बुधबार, असार ३१, २०८३

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाँचथर- भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । 

नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार पाँच सय फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पुर्‍याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन । 

उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सो सडक आगामी माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ । 

सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले सो सडक धेरै पहिले बनिसक्नुपर्नेमा वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको बताए । 'हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ', उनले भने । स्थानीयवासीका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानोस्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । 

गोलभेँडा निकासी खुला 

एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी शुरु भएपछि यहाँका कृषक हर्षित छन् । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी शुरु भएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । 

उनका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि यहाँको नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको जानकारी दिँदै उनले भने, 'सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिले काम अघि बढाएको हो ।' 

भारतीय पक्षले निकासी हुने सूचीमा गोलभेँडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्रीवितरण प्रभावित भएको थियो । 
केही दिनअघि बजार प्रवद्र्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो । 

निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा वृद्धि हुनाका साथै व्यापार पनि बढेको राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला अध्यक्ष गणेश पोखरेलले जानकारी दिए । यहाँको याङ्वरक र हिहिहाङ गाउँपालिकाका किसानको बगानबाट यस वर्ष १३ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।