइरहेकी छु। यी कुरा राख्‍नेक्रममा म तपाईंप्रति सकेसम्म सम्मानपूर्ण ढंगले राख्‍नेछु।

म एकदमै क्षमाप्रार्थी छु। मलाई सबै कुरा त प्रष्ट याद छैनन्, तर तपाईंले मलाई गर्नुभएको फोन कल याद छ। पीडकबारे मलाई बताउन खोज्‍नुभएको पनि याद छ। अनि तपाईंलाई खाँचो परेका बेला सहारा नदिएको पनि याद छ। जुन कुरा माफीका लायक छैनन्। तपाईंले मलाई माफ गर्नुहुनेछ भन्ने आशा पनि राखेकी छैन। तर तपाईंलाई यति भन्‍न चाहान्छु कि तपाईंले साथ खोजिरहेका बेला मैले तपाईंका पीडा नसुनिदिएको, नबुझिदिएको कुराबारे म एकदमै क्षमाप्रार्थी छु। मसँग तपाईं रिसाउन पाउने हक छ, अनि जति घृणा मैले पाइरहेकी छु, म सबै घृणाका लागि योग्य छु। त्यसबेला मैले तपाईंको साथ नदिएर तपाईंले खेप्‍नुपरेको अन्यायलाई बढावा दिएँ।

तथापि, मलाई तपाईंले ‘बलात्कार’ भन्‍ने शब्दको प्रयोग गर्नुभएको अथवा तपाईंले अहिले बताइरहे जसरी मैले प्रतिक्रिया जनाएको भने याद छैन। म विश्वस्त छु, यदि तपाईंले 'बलात्कार'जस्तो शब्दको प्रयोग गर्नुभएको भए मलाई याद हुने थियो। तर, पछिल्लो समय तपाईंको कुरा सुनेर म तर्सिएकी छु। मलाईं तपाईंको विश्वास छ।

मेरो नजरमा म आफैँ पनि पहिलेजस्तो रहन सकिनँ। तपाईंको पोस्टहरुमार्फत मेरा कारण तपाईंले खेप्‍नुपरेको पीडा सुन्दा म आफूलाई कहिल्यै माफ गर्न सक्दिनँ।

तपाईंका लागि उपयुक्त कदम चालेर माफी माग्‍नलाई धेरै ढिलो भसकेको छ। मेरा लागि सबैभन्दा ठूलो कुरो तपाईंको अवस्था ठीक हुनु हो। त्यसका लागि मैले सक्दो गर्नेछु। तपाईंले न्याय नपाउन्जेल म सबै तिर ओझेल पर्न तयार छु। यदि व्यक्तिगत रुपमा मप्रति आक्रोश पोख्‍न चाहनुहुन्छ भने म त्यसका लागि पनि तयार छु। म सबै कुरा गर्न तयार छु।

सम्पूर्णमाः

मलाई थाहा छ मैले सबैको विश्वसनियता गुमाइसकेकी छु, तर पनि तपाईंहरु सबैलाई पीडितलाई पीडकको नाम सार्वजनिक गर्ने अथवा मेरो साटो उनीप्रति आक्रोश व्यक्त गर्ने काम बन्द गरिदिनुहुन अनुरोध गर्दछु। हामी कोही पनि उहाँ गुज्रिरहेको पीडाबारे जानकार छैनौँ। उहाँलाई सुनिदिनुहुन अनि उहाँले चाहेको सहारा, (न कि हामीलाई ठीक लागेको सहारा) प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।

मप्रति पीडितको अनि तपाईंहरुको आक्रोश जायज छ। म आफैसँग रुष्ट अनि निराश छु। तर तपाईंहरुले मेरो पाटोको कथा पनि सुनिदिनुहुनेछ भन्ने आशा राखेकी छु। साथै, आशा राख्छु मैले गुमाउन पुगेको विश्वास र साथ पुनः फिर्ता पाउनेछु।

मैले पहिले भनेझैँ उक्त कार्यक्रमको अन्त्यसम्म केही खबर सुनेकी थिइनँ। कुरा आजभन्दा ८-९ वर्ष पहिलेको हो। म आफैँ ठीक अवस्थामा नभएको बेला मलाई पीडितको फोन आएको थियो। तर मैले उनको कुरा सुनिनँ। कुरा कोट्याउने क्रममा मलाई तथ्य भिन्‍न रहेको कुरा विश्वास गर्ने बनाइयो। पीडितका कुरा पत्याउन छोडेर मैले अरुकै कुरा पत्याएँ। त्यसपछि, मैले कदम पछाडि सारेर त्यस कार्यक्रमबाट सबै सम्बन्ध तोडेँ। विशाक्त कार्यथलो ईत्यादिका कारण म आफैँ ‘डीप्रेसन’को सिकार भएकी थिएँ। त्यतिबेलै आफैँ सहाराको खोजीमा थिएँ।

त्यसबेला यस विषयमा मेरो चासोको कमीका कारण आज पीडितले भोगिरहेको दुःखको कारण म बनेकी हुँ।

मैले उहाँसँग अलि बेर गफ गर्नुपर्ने थियो, उहाँसँग सम्पर्क गरेर, उनलाई अंकमाल गरेर साथ दिनुपर्ने थियो। उहाँका लागि केही गर्नुपर्ने थियो। उहाँले भनेझैँ कम से कम फोन गरेर, 'के छ?' भनेर सोध्नुपर्ने थियो। तर मैले त्यसो गरिनँ। ‘मीटू’ चलिरहेको बेला पनि मैले त्यसो गरिनँ। मैले सबैलाई असफल तुल्याएँ। म घृणायोग्य छु, किनभने एक महिलाका रुपमा, एक मानवका रुपमा, अनि केही शक्ति र सामर्थ्य भएको व्यक्तिका रुपमा म असफल भएकी छु।

त्यति बेला उहाँ भरखर १६-१७ वर्षकी हुनुहुन्थ्यो भनेर मैले ख्याल गर्नुपर्ने थियो। हल्ला थियो, पीडित र पीडक ‘सम्बन्ध’मा थिए। आयोजकसँग कुरा गरेर दरिलो कदम चाल्नुपर्ने थियो। तर मैले त्यसो नगर्ने निर्णय गरेँ। डीप्रेसनका कारण मैले आफ्ना लडाईंहरु सावधानीपूर्वक छान्‍ने गरेकी छु। त्यसबेला पनि मेले आफ्नो मानसिक स्वास्थ्यलाई माथि राखेँ। तर अहिले मलाई ख्याल भयो, त्यस मुद्दाले मेरो मानसिक स्वास्थ्यलाई अलिकति मात्र असर पार्ने थियो, तर पीडितका लागि ठूलो राहत हुने थियो। साँच्चै भन्‍नुपर्दा मैले केही फरक पार्नसक्थेँ भन्‍ने कुराबारे म अज्ञात थिएँ। तर त्यसले म विगत आठ वर्षयता ‘फेमिनिजम’, यौन दुर्व्यवहार आदिबारे बोलिरहँदा उहाँसँग सम्पर्क गर्न रोक्ने थिएन। म हृदयदेखि नै माफी माग्‍न चाहान्छु।

त्यसबेला मलाई 'बलात्कार'का कानुनबारे पनि अहिलेजति ज्ञान थिएन। मलाई उनी यौन सहमती दिने उमेरकी महिला हुन् भन्‍ने लागेको थियो। मलाई केही वर्ष अघिसम्म यौन सहमतीको उमेर १६ हो भन्‍ने लाग्थ्यो। विगतका केहि वर्षयता यस्ता अपराधहरु शक्तिका आडमा छोपिने बारे पनि बुझेकी छु। पहिले नै यी कुरा बुझेकी भए राम्रो हुने थियो, तर यो ज्ञान बिना पनि मैले पीडितका लागि केही गर्नसक्थेँ। उहाँसँग वार्ता गर्नसक्थेँ अनि उहाँले प्रस्टरुपमा आफूमाथि भएको दुर्व्यवहार खुलेर बताउनु हुने थियो।

मेरो कारण दुःखी अनि पीडित हुनुभएका सबैमा म क्षमाप्रार्थी छु। त्यस्ता हिंसा तथा अपराधकाविरुद्ध आवाज उठाउने सार्वजनिक व्यक्तित्वका रुपमा मेरो कर्तव्य हो। तर मैले त्यसो नगरेर असफल भएकी छु। तपाईंहरुले पीडितलाई कदम चाल्न दबाब दिनको साटो आफ्नो आक्रोश मतिर मोड्नुहुन्‍न अपिल गर्दछु।

मैले प्राप्त गरिरहेका ज्यान मार्ने धम्की, बलात्कारका धम्की लगायत घृणायुक्त टिप्पणीहरुको लायक छु। मैले अपराधको साथ दिएँ कि, गैरजिम्मेवारीपूर्ण कदम निभाएँ कि म नै अपराधी हुँ, मलाई थाहा छैन। तर पीडितले भोग्नुपरेको पीडाको जिम्मेवार म पनि छु। र मैले हासिल गरेको सबै कुरासामु प्रश्न चिह्न तेर्सिएको छ।

मौनता, मुर्खता वा अनभिज्ञताले गलतलाई कसरी बढावा दिँदो रहेछ भनेर मैले अप्ठ्यारो विधिबाट सिकेँ। र यस पटक मैले मौन हुनको साटो पीडितका पक्षमा आवाज उठाउने निर्णय लिएकी छु। सामाजिक सञ्‍जाल, लैंगिक समानता, यौनजन्य अपराध आदि विषयका मुद्दामा मेरो उपस्थितिले यहाँहरुलाई ‘ट्रिगर’ गर्छ भने म केही समयका लागि यी ‘प्लेटफर्म’हरुबाट कदम हटाउनेछु। यो विज्ञप्ति पढिरहनुभएका सम्पूर्णलाई विगतकी मभन्दा बलियो बनी अन्यायका विरुद्ध लड्न आग्रह गर्दछु। आशा गर्छु, यो घटना त्यसै अन्त्य नहोस् अनि नेपालमा पुनः मीटू आन्दोलन अगाडि बढोस्, पीडितले आफ्ना व्यथा सुनाउन पाउन् अनि उनीहरुलाई सहाराको खाँचो महसुस नहोस्।

म सामाजिक स्थान नओगटी पुनः आफूलाई असल व्यक्तित्वका रुपमा विकास गर्न लागिपर्नेछु। अनि, आशा गर्छु, तपाईंले कुनै दिन मलाई माफी दिनुहुनेछ।

प्रकाशित: May 19, 2022| 20:06 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।