सिन्धुपाल्चोक- मतदानका विषयमा सिन्धुपाल्चोकका ५ स्थानमा झडप भएको छ। मेलम्चीको ज्यामिरे, बाह्रबिसे गाउँपालिकाका दुई स्थान, त्रिपुरासुन्दरीमा झडप भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।
राजनीतिक दलका कार्यकर्ताहरूबीच मतदानका विषयमा झडप भएपछि बाह्रबिसे-३ स्थित क्षमादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ। खुलाउने प्रयास जारी छ। दुई दलबीचको झडप रोक्न चार राउन्ड हवाइ फायरिङसमेत भएको थियो। झडपमा एमाले र कांग्रेसका गरी चार जना कार्यकर्ता घाइते भएका छन्। अहिले त्यहाँ मतदान सुरु भइसकेको छ। त्रिपुरासुन्दरीको मतदान केन्द्रमा पनि विवादपछि स्थगित भएको मतदान पुन: सुरु भएको छ।
उता बाह्रबिसेकै भोटेनाम्लाङ मतदान केन्द्रमा भने विवाद जारी छ। मेलम्चीको ज्यामिरेमा झडपपछि विवाद भइरहेको छ। विवाद साम्य बनाएर मतदान सुरु गर्ने प्रयास भइरहेको खनालले जानकारी दिए।