काठमाडौं- पूर्वकानून मन्त्री शेरबहादुर तामाङ हँसिलो मुद्रामा हलमा प्रवेश गरे। वरिपरि घुमेर सबैसँग हात मिलाए। साथमा थिइन्, उनकी पत्नी उषाकला राई । दुवैको हाउभाउ हेर्दा लाग्थ्यो, दुवै ठूलो लडाईं जितेर फर्किएका हुन्।
मन्त्रीबाट हटेपछि तामाङले सोमबार दोस्रो पत्रकार सम्मेलन गरे। मन्त्रीबाट हटे पनि मिडिया क्रेज घटेको थिएन, उनको । मन्त्री भएको बेलाभन्दा बढी पत्रकार खचाखच थिए हलमा।
सबैखाले सार्वजनिक पद धारणा गरेकाहरूले पदबाट हटेको १५ दिन भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनको मस्यौदा गरेका थिए, उनले। पत्रकार सम्मेलनमा त्यसबारे बारम्बार चिन्ता व्यक्त गरेका थिए। पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे।
‘मैले मन्त्री छाडेको आज १३ दिन भयो, त्यसैले तपाईंहरू माझ आजै सम्पत्ति विवरण सार्वजनिक गर्छु।’ तामाङले आफू मन्त्री नियुक्त भएको बेलामा पेश गरेको सम्पत्ति विवररणमा ४१ हजार रुपैयाँ बैक ब्यालेन्स भएको दाबी गरे। त्यो पनि मन्त्री हुँदाको त्यति पारिश्रमिक बचेको उनले बताए। उनकी श्रीमती उषाकला राई अहिले प्रदेश–१ सांसद हुन्। उनले श्रीमतीको समेत बैंक ब्यालेन्स सार्वजनिक गरे। राईको खातामा झण्डै साढे दुई लाख भएको जानकारी दिए।
आफूले कानूनमा संशोधनको मस्यौदा तयार पारेको तर मन्त्रिपरिषदले पारित नगरेको बताउँदै मस्यौदासमेत देखाएका थिए। मस्यौदामा दुई वटा दफा संशोधनका लागि तयार गरेको पनि जानकारी दिएका थिए। पहिलोमा थियो, राजनीतिकलगायत सबै निकायमा नियुक्ति हुनेले आफू हटेको १५ दिनभित्र सम्पत्ति सार्वजनिक गर्ने । र, दोस्रो थियो, न्यायाधीशहरूका लागि पनि यसको व्यवस्था गर्ने ।
हालसम्म नियुक्ति भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्ने तर हटेपछि चुपचाप लाग्ने परम्परालाई तोड्दै यस्तो मस्यौदा गरेको उनले बताए। ‘यो ऐन सरकारले अगाडि बढाउनुपर्छ । कोही त्यसको विपक्षमा उभियो भने जनतामाझ त्यो नांगेझार हुन्छ,’ उनले भने, ‘यो मस्यौदाको विपक्षमा जो उभिन्छ, त्यो भ्रष्टाचारी हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४