धनगढी- कैलालीमा भेटेरिनरी अस्पताल र पशुसेवा बिज्ञ केन्द्र स्थापनाको माग गर्दै आन्दोलित किसान र व्यवसायीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी दुध पोखेर तथा कुखुराका अण्डा फुटाएर बिरोध जनाएका छन् ।
आईतबार धनगढीमा प्रदर्शन गरेका उनीहरुले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडीको सडकमा दुध पोखेका हुन भने अण्डा फुटाउदै कखुराका चल्ला सडकमा छाडेका हुन । उनीहरुले भेटेरिनरी अस्पताल र बिज्ञ केन्द्र कैलालीमा हुनुपर्ने माग सरोकारवाला पक्ष सबैलाई राख्दा पनि सुनुवाई नगरेको भन्दै आन्दोलनमा उत्रेका हुन् ।
आफुहरुले गरेको मागको विषयमा प्रदेश सरकार उदाशिन बनेको भन्दै उनीहरुले नाराबाजी समेत गरेका छन् । संघीय सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा प्रदेश सरकारले ढिलाई गरेको भेट्नरी तथा कृषि संयोजक दिनेश लम्सालले बताए । उनले माग पुरा नभय सम्म आन्दोलन जारी रहने बताए ।
संघिय सरकारको मन्त्रिपरिषद्ले पशु अस्पतालका लागि स्थान तोक्न तीन साता अगाडी नै निर्देशन दिएको थियो । यता प्रदेश नम्बर ७ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले भने प्रदेश सरकारलाई त्यसको अधिकार नभएको बताउदै आएकी छन् ।
साउन ३२ गतेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारलाई केन्द्र तोक्न अधिकार दिएको छ । पाँच ओटा जिल्लामा भएको कर्मचारीको दरबन्दी नौ जिल्लामा बाड्न सकिने किसानहरुको भनाई छ ।
संघीय सरकारले कैलाली जिल्लालाई छुटाएर पशुसेवा बिज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेको अवस्थामा मन्त्रिपरिषद्ले प्रदेश सरकारलाई नै स्थान तोक्न भनेकोमा त्यसो नभएपछि उनीहरू आन्दोलित भएका हुन् ।
संघीय सरकारले ७ नम्बर प्रदेशमा ५ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र स्थापना गर्ने प्रस्ताव गरेकोमा कैलालीमा नतोकिएपछि यो जिल्लामा माग गर्दै किसान र कृषि उद्यमीहरु सडकमा उत्र्रिएको अत्तरीया हाटबजार व्यवस्थापन समितीका अध्यक्ष नन्दराज भट्ट बताए ।
सरकारले यसअघि बाजुरा, बझाङ्ग, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पशुसेवा बिज्ञ केन्द्र स्थापना गर्न स्थान तोकेको थियो । त्यसको विरोध भएपछि स्थान तोक्ने जिम्मा प्रदेश सरकारलाई दिईएको तीन साता हुन लाग्दा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएको उनीहरुको आरोप छ ।
सात नम्बर प्रदेशको करिव ६० प्रतिशत भन्दा बढी कृषि तथा पशुपंक्षिजन्य उत्पादन कैलालीमा हुने गरेको भए पनि कैलालीमा पशुसेवा बिज्ञ केन्द्र स्थापना गर्न सरकारले प्रस्ताव नगरेपछि उनीहरु आक्रोषित भएका हुन् ।
जिल्ला पशु सेवा कार्यालय खारेज भएपछि प्रदेश नम्वर ७ का पशु अस्पताल रहने स्थान तोकिएको हो । त्यस बारे विवाद उत्पन्न भएपछि गत असार ३२ गते केन्द्र सरकारले नै स्थान तोक्ने जिम्मा प्रदेश सरकारलाई दिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४