काठमाडौं- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिर्कटोमा लेखेर बुझाएको राजिनामा गायब भएको छ। पार्टीको बुधबार बसेको सचिवालय बैठकमा उनले प्रवक्ताको भूमिका निर्वाह गरे।
बैठक सकिएपछि पनि श्रेष्ठ बाहिर निस्केका थिएनन्। बाहिर सञ्चारकर्मीहरू प्रतिक्षा गरिरहेका छन् भन्दै प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खबर पुर्याएपछि मात्र बाहिर आएर बैठकको निर्णयबारे जानकारी गराए।
गत ७ साउनको बैठकमा श्रेष्ठले असन्तुष्टि जनाउँदै प्रवक्ताबाट राजिनामा दिएका थिए। उनले राजिनामा दिएपछि वरिष्ठ नेता माधवकुमार नेपालले फिर्ता लिन आग्रह गरेका थिए। प्रधानमन्त्री केपी ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो टेबल अगाडि उनले दिएको राजिनामा समाएका थिएनन्।
पार्टीको कुनै पनि रेकर्डमा उनको राजिनामा आएको नदेखिएको बताउँदै सचिवालय बैठकमा छलफलको विषयसमेत बनेन। वरिष्ठ नेता नेपालले सम्झाए पनि श्रेष्ठले प्रवक्ताको जिम्मा लिएको स्रोतको दावी छ।
चिकित्सा शिक्षा विधेयकमा परिवर्तनको माग राखेर अनसन बसेका डा. गोविन्द केसीलाई भेटेको बताउँदै ७ साउनको बैठकमा नेताहरूबाट उनको आलोचना भएको थियो। उनले आफूले पार्टीको नीतिबमोजिम नै भेटेको बताउँदै बचाउ गरेका थिए। उनले प्रवक्ता भनेको अरूले उठबस गराउने पद नभएको बताउँदै बैठकमा प्रतिवाद गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४