काठमाडौं- विशेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलार्इ पितृ शोक परेको छ । मिश्रका बुबा ८३ वर्षीय मनुजबाबु मिश्रको मंगलबार राति निधन भएको छ । बरिष्ठ चित्रकार एवं साहित्यकार मिश्रको हृदयाघातका कारण निधन भएको हो ।
आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे मिश्रको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट बाहिर निस्किएका थिएनन् ।
मिश्रको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो ।
झण्डै चार दशकदेखि एकान्तवास बसेका अग्रज आधुनिक चित्रकार मनुजबाबु मिश्र विश्व चित्रकलाको इतिहासका अध्येता र व्याख्याता पनि थिए ।
मिश्रले रेडियो नेपालमा गायन देखि लिएर बालकृष्ण सम र भीमनिधि तिवारीका नाटकमा समेत अभिनय गरेका थिए ।
देशविदेशमा चित्रकला सिकेका र प्रदर्शन गरेका मिश्र झण्डै चार दशकदेखि एकान्तवासमा बसे ।
उनी घरबाहिर निस्किंदैनथे । अनेक किसिमका कलाकृति, हतियार र पुस्तकले घेरिएर उनी चित्र बनाउनमै व्यस्त रहन्छन्, यतिसम्म कि रेखाचित्र बनाउनका लागि बाँसको कलम पनि आफैं बनाउने गरेका थिए ।
एक्लो बसेर गर्न सक्ने काम समाजमा बसेर गर्न नसक्ने उनको ठहर थियो । उनले आफ्ना चित्रमा विभिन्न मिथकीय विम्ब र प्रतीकका माध्यमबाट त्यस्तै समाज उतार्न खोज्दथे । उनका चित्रमा त्रिशुल, सिंग र रकेट। उनको चित्रमा अंकित रकेटले पश्चिमा सभ्यतालाई, त्रिशुलले शक्तिलाई र सिंगले मानिस भित्रको पशुलाई प्रतिनिधित्व गराउने गरेका थिए ।
मिश्रका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४