काठमाडौं- संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानन्यायाधीस दिपकराज जोशीलार्इ अस्वीकृत गरेर न्यायालयलार्इ कमजोर बनाउने खेल सत्ता पक्षबाट भएको निष्कर्ष निकाल्दै कांग्रेसले यसमा छानविन हुनुपर्ने माग गरेको छ।
नेपाली कांग्रेसको मंगलबार अपरान्ह बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
सरकारलार्इ अंकुश लगाउने हैसियत भएको एउटै निकाय न्यायालयलार्इ राजनीतिक प्रभावमा राख्ने डिजाइन अनुसार अदालत तथा संवैधानिक अंगहरुमाथि प्रहार शुरु भएको विश्लेषण कांग्रेसको बैठकले गरेको छ।
प्रधानन्यायाधीस जोशीसँग जोडिएका शैक्षिक प्रमाणपत्रलगायतका विषयमा सत्यतथ्य छानविन भएर बाहिर ल्याउनसमेत कांग्रेस माग गरेको छ। कांग्रेसको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले दुर्इ तिहाइको त्रास देखाएर न्यायालयमाथिको प्रहारबारे गम्भीर छलफल भएको र न्यायालयको गरिमा र स्वतन्त्रता जोगाउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय भएको बताए।
प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले सिफारिस गरेका जोशीलार्इ अस्वीकृत गर्न निर्देशन दिएर प्रधानमन्त्री ओलीले दोहोरो भूमिका खेलेको र यसले राज्यका निकायहरुको शक्ति पृथकीकरण तथा सन्तुलन बिथोलिएको भनाइ बैठकमा अधिकांश नेताहरुले राखेका थिए।
न्यायालयमाथि प्रहार हुँदा कांग्रेस रमिते भएर बस्न नहुने भन्दै नेताहरुले यसलार्इ संगठित भएर सशक्त रुपमा प्रतिकार गर्नुपर्ने धारणा राखेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४