काठमाडौं- भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइल नेपाली बजारमा भित्रिएको छ । सबै मोडका मोवायलमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्टको अफरसहित टम्बो नेपाल भित्रिएको हो ।
टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, यी मोबाइल फोनहरु अब नेपाली बजारमा पनि उपलब्ध हुने भएका हुन् । टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फिचर फोनहरु बजारमा ल्याउने भएको छ ।
कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउने छ । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ, जून सस्तो मुल्यमा आउनेछ । टम्बो ब्राण्डका फिचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ ।
‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउनेछन् । हामीले हाम्रा ग्राहकहरुलाई २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईका छौं,’ टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले भने ।
टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् ।
टम्बो मोबाइल फोनहरु सोमबारदेखि नै नेपालभरका रिटेलर तथा च्यानल पार्टनरहरुबाट खरिद गर्न सकिने जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४