काठमाडौं- नेपालमा २० देशका सैनिकहरु भेला भएका छन् । बहुपक्षीय सञ्चार, अन्तरसञ्चार सञ्चालनसम्बन्धी तालिममा सहभागि हुन २० देशका सैनिकहरु काठमाडौं आएका हुन् । नेपाली सेना र युनाइटेड स्टेट्स प्यासिफिक कमान्डको संयुक्त आयोजनामा तालिम सोमबारबाट सुरु भएको छ ।
कार्यक्रममा नेपालका सहित अस्ट्रेलिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, मलेसिया, माल्दिभ्स, मंगोलिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, टोंगा, भियतनाम र संयुक्त राज्य अमेरिका गरी २० राष्ट्रका करिब २ सय ७० जना सैनिक प्रतिनिधि सहभागी भएका छन् । कार्यक्रम १ भदौसम्म सञ्चालन हुनेछ ।
सेनाका अनुसार विपद्व्यवस्थापनको समयमा अन्तरसञ्चारमाध्यमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी सूचना प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यले तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा एसिया प्रशान्त क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति नै संवेदनशील क्षेत्र भएको हुँदा सन् २००४ को सुनामीमा देखिएका कमी–कमजोरी हटाई मानवीय सहायता र उद्धार कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४