काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट उनलाई प्रहरीले पक्राउ गरेको हाे ।
काठमाडौंको चाल्नाखेलबाट प्रकाण्डलाई पक्राउ गरिएको काठमाडौं महानगरीय परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले नेपाल समयसँग बताए। पोखरेलका अनुसार प्रकाण्डसँग उनको चालक र स्वकीय सचिव पनि समातिएका छन्।
प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका-६ का हरिचन्द्र आचार्य छन् । स्रोतका अनुसार चन्दा आतंक तथा अन्य शंकास्पद गतिविधि देखिएकपछि गृहमन्त्रीको विशेष निर्देशनमा पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तीनैजनालाई अनुसन्धानको क्रममा महानगरीय परिसर टेकुमा राखिएको छ। बुधबार प्रकाण्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४