काठमाडौं– गायन रियालिटी सो भ्वाइस अफ नेपाल तेस्रो संस्करणको उपाधि किरण गजमेरले जितेका छन्।
शनिबार राति सम्पन्न कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन्।
कार्यक्रमको फाइनलमा उनीसँगै तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङ पुगेका थिए। उपाधिसँगै किरणले २५ लाख रुपैयाँसमेत जितेका छन्। उनी कोच प्रमोद खरेलको टिममा थिए।
एक सातासम्म दर्शकले गरेको भोटका आधारमा विजेता चयन गरिएको आयोजकले जनाएको छ। एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए।
किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए। भने, ‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु। मैले अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ।’
प्रकाशित: Aug 08, 2021| 06:28 आइतबार, साउन २४, २०७८