काठमाडौं- गत आर्थिक वर्ष ०७४/७५ मा नेपालको व्यापार घाटा २७.५३ प्रतिशतले बढेको छ ।
गत आवमा नेपालले १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँको आयात गर्यो । निर्यात जम्मा ८१ अर्ब १९ करोड १६ लाख रुपैयाँको भयो । व्यापार घाटा देखियो, ११ खर्ब ६२ अर्बको । १३ खर्ब २४ अर्ब ४८ करोड ३७ लाख रुपैयाँको व्यापारमा कुल आयातको ६.१३ प्रतिशत मात्र निर्यात गरेको देखिन्छ, नेपालले गत वर्ष ।
अझ, अघिल्लो आव ०७३/७४ को तुलनामा गत आवमा व्यापार घाटा २७.५३ प्रतिशत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनमा आयात २६.३१ प्रतिशत बढेको छ । निर्यात भने ११.१७ प्रतिशतले बढेको छ ।
अघिल्लो आवमा नौ खर्ब ८४ अर्ब ३० करोड २९ लाख रुपैयाँको आयात भएको थियो भने निर्यात ७३ अर्ब तीन करोड ६२ लाख रुपैयाँको भएको थियो । उक्त आवमा व्यापार घाटा नौ खर्ब ११ अर्ब २६ करोड ६७ लाख रुपैयाँको भएको थियो ।
यस्तै, अघिल्लो आवको तुलनामा गत आवमा आयात र निर्यातको अनुपात १३.६० प्रतिशतले बढेको छ । आयातको हिस्सा ०.८४ प्रतिशत बढेकामा निर्यातको हिस्सा ११.२६ प्रतिशत छ ।
विभागको तथ्यांकअनुसार गत आवमा निर्यातभन्दा आयात १५ गुणा बढी थियो । कुल व्यापारमा आयातको हिस्सा ९३.९ प्रतिशत छ भने निर्यातको हिस्सा ६.१ प्रतिशत मात्रै छ ।
आव ०७३/७४ को तुलनामा गत आवमा व्यापार घाटा २७.५३ प्रतिशतले बढ्यो ।
भारतसँग सात खर्ब ६४ अर्बको व्यापार घाटा
सबैभन्दा बढी व्यापार घाटा भारतसँग भएको छ । भारतबाट आठ खर्ब १० अर्ब ९० करोड ४८ लाख रुपैयाँ आयात भएकामा निर्यात ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँको मात्रै भएको छ । यसबाट नेपाललाई सात खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको छ । कुल आयातमा भारतको हिस्सा सबैभन्दा बढी ६५.२ प्रतिशत छ ।
त्यसपछि चीनसँग नेपालले एक खर्ब ५७ अर्ब ५४ करोड २५ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । चीनबाट एक खर्ब ५९ अर्ब ९८ करोड रुपैयाँ आयात भएकामा निर्यात दुई अर्ब ४३ करोड ७७ लाख रुपैयाँको मात्रै भएको छ । नेपालको कुल आयातमा चीनको हिस्सा दोस्रो बढी अर्थात् १२.९ प्रतिशत छ ।
यस्तै, फ्रान्ससँग नेपालको व्यापार घाटा १९ अर्ब ६१ करोड, भियतनामसँग १२ अर्ब ९१ करोड, युनाइटेड अरब इमरेट्ससँग १२ अर्ब २० करोड रुपैयाँको छ । सयभन्दा बढी मुलुकसँग नेपालले व्यापार घाटामा देखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४