साउन २३ गते बुधबार राजधानीबाट प्रकाशित दैनिक पत्रिकाले ११ वर्षका बालक निशानको अपहरणपछि हत्या, अपहरणकारीको इन्काउन्टरका विषयमा उब्जिएका प्रश्न र बालकलाई बचाउन प्रहरीले नसकेको विषयका साथै डाक्टर गोविन्द केसीले माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम लगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुरः कालोबजारी गरे तीन वर्ष कैद, इन्काउन्टर भनिएको मुठभेड नै शंकास्पद रहेको, प्रहरीले नै गाडीमा हालेर अपहरणकारीलाई लगेको, मारिएका व्यक्तिको खुट्टामा चप्पललगायतका शंकास्पद विवरणसहितको समाचार, बाँदर रोक्न ‘बाँदर घाँस’ लगायतका समाचारलाई प्राथमिकताका साथ कान्तिपुर दैनिकले छापेको छ ।
नागरिकः शंकाको घेरामा ‘इन्काउन्टर’ शीर्षकको समाचारलाई मुख्य बनाएको नागरिक दैनिकले गुठी जग्गा हडप्नेको दबाबमा सिडियो सरुवा, म्याद गुजारेर मूल नहर परीक्षण, सञ्चारकर्मीका सामू डा केसी रोएको भन्ने समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्णः नेकपाका अझै पनि समानान्तर कार्यालय, प्रहरीले अपहरणकारीलाई पठाएको गैरजिम्मेवार म्यासेजले ११ वर्षे बालकको हत्या भएको तथा डा गोविन्द केसी भक्कानिएको खबरलाई नै अन्नपूर्ण पोस्ट दैनिकले पनि प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाः अपराध बढेको घटनालाई नै मुख्य बनाएको नयाँ पत्रिका दैनिकले पनि एकै महिनामा २३ बलात्कार भएको, गैर जिम्मेवारपूर्ण रुपमा प्रहरी अधिकारीलाई एसएमएस पठाउँदा बालक जोगाउन नसकिएको, धनी नै गरिबको सूचीमा रहेको, विद्यालय फुट्दा विद्यार्थीसमेत भागबन्डा गरिएको खबरलाई मूख्य बनाएको छ ।
कारोबारः आर्थिक दैनिक कारोबारले धानले १.५ प्रतिशत जीडीपी बढाउँदै गरेको, सेयर बजारको आकार सवा चार अर्बले घटेको, बिमस्टेक सम्मेलनका लागि बुलेटप्रुफ गाडी र जामर भाडामा लिन लागिएको लगायतका खबरलाई प्राथमिकताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४