काठमाडौं– स्थानीय तह निर्वाचन २०७९ को पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेका २८ वर्षीय करण श्रेष्ठ, भोजपुरका २८ वर्षीय युवराज थापा र खोटाङका ३६ वर्षीय भरतकुमार राई रहेका छन्।
उनीहरूले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ३० वैशाखको राति २ बजेतिर बानेश्वरबाट तीनकुनेतर्फ जाने सडक खण्डमा ग्यास सिलिन्डरमा आगो लगाई विस्फोट गराएका थिए। घटना भएको केही मिनेटमै प्रहरी वृत्त नयाँ बानेश्वरबाट टोली घटनास्थलमा पुग्दा ठूलो क्षति हुनबाट जोगिएको थियो।
पक्राउ परेका चारै जनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ७ विस्फोट पदार्थसम्बन्धी दफा १४१ को कसुरमा अदालतबाट सात दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।