काठमाडौं-निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो । सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभागले त्यसका लागि आवश्यक तयारी गरेको हो । विभागका महानिर्देशक ऋषिराम शर्माले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडानका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।
गौतमबुद्ध विमानस्थल आगामी दश महिनाभित्र सञ्चालनमा आउने भएपछि विभागले पनि मौसमी सूचना प्रणाली स्थापना गरी हवाई यातायातलाई थप सुरक्षित र भरपर्दो बनाउने प्रयास गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गरे। जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण भएको हो ।
नेपालमा विगतमा भएका हवाई दुर्घटनामध्ये करीब ९० प्रतिशत मौसमकै कारण हुने भएकाले त्यसलाई पनि हटाउन लागिएको हो । महानिर्देशक शर्माले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको त्यस्तो सूचना प्रणालीलाई गौतमबुद्ध विमानस्थलमा जडान गर्न लागिएको जानकारी दिए ।
सो विमानस्थलमा पनि मौसमी सूचना संकलन, विश्लेषण गर्ने जनशक्ति र आवश्यक उपकरण जरुरी पर्दछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३७ कर्मचारी कार्यरत छन् । विभागले गौतमबुद्ध विमानस्थलका लागिसमेत २० कर्मचारी आवश्यक रहेको भन्दै प्रक्रिया शुरु गरेको छ ।
‘एक वर्ष भित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारीमा छ, सो अगावै हामीले उपकरण, जनशक्ति उपलब्ध गराएर हवाई मौसमी सूचना संकलन शुरु गरिहाल्नुपर्नेछ, त्यसको तयारीमा हामी लागेका छौं’, महानिर्देशक शर्माले भने ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहेको विभागको भवनमा पुगेर मन्त्री पुनले काम–कारवाहीका बारेमा जानकारी लिएका छन् । विभागमा मन्त्रीको भ्रमण भएको यो पहिलो पटक हो ।
मन्त्री पुनले मौसमी पूर्वानुमान सेवाको क्षेत्र विस्तार गर्दै निजी र व्यावसायिक क्षेत्रलाई समेत सेवा दिने गरी काम गर्न निर्देशन दिए । प्राविधिक जनशक्ति, सेवा, विस्तार र बजेटका लागि आफूले सहयोग गर्ने पनि मन्त्री पुनले बताए ।
मन्त्री पुनले हवाई सेवाका लागि मौसमी पूर्वानुमान अनिवार्य भएको भन्दै यसलाई अझै प्रभावकारी बनाउनसमेत आवश्यक निर्देशन दिए ।
सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षा उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको मन्त्री पुनको भनाइ छ । विभागले २०२५ सालदेखि मौसम पूर्वानुमानको काम गर्दै आएको छ ।
मुस्ताङ र हुम्लामा मौसम पूर्वानुमान केन्द्र
यस्तै सरकारले मुस्ताङको जोमसोम र हुम्लाको सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्ने तयारी गरेको छ । देशभर नै मौसम पूर्वानुमानको सूचना संकलनका लागि वस्तुनिष्ठ तथ्याङ्क संकलनका लागि त्यस्तो केन्द्र स्थापना गर्न लागिएको हो ।
मन्त्री पुनले ती केन्द्र स्थापनामा सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिएका थिए । विभागले वर्षामापनका लागि देशभर पाँच सय केन्द्र जडान गरेको छ ।
वर्षा र तापक्रम मापनका लागि १५० र वर्षा, तापक्रम, वाष्पीकरण, हावाको गति मापनका लागि २९ वटा र हवाई मौसमी सूचना प्रणाली १६ वटा जडान गरेको महानिर्देशक शर्माले जानकारी दिए ।
तीमध्ये चालु आर्थिक वर्षमा ८८ वटालाई स्वचालित प्रणालीमा सञ्चालन गरिनेछ । त्यस्तै नदीको जलसतह मापन गर्न ७० वटा केन्द्र जडान गर्ने लक्ष्य राखिएको छ ।
विभागले गत असार ६ गते उडाएको मौसमी बेलुनको ६ महिनाको तथ्याङ्कलाई अध्ययन गरिनेसमेत शर्माको भनाइ छ । नेपालको मौसमी सूचना प्रणालीलाई थप व्यवस्थित गर्न उक्त बेलुनले महत्वपूर्ण सहयोग गर्नेछ । माथिल्लो वायुमण्डलको मौसमी सूचना, मौसम पूर्वानुमानका लागि उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो बनाउनसमेत प्रभावकारी हुने विश्वास लिइएको छ । हाल उक्त बेलुन ३१ दशमलव ५ किलोमिटर माथि वायुमण्डलमा पुगेर मौसमी सूचना सङ्कलन गरिरहेको छ ।रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४