वीरगन्ज-पथलैया करिडरको चैनपुरमा अवस्थित चाचान समूहको नारायणी सिमेन्ट उद्योग।
वीरगंज-नेपाली र चिनियाँको ३६ अर्ब रुपैयाँभन्दा बढीको संयुक्त लगानीमा दैनिक ६ हजार टन उत्पादन क्षमताको होङ्गसी शिवम् सिमेन्टले गत जेठदेखि उत्पादन थालेको छ । पहिलो चरणमा ६ हजार टनबाट उत्पादन थालेको यो उद्योगले चाँडै नै उत्पादन क्षमता दोब्बर पार्ने घोषणा गरिसकेको छ ।
अर्को चिनियाँ कम्पनी हुवासिन सिमेन्टले धादिङ्गमा तीन हजार टन क्षमताको उद्योग संचालनमा ल्याउने प्रतिबद्धतासहित १५ अर्ब रुपैयाँ भन्दा बढी लगानीका लागी लगानी प्रवद्र्धन बोर्डसँग सम्झौता गरी सकेको छ । स्वदेशी उद्योगीकै लगानीमा सिराहा, नवलपरासी,पाल्पा, दाङ्ग, रोल्पामा ठूलो क्षमताका आधा दर्जनभन्दा बढी सिमेन्ट उद्योग पाइप लाइनमा छन् ।
यसरी एकपछि अर्को गर्दै ठूलो लगानी भित्रिंदै गर्दा सीमित पूँजीमा संचालनमा ल्याइएको स्थानीय सिमेन्ट उद्योगका लागी भने चुनौती देखिएको छ । चुनढुङ्गा खानीमा आधारित सिमेन्ट उद्योगमा ठूलो लगानी हुन थालेपछि क्लिन्कर पिंधेर सिमेन्ट उत्पादन गर्ने उद्योग(ग्राइण्डिङ्ग युनिट) का लागी सकस भएको हो ।
चुनढुङ्गा खानी सहितको सिमेन्ट उद्योगमा धमाधम ठूलो लगानी हुँदैछ, स्टार सिमेन्ट संचालन गरिरहेको क्याल समूहका सञ्चालक राजेश क्यालले भने, क्लिंकर उत्पादकले साना उद्योगलाई क्लिंकर बेच्नुभन्दा सिमेन्ट उत्पादन गर्नुमा बढी फाइदा हुने भएकाले ग्राइण्डिङ युनिटका लागी चुनौती हुने उनको भनाई छ ।
सामान्य बजार मागको अवस्थामा सहजै क्लिंकरको आपूर्ती गरेपनि सिमेन्टको उच्च माग हुने सिजनमा स्वदेशी क्लिंकर उत्पादकले क्लिंकर आपूर्ती गर्न आनकानी गर्ने स्थानीय उद्योगीको अनुभव छ ।
ठूला उद्योगको आधुनिक उत्पादन प्रविधी, किफायती उत्पादन लागत, ब्राण्डिङ्गमा गरिने ठूलो खर्च, वृहद वितरण प्रणालीका कारण स्थानीय बजारमा सीमित उत्पादन बेचेर नाफा कमाई रहेका साना उद्योगका लागी आगामी दिन सहज हुनेछैन ।
सरकारसँग चुनढुङ्गा खानी लिजमा लिएका ठूला व्यापारिक समूहको लगानीमा रहेका ग्राइण्डिङ युनिटका लागी चुनौती नभएपनि साना समूहको लगानीमा खुलेका उद्योगका लागी आफैंले खानी सञ्चालन गर्न सम्भव छैन । खानी प्रशोधनसहितको उद्योग संचालन गर्न १० अर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक छ । उद्योगीका अनुसार ग्राइण्डिङ्ग युनिट ३० करोडभन्दा पनि कम लगानीमै सम्भव छ ।
आफ्नो खानी नहुने उद्योगीहरु खानी सहितको इजाजत लिएका ठूला सिमेन्ट उद्योगमा साझेदारी गर्न थालेका छन् । वीरगन्जमा ग्राइण्डिङ उद्योग संचालन गरिरहेका उद्योगीको एउटा समूहले दाङमा सम्राट सिमेन्ट उद्योगमा साझेदारी गरेको छ ।
शालिमार सिमेन्ट उद्योगका संचालक अशोक वैध संचालनमा रहेका सबै उद्योगसँग चुनढुङ्गा खानी नभएकाले सरकारले खानी प्रशोधन अनिवार्य गरेको अवस्थामा साना उद्योगको निरन्तरता अनिश्चित हुने बताउँछन् ।
सरकारले २०७३ मै सबै उद्योगले आफ्नै खानी प्रशोधन गर्नुपर्ने प्रावधान लागू गर्न खोजेको थियो । तर निजी क्षेत्रको दबाब पछि उसले यो प्रावधान संशोधन गर्दै स्वदेशी क्लिंकर प्रयोग गरेपनि हुने भन्ने प्रावधान ल्याएको छ ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव कुमार थापा सरकारले अहिले आफ्नै खानी हुनुपर्ने अनिवार्य नगरेकाले ग्राइण्डिङ युनिटहरुले अन्य उद्योगसँग क्लिंकर खरिद गरेर उत्पादनलाई निरन्तरता दिने बताए । 'स्वदेशमै उत्पादन वृद्धिका कारण सिमेन्टको आयातमा उल्लेखनीय ह्रास आइ सकेको छ,' उनले भने, 'अब ग्राइण्डिङ युनिटले स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न थालेपछि क्रमशः क्लिंकरको आयात पनि घट्दै जाने छ।'
वीरगन्ज-पथलैया औद्योगिक करिडरमा संचालनमा रहेका १३ वटै सिमेन्ट उद्योगसँग ग्राइडिङ्ग युनिट मात्र छ । यी बाहेक रिलायन्स समूह अन्तर्गतको युनिटेक सिमेन्ट उद्योगले क्लिंकर उत्पादन गरेर अन्य उद्योगलाई आपूर्ती गर्दै आएको छ । युनिटेक सिमेन्ट क्लिंकर उत्पादन गर्ने करिडरकै एकमात्र उद्योग हो ।
यस करिडरमा जगदम्बा, विश्वकर्मा, नारायणी, शालिमार, अम्बे, रिलायन्स सुपरटेक, अरनिको, आरएमसी, कृष्णा, इन्टरनेशनल, ओम, स्टार, श्री सिमेन्ट उद्योग संचालनमा छन् । दैनिक तीन सय देखि एक हजार पाँच सय टन उत्पादन क्षमता रहेको यहाँको ग्राइण्डिङ्ग युनिटमा निजी क्षेत्रबाट करिब सात अर्ब रुपैयाँ लगानी भएको छ ।
सिमेन्टका लागी आयश्यक मुख्य कच्चा पदार्थ क्लिंकर उत्पादन गर्न आफ्नै खानी प्रयोग गरिरहेका सिमेन्ट उद्योगले सीमित परिमाणमा मात्रै ग्राइण्डिङ्ग युनिट(अन्यत्रबाट खरिद गरेर ल्याइएको क्लिन्कर पेलेर सिमेन्ट बनाउने उद्योग) लाई क्लिंकर आपूर्ती गरिरहेका छन् । साना उद्योगका लागी आवश्यक क्लिंकर सत्तरी प्रतिशतभन्दा बढी भारतबाटै आयात हुने गरेको छ ।
भावी चुनौती सामना गर्नका लागी साना उद्योगसामू क्लिंकरमा आधारित ठूला उद्योगसँग साझेदारी गर्ने, मुनाफामा बाँडफाँड गरेर आफ्नै ब्राण्डमा सिमेन्ट उत्पादनलाई निरन्तरता दिने, प्लान्ट नै ठूला सिमेन्ट उद्योगलाई बिक्री गर्ने वा स्वदेशी उद्योगसँगै क्लिंकर खरिद गरेर सिमेन्ट उत्पादन गर्ने मुख्य चार विकल्प हुनेछन् ।
सरकारले क्लिंकरको आयातलाई निरुत्साहित गर्दै स्वदेशी चुनढुङ्गामै आधारित उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सरकारले चुनढुङ्गा खानीमा आधारित सिमेन्ट उद्योगका लागी सडक र विद्युत पूर्वाधार सरकारले नै तयार पारी दिने घोषणा गरेपनि व्यहारमा कार्यान्वयन नभएको उद्योगीको गुनासो छ ।
अहिले क्लिंकर आयातमा प्रति मेट्रिक टनमा दुई हजार चार सय रुपैयाँ भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लागू छ । ग्राइण्डिङ्ग युनिटलाई सिमेन्ट उत्पादन गर्न आवश्यक सहायक कच्चा पदार्थ जिप्सम र फ्लाइ एस(खरानी) समेत भारतबाटै आयात हुने गरेको छ ।
मुख्य स्थल भन्सार नाका वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा नौ अर्ब २४ करोड रुपैयाँ मूल्य बराबरको आठ लाख ८२ हजार मेट्रिक टन क्लिंकर आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १८ प्रतिशतले न्यून हो । नेपालका लागी आयातित क्लिंकर रक्सौल रेल यार्डमा थुपार्दा वायु प्रदुषण फैलिएको भन्दै सीमावर्ती शहर रक्सौलका बासिन्दाले अवरोध खडा गरेपछि गत आर्थिक वर्षमा क्लिंकरको आयात प्रभावित हुन पुगेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४