बुधबार, असार ३१, २०८३

विदेश जाने लोभ- कसरी ठगिन्छन् नेपाली ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बागलुङका जेसन श्रीषलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गर्‍यो। श्रीषले अमेरिका पठाउने बताउँदै जनही ५० लाख रुपैयाँभन्दा बढी लिएका थिए। उनीमार्फत् गएका ३० युवा नाइजेरियामा अलपत्र छन्।

चर्चित कलाकार राजेन्द्र खड्गीले फिल्मी कलाकार बनाएर दक्षिणकोरिया लगेका १३ मध्ये ११ युवा उतै लुके। खड्गीविरुद्ध नेपालस्थित दक्षिणकोरियाली दूतावासले नै सरकारलाई उजुरी गर्‍यो। सीआईबीले  पक्राउ गरी उनीविरुद्ध मुद्दासमेत चलायो। उच्च अदालत पाटनबाट उनी जमानतमा रिहा भए। 

जुम्लाका एक युवक बैंकको जागिर छाडेर अस्ट्रेलियाका लागि उडे। तर, मलेसियाको अध्यागमनमा रोकिएपछि मात्र उनले आफू ठगिएको थाहा पाए। 

आकर्षक तलबको प्रलोभनमा पारी दाइ नाता पर्नेले २२ लाख रुपैयाँ ठगेको उजुरी दिन आएका उनी २१ साउनमा महाराजगञ्जस्थित सीआईबी कार्यालयमा भेटिए। आफन्तबाटै ठगिएकामा उनी आक्रोसित देखिन्थे। नेपालबाट अस्ट्रेलियाका लागि उड्नुअघि श्रम स्वीकृति पनि लिएका थिएनन्, उनले। 
 
मानव तस्करीको डरलाग्दो तथ्यांक-एक वर्षमा ३५.६८ प्रतिशतले वृद्धि।
 
 माल्दिभ्समा रोजगारीका लागि हिँडेका अर्का युवा भारतमै अलपत्र परे, पछि परिवारको सहयोगमा स्वदेश फर्किए। उनीजस्तै २१ युवासँग जनही तीन लाख रुपैयाँभन्दा बढी लिई राजधानीको एक म्यानपावरमा काम गर्ने सुवास केसी नामका व्यक्ति हाल फरार छन्। 

केसीले केही युवालाई माल्दिभ्स पुर्‍याएको बताइए पनि कुनै कम्पनीसँग रोजगार सम्झौता भएको देखिँदैन। सोही कारण माल्दिभ्स पुगेकाहरू पनि फर्किसकेका छन्। 

नेपालबाट विश्वभरमा भइरहेको मानव ओसारपसारको कुनै लेखाजोखा छैन। खाडी मुलुकमा रोजगारी लगाइदिने बताउँदै नयाँदिल्ली पुर्‍याइएका ३९ महिलालाई भारतीय महिला आयोगको पहलमा उद्धार गरी नेपाल ल्याइएको छ। त्यस घटनाबाट नेपालबाट भइरहेको मावन बेचविखनको डरलाग्दो तथ्य उजागर भएको छ। त्यस घटनालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि प्राथमिकता दिएका प्रकाशन/प्रसारण गरेका थिए। 

युरोप र अमेरिका पुर्‍याउने बताउँदै बीचमा युवा-युवतीलाई अलपत्र पार्ने मानव तस्करीको घटना कहालीलाग्दो गरी बढेको छ। अझ, विदेशीसँग विवाह गरी गएका ९९ प्रतिशत महिला चरम यौन हिंसामा पर्ने गरेको प्रहरीको भनाइ छ। 

प्रहरीको निगरानी र कारवाही बढेसँगै मानव ओसारपसार र बेचविखनमा संलग्न गिरोहले म्यारिज ब्युरोमार्फत कागजी प्रक्रिया पूरा गरेर युवतीहरूलाई चीन, दक्षिणकोरिया र खाडी मुलुक पुर्‍याउने गरेको प्रहरीको भनाइ छ। 

पछिल्ला तीन वर्षमा मानव तस्करी ३८.७३ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष ०७२/७३ मा मानव बेचविखनका दुई सय २२ घटना दर्ता भएका छन्। ०७४/७५ मा यो संख्या बढेर तीन सय दुई पुगेको छ। यो आँकडा त प्रहरीमा आएका उजुरीहरूको मात्र हो। प्रहरीसम्म आइनपुगेका घटना त्यसभन्दा धेरै बढी हुन सक्ने अधिकारीहरूको अनुमान छ। 



१२ वर्षीया बालिकालाई सुई लगाई २० वर्ष

विवाहको नाटक गरी सजिलै भारत पुर्‍याइने अधिकांश किशोरीहरूलाई नयाँदिल्ली र मुम्बईमा बिक्री गर्ने गरिएको केआई नेपालका दिल्ली शाखा इन्चार्ज नवीन जोशी बताउँछन्। उक्त संस्था मानव बेचविखन र ओसारपसारविरुद्ध सक्रिय छ।

सुईमार्फत् हर्मोन दिएर १२ वर्षका किशोरीलाई २० वर्षको देखिने शरीर बनाइने गरेको पाइएको जोशी बताउँछन्। अप्राकृतिक रूपमा आकर्षक शरीर बनाइने त्यस्ता किशोरीको ४० वर्ष पूरा नभई मृत्यु हुने गरेको उनको भनाइ छ। 

१५ औं शताब्दीमा मुगल शासनकालमा मुजरा संस्कृतिका लागि प्रख्यात पहाडगञ्जको ५६, ५९ र ६४ नम्बरका ‘रेड हाउस’मा नेपाली किशोरी र युवतीहरूलाई पुर्‍याइने गरेको छ। गिरोहको सूचना संयन्त्र यति तगडा छ कि समस्यामा परेका युवतीको उद्धारमा निस्किनुअघि नै उनीहरूलाई अन्यत्र सारिसकिएको हुन्छ। 

त्यस्ता कोठीहरूमा छापा मारिँदै गरेको सूचना भारतीय प्रहरीबाटै चुहिने गरेको महिला बेचविखनविरुद्ध क्रियाशील संस्थाका अधिकारीहरूको भनाइ छ। 
 
गैरकानूनी बाटोबाट विदेश जाने प्रवृत्ति दोब्बरले बढेको प्रहरीको भनाइ। त्यसरी जानेमध्ये ९९.९९ प्रतिशत युवा-युवती ठगिने, बेचिने र समस्यामा पर्ने गर्छन्।

खाडी मुलुकमा यौन हिंसा

नेपालबाट विभिन्न खाडी मुलुकमा पुर्‍याइने महिलाहरूमाथि चरम यौन हिंसा हुने गरेको गुनासो व्यापक छ। सोही कारण सरकारले खाडी मुलुकमा महिलाको रोजगारी बन्द गरेको छ। तर, भारतको बाटो हुँदै जाने क्रम रोकिएको छैन। 

महिला बेचविखन तथा यौन क्रियाकलापमा संलग्न गराई मोटो रकम आर्जन गर्न पल्केका गिरोहहरूले अनेक उपाय रच्दै धन्दा चलाउने गरेका छन्। नेपाल हुँदै खाडीका अधिकांश मुलुक तथा अफ्रिकी देशहरू केन्या, दक्षिणअफ्रिका, टोगोसम्म नेपाली महिला पुर्‍याइने गरेको छ। 

भारत नेपाली महिलाको बेचविखन हुने परम्परागत गन्तव्य नै हो। पछिल्ला वर्षमा दक्षिणकोरियासम्म पुर्‍याउने गिरोह पनि सक्रिय देखिएको छ। यस्तै, युरोपेली मुलुक लैजाने बताउँदै टर्की पुर्‍याएर अलपत्र पार्ने क्रम पनि बढेको देखिएको छ। आव ०७४/७५ मा सबैभन्दा ठूलो संख्या टर्कीमा पुगेर अलपत्र पर्नेहरूको छ। 

ओसारपसारका क्रममा झुक्याएर मानव अंग निकाली बिक्री गर्ने गिरोह पनि सक्रिय पाइएको छ। 

कसरी पर्छन् तस्करको जालोमा?

सरकारले वैदेशिक रोजगार, भ्रमण, व्यापार र पढाइका लागि जान पाउने देश किटानै गरेको छ। त्यसका लागि प्रक्रिया र पूर्वाधार स्पष्ट किटान गरिएको छ। 

विदेशमा पढ्न जाने विद्यार्थीको हकमा शिक्षा मन्त्रालयबाट पूर्वस्वीकृति तथा रोजगारीमा जानेहरूले श्रम स्वीकृति लिनुपर्ने अनिवार्य प्रावधान छ। सरकारी प्रक्रिया पूरा गरेर जानेहरूले समस्या बेहोर्नुपर्दैन। बीचमा अलपत्र परेमा स्वीकृति लिएर गएका व्यक्तिहरूको हकमा सरकारले नै जिम्मा पनि लिनुपर्ने व्यवस्था छ। 

त्यसका बावजुद ठगीमा संलग्न गिरोहले सरकारी मान्यताकै खिलाफमा प्रचारबाजी गर्ने गर्छन्। र, गलत बाटो प्रयोग गर्दै युवा-युवतीलाई विभिन्न गन्तव्यमा पुर्‍याउने बताएर बीच बाटोमै अलपत्र पार्छन्। 

गलत बाटोबाट विदेश जाने ९९.९९ प्रतिशत युवायुवती ठगिने, बेचिने र समस्यामा पर्ने एक प्रहरी निरीक्षक बताउँछन्। उनका अनुसार पछिल्लो समय गैरकानूनी ढंगबाट विदेश जाने प्रवृत्ति दोब्बर बढेको पाइएको छ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ जिल्ला प्रशासन कार्यालयहरूबाटै पासपोर्ट दिने व्यवस्था गरिएसँगै मानव ओसारपसारमा संलग्न गिरोहहरूलाई सहज भएको बताउँछन् । दलालहरूले उमेर तलमाथि पारेर सजिलै पासपोर्ट बनाइदिने र राम्रो तलबको प्रलोभनमा मानव तस्करीको धन्दा चलाउने गरेको डा. गुरुङको भनाइ छ ।

‘दलालहरू गाउँ–गाउँमा पुगेका छन्, जनचेतना तथा त्यसविरुद्ध कारवाही कमजोर छ,’ उनी भन्छन् । सरकारले २५ वर्ष नपुगेका युवतीलाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको छ । उमेर बढाएर पासपोर्ट बनाइदिएपछि पोल खोलिदिने त्रास देखाएर दलालहरूले लामो समयसम्म यौन शोषण गर्ने गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।