काठमाडौँ- अपरान्ह तीन बजेबाट शुरु भएको नेपाली कांग्रेसको केन्दीय कार्यसमितिको बैठक जारी छ। प्रधानन्यायधीसको नियुक्ति प्रकरणलगायतका विषयमा गम्भीर छलफल भएकोले बैठक लम्बिएको बैठकमा सहभागी सदस्यले बताएका छन्।
आकस्मिक रुपमा मंगलबार सानेपामा डाकिएको बैठकमा सरकारका पछिल्ला विवादित कदमबारे नेताहरुले बोल्ने क्रम जारी छ। बैठकमा दुई तिहाइको त्रास देखाएर न्यायलयमा गर्न खोजिएको राजनीतिक हस्तक्षेप र प्रहारबारे गम्भीर छलफल भइरहेको छ।
बुधबार प्रधानन्यायाधीस सिफारिस र अख्तियारलगायतका संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको छ। उक्त बैठकमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल केन्द्रित भएको छ।
संवैधानिक परिषद्ले सिफारिसले सिफारिस गरेका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय समितिबाट अस्वीकृत गरिएको थियो। त्यो प्रक्रियमा कांग्रेस सहभागी भएको थिएन।
प्रतिपक्षलाई संसदमा पेलेर सरकार निरंकुश तरिकाले अघि बढ्न खोजेको आरोप कांग्रेसका नेताहरुले लगाउँदै आएका छन्।
शीर्ष नेताहरुसँगको भेटमा सभापति शेरबहादुर देउवाले अहिले देशमा कम्युनिस्ट सरकारको अधिनायकवाद जारी रहेको भन्दै त्यसको प्रतिवादमा जुट्न सबैलाई आग्रह गरेका थिए । उनले कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध लड्ने कि म विरुद्ध लड्ने भनेर शीर्ष नेताहरुलाई प्रश्न गरेका थिए ।
देउवाले पार्टी भित्रको संघर्षभन्दा पनि सरकारले गरिरहेको अधिनायकवाद विरुद्ध लड्न धारणा बनाउनुपर्ने बताएपछि आकस्मिक रुपमा बैठक बोलाइएको नेताहरुले बताएका छन् ।
बैठकले कांग्रेस महासमिति बैठक आगामी भदौबाट असोजमा सार्ने तयारी गरिरहेको निकट स्रोतले जानकारी दिएको छ। बैठकमा समसामयीक राजनीतिक विषय र पार्टीको आन्तरिक संगठनात्मक सुधारबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल समयलाई बताए। विधान समिति, विभाग गठन प्रदेश समिति गठनलगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४